सुडोल फाँटमा खेत रोपाइँ गर्न गएका ललितपुरस्थित खोकनाका किसान र प्रहरीबीच झडप भएको छ।
खनजोत र रोपाइँमा प्रहरीले अवरोध गरेपछि किसान र प्रहरीबीच झडप भएको हो। प्रहरीले किसानका समूहलाई लक्षित गर्दै केही सेल अश्रुग्यास र लाठीचार्ज गरेको छ।
यो पनि:
खोकनामा प्रहरीले खेत खनजोत गर्न रोकेपछि विवाद, किसानद्वारा नाराबाजी
फाष्ट ट्रयाक पर्ने जमिनमा खोकनाका किसानले खेत रोप्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो। किसानहरूले आफ्नो जग्गाको मुआब्जा नपाएकोले खनजोत गर्न पाउनुपर्ने बताएका छन्।
स्थानीय किसानले संयुक्त रूपमा खेत रोपाइँका कार्यक्रम गरेपछि शनिबार बिहानैदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। प्रहरीले अश्रुग्यास हानेपछि स्थानीय किसानले पनि ढुंगा हान्दा दुबैतर्फ केही घाइते भएका छन्।
विकासका नाममा उर्वर भूमि विनाश भइरहेको भन्दै विरोध स्वरुप धान रोपिरहेका किसानलाई अवरोध गरेपछि झडप भएको हो। सरकारले विकास परियोजनाका नाममा हराभरा र उर्वर भूमिलाई विनाश गर्ने हिसाबले काम गरिरहेकाले विरोध गरिएको उपत्यकाव्यापी सडक पीडित संघका कोषाध्यक्ष विद्या श्रेष्ठको भनाइ छ। तीन हजार वर्ष अगाडिको नेवा सभ्यता विनास गर्न खोज्ने सरकारको कामविरुद्ध धान रोपेर विरोध गरिएको किसानहरूको भनाइ छ।
असार १५ गते खेत रोपाइँमा गएका खोकनाका किसानलाई पनि प्रहरीले अवरोध गरेको थियो। खेत जोत्न लगिएका ट्याक्टर नियन्त्रणमा लिएपछि स्थानीय किसानले प्रहरीविरूद्ध नाराबाजी गर्दै खेतमै प्रदर्शन गरेका थिए।
तस्बिरहरू :