सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरूङबाट पानी पठाउने काम सुरू गर्दा स्थानीय सरकारलाई जानकारी नदिएकोमा आपत्ति जनाएको छ।
स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोगमा आयोजनाका कामहरू हुनुपर्ने भए पनि सुरूङमा पानी हाल्ने कार्यको सुरूआत गर्दा आफूहरूलाई कुनै जानकारी नगराइएको गाउँपालिकाको भनाइ छ।
सोमबार गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले प्रेस विज्ञप्ति जारी गर्दै गाउँपालिका क्षेत्रभित्र पर्ने प्राकृतिक स्रोत खानेपानीको मुहान रहेको निर्माणाधीन मेलम्ची आयोजनाको सुरूङमा पानी हाल्नेजस्तो महत्वपूर्ण कार्य विधिवत रूपमा उद्घाटन गरेको कुरा सञ्चार माध्यमबाट थाहा पाएको उल्लेख गरेका छन्।
तीनै तहको सरकारबीच सम्बन्ध र समन्वय सिद्धान्तमा आधारित हुनुपर्नेमा याे कार्य त्यसविपरित भएकोले स्थानीय सरकार र स्थानीय बासिन्दालाई वेवास्ता गरेको प्रमाणित भएकोले गम्भीर ध्यानाकर्षण भएको शेर्पाले उल्लेख गरेका हुन्।
‘स्थानीय सरकार र स्थानीय बासिन्दालाई संलग्न नगराउने सम्पूर्ण कार्यहरू प्रति घोर आपत्ति जनाउँदै यस्ता अनुचित र गैरजिम्मेवार कार्यविरूद्ध आगामी दिनमा सहयोगका लागि असहज वातावरण सिर्जना गर्न स्थानीय सरकार र स्थानीयबासी बाध्य हुनेछ,’ उनले भनेका छन्।