बझाङमा पहिरो जाँदा वेपत्ता भएका एकजना अझै फेला नपरेको जिल्ला प्रशासनले जनाएको छ।
शुक्रबार राति केदारस्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा बस्तीमाथिबाट पहिरो जाँदा हराएका ६ जनाको शव भने फेला परेको छ।
वेपत्ता एकजनाको प्रहरी र सेनाको टोलीले खोजी जारी राखेको छ ।
पानी परिरहेकाले खोजीमा कठिनाई भएको छ।
अहिलेसम्म १८ घरमा क्षति पुगेको र १ सय १० चौपाया हराएको भन्न विवरण आएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।
पहिरोले १२ घर पूर्ण रुपमा ध्वस्त पारेको, दुई घर बगाएको र तीनमा आंशिक क्षति भएको उनले बताए।
पहिरोले स्थानीयको करिब एक सय रोपनी खेत पनि बगाएको छ।
हेलिकप्टर मार्फत लगिएको राहत सामाग्री अझै पहिरो प्रभावित स्थानमा पुर्याउन सकिएको छैन।
संघ र प्रदेश सरकारको समन्वयमा ८ क्वीन्टल चामल, ४० वटा ब्ल्यांकेट र ३७ त्रिपाल हेलिकप्टरबाट शनिबार बेुलुका चैनपुर पुर्याइएको थियो।
प्रमुख जिल्ला अधिकारी भण्डारीले झोतासम्म गाडीबाट प्राप्त भएको सामाग्री र चाउचाउ लगिएको बताए।
'झोताबाट माथि लैजाने बाटो पूर्णरुपमा बगाएको छ,' उनले भने।
मान्छेले बोकेर लैजानुपर्ने अवस्था छ तर अहिले मान्छे पनि पाइने अवस्था छैन।
कञ्चनपुरबाट उपचार र राहत सामाग्री बोकर हिँडेको रेडक्रसको गाडी अझै पुग्न सकेको छैन।
पहिरो प्रभावितहरु अहिले छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।
यसैगरी जिल्लाकै बुंगल नगरपालिकाको वडा नम्वर १० मा आएको बाढीले गोइचन गाड लघु जलविद्युत आयोजनाको पावरहाउसमा क्षति पुर्याएको छ।
साथै खोलामा आएको बाढीले तीन ओटा पानीघट्ट समेत बगाइदिएको छ।
उता मस्टा गाउपालिकाको डुंग्री खोलामा पनि बाढीले एउटा पानीघट्ट बगाएको भण्डारीले जानकारी दिए।