स्याङ्जाको गल्याङ नगरपालिका-४ का ३२ वर्षीय पदम पाण्डे गत चैत २१ गते स्थानीय चन्द्रकान्त न्यौपाने र नामदेउ न्यौपानेसँग खसी काट्न निस्किए।
खसी काटेर खाने भनेर जाँदै गर्दा बाटैमा उनीहरूको झगडा भयो। गल्याङ- ५ सानोखोलामा उनीहरूबीच हात हालाहाल भयो। न्यौपानेद्वयको कुटाइबाट पाण्डेको मृत्यु भयो।
प्रहरीले गल्याङ- ५ हक्तुङ सपौदेभिरमा पाण्डेको शव त्यही दिन राति ८ बजे फेला पारेका थिए। मृतकको श्रीमती जमुना पाण्डेले जेठ २४ गते न्यौपानेद्वयले आफ्ना श्रीमानको हत्या गरेको भन्दै किटानीसहित उजुरी दिइन्। प्रहरीले अनुसन्धान थाल्यो।
प्रहरी अनुसन्धानमा उनीहरूबीच भएको झगडामा न्यौपानेद्वय समेत घाइते भएको पाइयो। मृतक पाण्डेले घरबाट निस्कँदा लगाएको रातो, सेतो र कालो रङ मिसिएको ज्याकेट गल्याङ-५ भर्लामा फेला पर्यो भने उनको मोबाइल नामदेउ न्यौपानेको घरमा फेला पर्यो।
प्रहरीले आफ्नो अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमार्फत् जिल्ला अदालत स्याङ्जामा हत्या आरोपमा मुद्दा दायर गरेको थियो।
घटनाको अनुसन्धान गर्दा उनीहरूबीच आर्थिक लेनदेनका विषयमा हात हालाहाल भएको पाइएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।
‘खसी काटेर खाएछन्, रक्सी पनि खाएछन्’, उनले भने, ‘त्यहीँबाट झगडा सुरू भएको बाटोमा आएर ज्यान लिएछन्,’ उनले भने।
पाण्डेले न्यौपानेद्वयलाई पैसा तिर्नु थियो। न्यौपानेद्वयले पैसा भएर पनि नतिरेको आरोप लगाएका थिए भने पाण्डेले फेरि पैसा मागेको पाइएको डिएसपी अधिकारीले बताए।
घटनाका आरोपी न्यौपानेद्वयलाई जिल्ला अदालत स्याङ्जाले बिहीबार पुर्पक्षका लागि कारागार चलान गरेको छ।