काठमाडौं उपत्यकाभित्रका सुनचाँदी पसलमा चोरी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले आइतबार मोरङ उर्लाबारीबाट उदयपुर त्रियुगा नगरपालिका-२ का ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ र महोत्तरी बर्दीबास-४का ४५ वर्षीय बुद्धबहादुर माझीलाई पक्राउ गरेको हो।
सोही घटनामा फरार प्रतिवादी उदयपुर रामपुर गाउँपालिका ३ का बिक्रम भन्ने जङ्गबहादुर माझी मंगलबार दरबारमार्गबाट पक्राउ परेका छन्। पक्राउ परेका तीन जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ।
उनीहरूले लाजिम्पाटस्थित दीलिपकुमार श्रेष्ठको पवी ज्वेलर्समा फागुन १८ गते चोरी गरेका थिए।
त्यहाँबाट एक किलो एक सय ५० ग्राम बराबरका सुनका गरगहना, आठ किलो ५६० ग्राम चाँदीका गहना र ८५ लाख ८५ हजार ६ सय ४२ रुपैयाँ चोरी गरेका थिए।
महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीका अनुसार पक्राउ पर्नेहरू व्यावसायिक चोर हुन्। उनीहरूलाई पक्राउ गर्न विशेष टोली नै खटेको उनले बताए।
‘अहिले समातिएका चोरहरू प्रोफेसनल हुन्। उनीहरू धेरैअगाडि देखि चोरी गर्ने गिरोह हुन्,’ एसपी कार्कीले भने, ‘चोरी गर्नुअगाडि उनीहरूले अनुसन्धान नै गर्ने गरेका थिए।’
उनीहरूले आफ्नो भेष परिवर्तन गरी चोरी गर्ने गरेका थिए।
‘उनीहरू कागज बोत्तल उठाउनेको भेषमा जाने र एक हप्तासम्म निगरानी गर्ने, त्यसपछि सुनसान भएको बेला ताला फोडेर चोरी गर्छन्,’ कार्कीले भने।
उनीहरूले चोरी गर्दा रेकर्ड भएका सिसिटिभी फुटेजका सिडीहरू समेत लग्ने गरेको उनले बताए।
पवी ज्वेलर्समा चोरी गर्नेमध्येकाएक जना चैत ९ गते पक्राउ परेका थिए। उनी अहिले केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेका छन्।
चोरीमा संलग्न दुई भारतीय भने अझै फरार रहेको प्रहरीले जनाएको छ।
जेलबाट छुटेपछि बनेको थियो योजना
पक्राउ परेकाहरू सबै जेल परिसकेका मानिस हुन्। जेलमा बस्दा नै उनीहरूबीच चिनजान भएको थियो।
जेलबाट छुटेकाे एक महिनापछि भेला भएर उनीहरूले चोरीको योजना बुनेका थिए। उनीहरूले अन्तिम पटकको लागि ठूलो काम गर्ने भन्दै चोरीको योजना बनाएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार उनीहरूले चोरी गर्न छाडेर ज्यालादारी काममा लागेकालाई समेत मनाएर चोरी गर्न लगाएका थिए।