सबभन्दा धेरै कोरोना संक्रमण फैलिएको जिल्लामध्ये दैलेखमा एकैपटक दुइटा मेसिन सञ्चालन गर्न लागिएको छ।
नारायण नगरपालिकाले पिसीआर मेसिन खरिद गरी सञ्चालनमा समेत ल्याइसकेको छ भने दुल्लु नगरपालिकाले आउँदो साताभित्र मेसिन खरिद गर्दैछ।
दुल्लु नगरपालिकाका मेयर घनश्याम भण्डारीले मेसिन राख्नका लागि आवश्यक संरचना निर्माण भइरहेको बताएका छन्।
प्रदेश सरकारले पिसिआर मेसिन खरिदका लागि बजेट व्यवस्था गरिदिने भएपछि नगरपालिकामार्फत् खरिद गर्ने मेयर भण्डारीले बताए।
‘कर्णाली प्रदेश सरकारले पिसिआर मेसिन खरिदका लागि पैसा दिने कुरा भएको छ, त्यसअनुसार हामीले मेसिन जडान गर्नका लागि संरचना बनाउन थालिसकेका छौं,’ उनले भने, ‘अर्को हप्तासम्म मेसिन दुल्लु आइपुग्छ।’
दुल्लु नगरपालिकाले खरिद गरी जडान गर्न लागिएको मेसिन अटोमेटिक भएको उनले बताए।
दैनिक ५ सय स्वाब परीक्षण गर्ने क्षमताको मेसिन खरिद गर्ने प्रक्रिया अघि बढेको मेयर भण्डारीले बताए।
‘सूचना निकाल्ने अन्तिम तयारी भएको छ, मेसिन अटोमेटिक भएकाले दैनिक ५ सय स्वाब परीक्षण गर्छ भन्ने जानकारी आएको छ,’ उनले भने।
नारायण नगरपालिकाले खरिद गरेको पिसिआर मेसिन असार १४ गतेबाट नै सञ्चालनमा आइसकेको छ। पशु अस्पतालमा संरचना निर्माण गरी मेसिन जडान गरिएको नारायण नगरपालिकाका मेयर रत्न बहादुर खड्काले जानकारी दिए ।
एक पटकमा ९६ स्वाब परीक्षण गर्न मिल्ने उक्त पिसिआर मेसिनमा २४ घण्टामा दुई पटक परीक्षण गर्न मिल्ने रहेको उनले बताए। यसरी जोड्दा दैनिक १९२ वटा स्वाब परीक्षण गर्न सकिने उनले बताए।
‘एक लटमा ९६ वटा स्वाब परीक्षण गर्न सक्ने क्षमता रहेको छ, त्यो एकदमै मिहिनेतका साथ काम गरियो भने १२ घण्टामा सफल भइन्छ,’ मेयर खड्काले भने, ‘दिनमा दुई लट परीक्षण गर्न मिल्ने भएकाले १९६ वटासम्म परीक्षण हुन्छ।’
बिहीबारमात्र रुकुम पश्चिमको ९६ जनाको स्वाब परीक्षण गरिएको उनले जानकारी दिए।
सदरमुकामबाट नजिकै पर्ने दुल्लु नगरपालिका र दैलेखको सदरमुकाम रहेको नारायण नगरपालिककामा पिसिआर मेसिन जडान गर्नका लागि प्रदेशका सांसद तथा स्थानीय तहका जनप्रतिनिधिहरूले पहल गरिरहेका थिए।
‘दैलेखमा अत्यधिक संक्रमित देखिने लक्षण देखिने बित्तिकै हामीले पिसीआर मेसिन जडान गरी उतै परीक्षण गर्ने पहल गरिरहेका थियौं,’ प्रदेश सभा सदस्य सुशील थापाले भने, ‘जे होस् यसमा सफल भएका छौं, अब परीक्षणको दायरा पनि बढ्नेछ।’
दुल्लुमा पिसिआर मेसिन जडान गरिसकेपछि कर्णाली प्रदेशमा चार वटा पिसिआर मेसिन पुग्नेछन्।
हाल दुल्लु नगरपालिकामा रहेको पशु अस्पतालसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा रहेका मेसिन जडान गरिएको छ।
सुर्खेतको मेसिन बन्द
कर्णाली प्रदेश अस्पतालद्वारा सञ्चालन गर्ने गरी सुर्खेतमा जडान गरिएको पिसिआर मेसिन बन्द भएको छ।
मेसिन बिग्रिएपछि बन्द गर्नुपरेको प्रदेश अस्पतालका निर्देशक डा. डम्मर खड्काले जानकारी दिए।
यो मेसिन बिग्रिँदा २०० वटा स्वाब होल्डमा रहेको उनले जानकारी दिए।
‘यसअघि त मेसिन बिग्रिएयता ८०० जना स्वाब होल्ड भएका थिए,’ डा. खड्काले भने, ‘मेसिन भएको प्रयोगशालाहरूमा ती स्वाब पठायौं, अस्तिदेखि आएका स्वाबहरू भने फेरि २ सय जति पुगिसकेका छन्।’
डा. खड्काका अनुसार प्रदेश सुर्खेतमा नयाँ पिसिआर मेसिन आउने भएको छ।
‘अबको एक साताभित्र नयाँ मेसिन आउने गरी प्रक्रिया अगाडि बढेको छ, अहिलेको बिग्रिएको मेसिन बन्नुभन्दा अघि नै नयाँ मेसिन आउँछ। त्यसपछि परीक्षणमा सहज भइहाल्छ,’ उनले भने।