बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर १० मा चट्याङ लागेर घाइते भएकाको उद्धारमा कठिनाइ आएको छ।
चट्याङ लागेर घाइते भएका ५५ वर्षका सौरे बोहरा र उनकी छोरी ८ बर्षीया जमना बोहराको प्रतिकुल मौसमका कारण उद्धारमा समस्या भएको हो।
शुक्रबार राति परेको चट्याङ लागेर आठ वर्षका दिपेश बोहराको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए।
सौरेको टाउकोभन्दा तलको भाग जलेको र नचल्ने अवस्थामा रहेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।
यस्तै जमनाको आँखामा चोट लागेको छ।
उनीहरुको कोल्टी स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि हेलिकप्टरबाट उद्धार गर्न खोजिएपनि मौसममा आएका खराबीले सम्भव भएको छैन।
'शनिबार नेपाली सेनाको हेलिकप्टर तीन पटक ल्याण्ड गर्न प्रयास गर्दा पनि सकिएन, अहिले फेरि आउँदैछ,' गैह्रेले सेतोपाटीसँग भने।
अहिले पनि बाजुराको मौसम सन्तोषजनक छैन।
आज उद्धार नभए ट्याक्टर वा बोकर सदरमुकाम मार्तडी ल्याउने तयारी रहेको उनले बताए।