भारतको आग्रहपछि धनगढी उप–महानगरपालिकाले वडा नं २ को मोहना आर्यघाटमा दाहसंस्कार गर्न निषेध गरेको छ।
उप–महानगरपालिकाको वडा नम्वर २ को कार्यालयले सूचना जारी गर्दै शुक्रबारबाट पुरानो ठाउँमा दाहसंस्कार गर्न निषेध गरेको हो।
धनगढी उप–महानगरपालिकाका मेयर नृपबहादुर वडले स्थानीय प्रशासन र भारतीय पक्षसँगको छलफलपछि भारतीय सीमामा पर्ने आर्यघाट बन्द गर्ने निर्णय गरिएको बताए।
मेयर वडले वडा नं २ मा प्रयोग हुँदै आएको आर्यघाटको विकल्पमा वडा नं ३, वडा नं १ र ९ को बीचमा पर्ने त्रिवेणीघाट तोकिएको बताए।
उनले चालु आर्थिक वर्षको बजेटमा साढे चार करोड बजेट नै छुट्याएर त्रिवेणीघाटमा विद्युतीय शवदाहसहितको आर्यघाट निर्माणको काम भइरहेको बताए।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीले भने ‘यसअघि सो आर्यघाटमा गरिने दाहसंस्कारमा भारतले चासो नराखेकोमा अहिले कोभिडका कारण त्यहाँ दासंस्कार नगर्न आग्रह गरेको हो।’
शशस्त्र प्रहरी कैलालीका एसपी कमलप्रसाद तिम्सिनाले केही दिनअघि एक जना कोराना संक्रमितको दाहसंस्कार गरिएपछि सो आर्यघाटबारे भारतले चासो देखाएको बताए।
दुईसाताअघि भारतको गौरीफन्टामा कैलालीका प्रमुख जिल्ला अधिकारीसहित बसेको बैठकमा उक्त आर्यघाट बन्द गर्न भारतीय अधिकारीले आग्रह गरेको उनले बताए।