भारतीय सेनामा कार्यरत गोरखा आरूघाट गाउँपालिका-१ मान्वुका सम्बुर गुरूङले बिहीबार साँझ घरमा फोन गरेनन्।
काठमाडौं बस्दै आएकी श्रीमती बालमाया गुरूङलाई बिहीबार बिहान भने फोन गरेका थिए। त्यतिबेला उनले लडाइँमा जाने केही खबर गरेका थिएनन्।
त्यसो त भारत-पाकिस्तानबीच युद्धबिराम भएकाले लडाइँ हुने आँकलन पनि थिएन। भारत र पाकिस्तानको सीमा क्षेत्र जम्मु कस्मिरमा ३/८ जिआरमा कार्यरत सम्बुर भारत र पाकिस्तानको सीमावर्ती क्षेत्र गए राति ड्युटीमा खटिएका थिए।
जम्मु-कस्मिरको लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै शुक्रबार बिहानै अचानक गोलाबारी भयो। गोलाबारीमा परेर ड्युटीमा रहेका सम्बुर घाइते भए। उपचारका क्रममा शुक्रबार बिहानै उनको ज्यान गयो।
पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर सम्बुरले ज्यान गुमाएको भारतीय सेनाले जनाएको छ।
दिनहुँ घरमा फोन गरिरहने सम्बुरको कहिलेकाहीँ फोन आउँदैनथ्यो, यताबाट फोन गर्दा पनि लाग्दैनथ्यो। बिहीबार बिहानदेखि घरमा सम्पर्क नगरेका सम्बुरलाई यसअघि जस्तै फोनमा समस्या होला भनेर परिवारले सोचेर बसको थिए।
‘कहिलेकाहीँ फोन लाग्थेन,’ सम्बुरकी जेठी छोरी इला गुरूङले भनिन्, ‘हिजोदेखि फोन नआएको त यस्तो हुन रहेछ।’
इलाले बुधबार बिहानमात्र बुबासँग फोनमा कुरा गरेकी थिइन्। त्यतिबेला उनलाई यस्तो लडाइँ हुन्छ भनेर बुबाले केही भनेका थिएनन्।
जम्मु-कस्मिरमा तलमाथि गरिरहने भएकाले पनि इलाले यस्तो सोचेकी थिइनन्।
शुक्रबार बिहान इला सुतिरहेकी थिइन्। उनकी आमा बालमाया भने फोनमा बोल्दै थिइन्। फोनमा बोल्दाबोल्दै आमा डाँको छोडेर रुन थालिन्। त्यसपछि इला उठिन्। उनले फोन उठाइन्।
उनलाई पनि त्यही दु:खद समाचार आयो। जम्मु–कश्मीरबाटै फोन आएको रहेछ।
‘मम्मी एक्कासी रूनुभएपछि मैले उठेर फोन उठाएँ,’ इलाले सेतोपाटीलाई भनिन्, ‘बुबाको पल्टनबाट साबले फोन गर्नुभएको रहेछ, तिम्रो बुबा सहिद हुनुभयो भन्नुभयो।’
भारतीय सेनामा सम्बुर भर्ती भएको १८ वर्ष पुगेको उनको आफन्तले जनाएका छन्।
गत माघमा घर छुट्टी आएर फर्किएर सम्बुर मिल्यो भने दशैं मान्न घर आउने योजनामा थिए।
उनको शव ल्याउन कोरोना भाइरसका संक्रमण फैलिन नदिन भएको लकडाउनका कारण समस्यामा परेको आफन्तले जनाएका छन्।
सम्मरका श्रीमती बालमायाबा दाजु सुनबहादुर गुरुङले परिवारलाई भारत लैजाने तयारी भइरहेको बताए। उनले गाउँपालिकाको कार्यालय पुगेर भारतसम्म जानका लागि सवारी पासको सिफारिस लिएका छन्। मृतकका परिवारले भने अनुसार सिफारिस दिएको गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले बताए।
मृतक सम्बुरका परिवारका अनुसार भारतीय सेनाले पनि सम्बुरको शव नेपाल ल्याउन नचाहेको बताएका छन्। भारतमै सम्मानसहित सतगद गर्न परिवारलाई बोलाएको जनाएका छन्। अहिले सम्मरका श्रीमती बालमाया, दुईवटा छोरी, दाजु जितबहादुर, जेठाजु सुनबहादुर र सम्मरको पल्टनमा काम गरेर अवकाश पाएका भुपू श्यामबहादुर गुरुङ लगायत भारत जाने तयारी गरेको सुनबहादुरले बताए।