गण्डकी प्रदेशका विभिन्न जिल्लामा बिहिबार साँझदेखि परेको अबिरल बर्षाका कारण आएको बाढी पहिरोले ठुलो जनधनको क्षेती भएको छ। बाढी पहिरोले कास्की, लमजुङ, म्याग्दी लगायतका जिल्लाहरुमा ठुलो क्षति पुर्याएको स्थानीय प्रशासनले जनाएका छन्।
बाढी पहिरोका कारण कास्कीमा मात्रै ७ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। पोखरा-१८ सराङकोटको गोठादीमा स्थानीय टंकबहादुर थापाको घर माथिबाट झरेको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृत्यु हुनेमा ५० बर्षीय टंकबहादुर थापा, उनकी श्रीमती ४५ वर्षीया सोममाया थापा, दमौली घर भएका ८ वर्षीया शीतल श्रेष्ठ, ११ वर्षीया इशिका थापा मगर र ६ वर्षीय सुवान थापा रहेका छन्।
उक्त पहिरोमा परेर २२ वर्षीया पिंकी थापा, १८ वर्षीया आशा थापा मगर, ५ वर्षीया पिरिशा थापा मगर, दमौलीकी २८ वर्षीया सरस्वती श्रेष्ठ, १० वर्षीया सन्देश श्रेष्ठ, छिमेकी १९ वर्षीय अनिश तामाङ, १९ वर्षीया रशी थापा र रश्मी थापा मगर घाइते भएका छन्।
पोखरा–२५ हेम्जामा पनि गए राति पहिरोले घर पुरिँदा १ जना वृद्धको ज्यान गएको छ। अचानक पहिरो आउँदा स्थानीय ७० वर्षीय वृद्धले ज्यान गुमाएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए।
यस्तै, पोखरा २६ पैतेडाँडामा पहिरोले घर पुरिदा स्थानीय दुर्गाबहादुर सुनारको पनि मृत्यु भएको डिएसपी हमालले बताए। पोखरा १७ छोरेपाटनको सिमुलटुडा बस्ने ६० वर्षीय चन्द्रबहादुर घर पनि पहिरोले पुरिएको छ। पहिरोले पुरिदा चन्द्रबहादुरसहित उनका श्रीमती शान्ति मगर र छोरा सुशान मगर घाइते भएका छन्।
म्याग्दीमा मात्र बाढी पहिरोले ३ जनाले ज्यान गुमाएका छन् भने ७ जना घाइते भएका छन्। बाढी पहिरोमा परेर ३१ जना सम्पर्कविहिन भएको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए।
म्याग्दीको धवलागिरी गाउँपालिका- ६ मराङ रिखामा घण्टीबाङ भिरबाट झरेको पहिरोमा परेर १० जना बेपत्ता भएका छन्। घटनास्थलमा प्रहरी परिचालन पठाए पनि पहिरो झरिरहेकाले पुग्न नसकेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए।
उक्त पहिरोले धवलागिरी गाउँपालिका ६ का भीमप्रसाद जुग्जालीको घर पुरिएको छ। घर पुरिँदा भीमप्रसादसहित उनका परिवारका ४ जना बेपत्ता छन्। सोही स्थानका धनबहादुर जुग्जालीको घर पनि पहिरोले पुरिएको छ। घर पुरिँदा धनबहादुरसहित उनको परिवारका ६ जना बेपत्ता भएको प्रहरीले बताएको छ। पहिरोले स्थानीय सन्तप्रसाद पुन र हिराबहादुर जुग्जालीको घर पनि परेको र आंशिक क्षति पुगेको डिएसपी रेग्मीले बताए।
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार धवलागिरी ६ मा २१ जना, ७ मा ३ जना र मालिका ७ बिममा ८ जना पहिरोमा फसेका छन्।
म्याग्दीकै रघुगंगा गाउँपालिका ६ ठाडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको खोलाले बगाएर मृत्यु भएको छ। गोठमा गाइभैंसीलाई घाँसपात गर्न जादा स्थानीय लापु खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
म्याग्दीको मालिका गाउँपालिका ७ विमदुलेमा ४० बर्षीय बिष्णु पौडेलको घर पनि गएराति पहिरोले पुरिएको छ। पहिरोले घर पुरिँदा विष्णु र उनकी ४ वर्षीय छोरी इशा पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ। खोलाको बहाब बढेको र मौसम प्रतिकुल भएको भन्दै घटनास्थलमा प्रहरी जान सकेको छैन।
म्याग्दीमा पहिरोमा फसेका र बेपत्ता भएकाको खोजी गर्न नेपाल प्रहरी र नेपाली सेना परिचालन गरेको सिडिओ ढकालले बताए। उनीहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर अहिले म्याग्दी पुगिसकेको छ। मौसममा सुधान नआउँदा हेलिकप्टर घटनास्थल पुग्न नसकेको ढकालले बताए। उनले पोखराबाट अर्को हेलिकप्टर समेत मगाएको बताएका छन्।
म्याग्दीमा अहिलेसम्म ८० जनाको उद्धार गरेको र बाढी पहिरो प्रभावित क्षेत्रबा २ सय ४० जना उद्धारको पखाईमा रहेको ढकालले बताए।
लमजुङको बेसीशहर ७ सातबिसेमा स्थानीय दीपक तामाङको घर पुरिदा ३ जनाको ज्यान गएको छ। गएराती पहिरोले घर पुरिादा ३२ बर्षीय दीपक, उनका श्रीमती २६ वर्षीय बिमाया तामाङ र छोरा ९ बर्षीय छोवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ।
पहिरोमा परेर स्थानीय २६ वर्षीय सन्तबहादुर गुरुङ, २३ वर्षीय अनिल गुरुङ र सुमन गुरुङ घाइते भएका छन्।
यस्तै, लमजुङको क्होलासोंथर गाउँपालिका ३ बगुमका तुलबहादुर गुरुङको घर भत्किँदा २ जना घाइते भएका छन्। घाइते हुनेमा बुहारी ३० बर्षीय लोकमाया गुरुङ र उनका नातिनी ३ बर्षीय आरोशी गुरुङ रहेका छन्।
घटनामा घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।