स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको छ। जसमध्ये ५ हजार संक्रमित काठमाडौं उपत्यकाका हुने मन्त्रालयको अनुमान छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सेतोपाटीसँग भने, 'हामीले साउनको अन्तिमसम्म देशभर ४० हजार संक्रमित पुग्ने अनुमान गरेका छौं। अझैं २५ हजार संक्रमित थपिन सक्छन्। त्यसमध्ये पाँच भागको एक भाग काठमाडौंको हुनसक्छ।'
आइतबार सम्मको तथ्यांक अनुसार देशभर कोरोना संक्रमितको संख्या १५ हजार ४ सय ९१ छ। जसमा काठमाडौं उपत्यकाका १ सय ३७ जना छन्।
अहिले पनि काठमाडौं उपत्यकामा १ सय १७ जना बढी कोरोनाको 'एक्टिभ केस' छ। उनीहरूको उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। टेकु अस्पतालमा मात्र ३५ जना संक्रमितको उपचार भइरहेको छ।
इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार संक्रमितमध्ये अधिकांश विदेशबाट आएका छन्। साथै कतै नगएका व्यक्ति अर्थात् 'ट्राभल हिस्ट्री' नभएका व्यक्तिमा पनि संक्रमण देखिएको छ।
यसले गर्दा उपत्यकामा थप संक्रमण बढ्ने देखिन्छ।
मन्त्रालयले समेत उपत्यकामा संक्रमण बढी रहेको हुनसक्ने भन्दै परीक्षणको दायरा बढाउन लागेको छ।
प्रवक्ता गौतमले भने, 'उपत्यकाको बढी भीडभाड हुने ठाउँ, अस्पतालहरूको आकस्मिक कक्ष, आइसियूमा रहेका बिरामी, बैंकको काउन्टरमा रहेका व्यक्तिहरूको परीक्षण गर्न लागेका छौं।'
यस्तै क्यान्सर, मधुमेहका बिरामीहरूको पनि परीक्षण गर्ने भनिएको छ।
हालसम्म उपत्यकामा ठूलो संख्यामा परीक्षण गरिएको छैन। यसअघि कालिमाटी तरकारी बजार, सरसफाइमा काम गर्ने व्यक्ति र जनप्रतिनिधि गरेर झण्डै १५ हजार व्यक्तिको परीक्षण गरिएको थियो। त्यसमा पनि आधा व्यक्तिको मात्र पिसिआर विधिबाट परीक्षण भएको थियो। बाँकीको भने र्यापिड टेस्ट गरिएको थियो।
अहिले भने संक्रमित संख्या बढ्दै गएको भन्दै मन्त्रालयले उपत्यकामा परीक्षण दायरा बढाउने तयारी गरेको छ।
रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बासुदेव पाण्डेले उपत्यकामा कतै नगएको १२ जना व्यक्तिमा संक्रमण देखिएको भन्दै त्यस्ता व्यक्तिको वरिपरि रहेका व्यक्तिहरूको परीक्षण गर्ने तयारी गरिएको जनाए।
विज्ञहरूले समेत काठमाडौंमा संक्रमण फैलिएको भन्दै जोखिम बढेको औंल्याएका छन्।
संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, 'काठमाडौंमा संक्रमण धेरै फैलिइसक्यो। अब यसलाई चरम बिन्दुमा नपुर्याउने भन्ने हो।'
सरकारले परीक्षणको दायरा फराकिलो पारे पनि अझै व्यापक बनाउनुपर्ने उनको भनाइ छ।
डा. सुवेदीले परीक्षण मापदण्ड नै अनुदार रहेको भन्दै सरकारले सुरूमा मापदण्डलाई नै उदार बनाउनुपर्ने सुझाए।
'अहिलेको मापदण्डले लक्षणविहीन व्यक्तिको परीक्षण गर्दैन। त्यस्तै ज्वरो अनिवार्य हुनुपर्ने भनिएको छ। यसरी मापदण्ड कसिलो हुँदा संक्रमितहरू नै परीक्षण हुनबाट बञ्चित हुन्छन्,' उनले भने।
