कोरोना संक्रमणबाट निको भएका व्यक्तिको ‘एन्टिबडी’ गम्भीर अवस्थाका बिरामीमा प्रयोग गर्न अध्ययन सुरू गरिएको छ।
राष्ट्रिय अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले यसका लागि स्वास्थ्य मन्त्रालयबाट पनि स्वीकृति पाइसकेको जनाए।
'यो काम अघि बढ्नलाई इथिकल बोर्ड र मन्त्रालयबाट स्वीकृति पाउनुपर्छ। त्यो दुबै काम सकिएको छ। अब प्रक्रिया अनुसार काम अघि बढाउँछौं,' उनले भने।
डा. ज्ञवालीका अनुसार यो कन्भालेसन प्लाज्मा थेरापी विधि हो। जसमा निको भएका कोरोना संक्रमित व्यक्तिको शरीरमा उत्पादन भएको एन्टिबडी गम्भीर बिरामीमा प्रयोग गरिन्छ। एन्टिबडीले कोरोनासँग लड्न सहयोग पुर्याउँछ।
दोस्रो कोरोना संक्रमित काठमाडौंकी १९ वर्षीया प्रसिद्धि श्रेष्ठले पनि निको भएपछि भविष्यमा कसैलाई आवश्यक परे आफूले प्लाज्मा दिने इच्छा व्यक्त गरेकी थिइन्।
डा. ज्ञवालीले भने, 'हामीले निको भएका व्यक्तिहरूबाट रगत संकलन गर्छौं। त्यसपछि प्राविधिक प्रक्रियाबाट एन्टिबडीलाई गम्भीर अवस्थाका संक्रमितमा प्रयोग गर्छौं।'
उनले यसको लागि कोरोना संक्रमितको उपचार गरिरहेका अस्पतालहरूसँग सहकार्य गरिने जनाए। यो अध्ययन कम्तिमा एक सयभन्दा बढी गम्भीर अवस्थाका बिरामीमा गर्नुपर्ने परिषद्ले जनाएको छ।
'यो अध्ययन गर्न कम्तिमा सयभन्दा बिरामी आवश्यक पर्छ। हाम्रोमा अहिले त्यति धेरै गम्भीर अवस्थाका बिरामी छैनन्। तर एकैचोटि सबैमा गर्नुपर्ने हुँदैन। विस्तारै आवश्यक अनुसार गर्दै जाँदा हुन्छ,' डा. ज्ञवालीले भने।
उनका अनुसार गम्भीर बिरामीलाई एन्टिबडी दिएपछि बिरामीको क्लिनिकल अवस्था कस्तो छ भनेर अध्ययन गर्नुपर्ने बताए।
क्लिनिकल अवस्था हेर्ने भनेको एन्टिबडी दिएपछि बिरामीको लक्षणमा सुधार कस्तो आयो, मृत्युदर कस्तो छ भनेर अध्ययन गरिन्छ।
कोरोना संक्रमण भएपछि व्यक्तिमा दुई प्रकारको एन्टिबडी उत्पादन हुन सुरू गर्छ।
पहिलो आइजिएम र दोस्रो आइजिजी।
आइजिएम संक्रमण भएको एक साताबाट उत्पादन हुन सुरू गर्छ र दोस्रो सातासम्म हराएर जान्छ। यो एन्टिबडी आइजिजीको तुलनामा कमजोर पनि हुन्छ।
आइजिएम हराएपछि शरीरमा आइजिजी उत्पादन हुन सुरू गर्छ। यो लामो समयसम्म पनि शरीरमा रहन सक्छ। यसले फेरि संक्रमण हुनबाट लड्न सघाउँछ।
यद्यपी यी दुबै एन्टिबडीको काम भनेको कोरोना भाइरसविरूद्ध लड्नु हो।
यही एन्टिबडी गम्भीर अवस्थाका संक्रमितमा प्रयोग गर्ने भनिएको हो। यो एन्टिबडीले त्यस्ता बिरामीहरूलाई भाइरससँग लड्न ठूलो सघाउ पुर्याउने विश्वास लिइएको छ।