पोखरामा मास्क नलगाई हिँडेको भन्दै बुधबार २१ जनालाई प्रशासनले १ सय रुपैयाँका दरले जरिवाना गरेको छ।
पोखराको विभिन्न ठाउँमा सम्झाई बुझाई गर्दा समेत अटेर गरेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरी संक्रमक रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा बुझाएको थियो।
प्रशासनले उनीहरुलाई बुधबार नै १ सय रुपैयाँका दरले जरिवाना लिएर छाडेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले बताए । सामाजिक दुरी कायम नगर्ने र मास्कको प्रयोग नगर्नेलाई कारबाही चलाउने उनले चेतावनी दिए।
सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन, कम्तीमा २ मिटर सामाजिक दुरी कायम गर्न, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न र लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको डिएसपी हमालले बताए।
यसका लागि जनचतेना फैलाउन भन्दै प्रहरीले माइकिङ गरेको र ठाउँ–ठाउँमा सम्झाई बुझाई गरेपपनि अटेरी बढेकाले कारबाही गर्न बाध्य भएको उनले बताए।