यस्तै, संक्रमितहरूको परीक्षण रिपोर्ट चाँडो नआउँदा समस्या रहेको उनको बुझाइ छ। परीक्षणको रिपोर्ट एक सातासम्म पनि नआउने स्थिति भएको भन्दै डा. सुवेदीले चाँडो रिपोर्ट आए संक्रमितको बेलैमा उपचार हुन सघाउ पुग्ने जनाए।
त्यस्तै, कन्ट्याक्ट ट्रेसिङ कार्य पनि चुस्त बनाउनुपर्ने उनको जोड छ।
केही विज्ञहरूले भने मन्त्रालयले अनुमान गरेको भन्दा काठमाडौं उपत्यकामा संक्रमित संख्या बढी हुने जनाएका छन्।
जनघनत्व बढी भएकाले उपत्यकामा संक्रमण छिटो फैलिने उनीहरूको तर्क छ।
मन्त्रालयले भने उपत्यकामा मानिसहरू सतर्क नहुँदा जोखिम बढेको जनाएको छ। प्रवक्ता डा. गौतमले भने, 'अहिले बल्ल मानिसहरूको कान खुल्न थालेको छ। अनिवार्य मास्क प्रयोग गर्नु, दुई मिटरको दूरी कायम गर्नु भनेर प्रेस ब्रिफिङमा पटक/पटक भनेका छौं तर नियम पालना भएको पाइँदैन।'
उनले अमेरिकामा विभिन्न अध्ययनले मास्कको प्रयोग गरेको भए ३० हजार मानिसलाई बचाउन सकिन्थ्यो भन्ने निष्कर्ष निकालेको भन्दै मास्कको अनिवार्य प्रयोग गर्न सुझाएका छन्।
मानिसहरूले मास्कको प्रयोग नगर्ने हो भने सजायको समेत नियम लगाउनुपर्ने स्थिति आउनसक्ने उनी बताउँछन्।
'मानिसहरू यसरी नै मास्क नलगाउँदै हिँड्ने हो भने संक्रामक रोग ऐनलाई टेकेर सजायको प्रस्ताव गर्न सकिन्छ,' उनले भने।
काठमाडौंमा संक्रमण धेरै पुगे फेरि लकडाउन गर्न सकिने मन्त्रालयले जनाएको छ। प्रवक्ता गौतमले संक्रमितहरूलाई लक्षित गरेर उपत्यकाका सबै अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको जनाए।
विज्ञहरू भने अस्पतालहरूले धान्न नसक्ने स्थिति आए संक्रमण नियन्त्रण बाहिर जाने बताउँछन्। त्यसैले सरकारले यो स्थिति आउन नदिन अहिलेदेखि नै जोखिमलाई ध्यानमा राखेर कदम चाल्नुपर्ने उनीहरूको सुझाव छ।
केही दिनअघि मात्र एक निजी प्रयोगशालाले गरेको अध्ययनले उपत्याकाका ढलमा पनि कोरोना भाइरस फेला परेको पत्ता लगाएको छ।
सेन्ट्रल फर मलिकुलर डायानमिक नेपालले गरेको अध्ययनले उपत्यकाका दुई ठाउँको ढलमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ।
उक्त अध्ययनलाई नेतृत्व गरेका डा. दिवेश कर्माचार्यले ढलमा कोरोना देखिनुले यसले टोलटोलमा स्क्रिनिङ गर्न सघाउ पुर्याउने बताए।
'अहिले काठमाडौंमा कुन-कुन ठाउँमा संक्रमण छ भन्ने थाहा छैन। यसरी ढलहरूमा परीक्षण गरेर भाइरस पत्ता लागे ती क्षेत्रका टोलहरूमा स्क्रिनिङ गर्नसक्छौं,' उनले भने।
ढलमा कोरोना देखिनुले कतै संक्रमण फैलिने हो कि भन्ने धेरैमा अन्यौलता सिर्जना गरेको छ।
मन्त्रालयले भने ढलमा रहेको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने स्पष्ट पारेको छ। अहिलेसम्म कुनै पनि अध्ययनले ढलमा रहेको कोरोनाले अन्यमा संक्रमण सार्छ भन्ने तथ्य नदेखाएको भन्दै मन्त्रालयले आत्तिनु नहुने जनाएको छ।
यद्यपी सरसफाइमा काम गर्ने व्यक्तिहरूलाई मन्त्रालयले विशेष सुरक्षा सामग्री लगाएर काम गर्न सुझाएको छ।