धौलागिरी– ६, मराङकी ४६ वर्षीया राजमती सिर्पाली दुई दिन अनिदो र खानासमेत नखाई पोखरा आइपुगेकी छन्।
उनी मणिपाल शिक्षण अस्पतालको आँगनमा यताउता गरिरहन्छिन्। कहिले अस्पतालको आकस्मिक कक्ष नजिकैको बेडमा गएर पल्टिन्छिन्। जहाँ जाँदा पनि उनलाई एक सानो बालकले पछ्याउँछ। ती बालक राजमतीका कान्छा छोरा ७ वर्षीय सफल सिर्पाली हुन्।
पहिरोमा परेर परिवारका आठ सदस्य गुमाउनुपरेको पीडा राजमतीको अनुहारमा छरपष्ट देखिन्छ। त्यही पहिरोमा परेर जोगिएका सफल अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्। तर, उनले ‘दुख्यो’ भन्न छाडेका छैनन्।
बिहीबार रातिदेखि परिरहेको अविरल वर्षाले धौलागिरीलाई स्तब्ध पारेको छ। शुक्रबार बिहान करिब ५ बजेदेखि पहिरो जान थालेको मराङ गाउँमा अहिले पनि झरी रोकिएको छैन। पहिरो पनि थामिएको छैन।
पहाडी जिल्ला म्याग्दीमा मात्र अहिलेसम्म पहिरोमा परेका २७ जनाको शव फेला परेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। उनका अनुसार चार जना अझै हराइरहेका छन्। कम्तिमा १२ जना घाइते भएका छन्।
त्यस्तै, मलिका गाउँपालिकाको बिम र रघुगंगा गाउँपालिकाको ठाडाखानी लगायत ठाउँमा पनि बाढी र पहिरोले जनधनको क्षति भएको छ।
राजमतीको मराङ गाउँमा मात्रै कम्तिमा १८ जनाको ज्यान गइसकेको छ भने केही घाइते छन्। गाउँको चारैतिर पहिरो गएकाले गाउँलेहरू बाहिर जान सकेका छैनन्। बाहिरका मानिस पनि मराङ गाउँ छिर्न सकेका छैनन्।
राजमतीको घरमा झरेको पहिरो अरू ठाउँको भन्दा सानो थियो। उनी शुक्रबार बिहान पहिरो जानुअघि नै उठिसकेकी थिइन्। त्यति बेला उनी घरबाहिर थिइन्। खोला–नाला कराउन थाल्यो।
'बिहानै आवाज आएपछि लौ न पहिरो जान लाग्यो, कता के भयो,' राजमतीले त्यो क्षण सम्झिँदै भनिन्, 'एक्कासि टिनमा ढुंगा आयो, के भयो भनेर छोराबुहारीलाई उठाउन खोजेको त पहिरो आएको रैछ।'
घरमा एउटा कोठामा जेठा छोरा, बुहारी र परिवार थियो भने अर्कोमा साइला छोरा-बुहारी थिए। नौ जनाको परिवार रहेको घरमा गाडीका सह-चालक पनि सुतेका थिए। पहिरो गएपछि सह-चालक उठेर कान्छा छोरा सफललाई उद्धार गरिदिएका थिए।
पहिरोमा साइला छोरा–बुहारी घाइते भएका छन्। साइली बुहारी र कान्छा छोरालाई लिएर राजमती हेलिकप्टरमा पोखरा आएकी थिइन्। साइली बुहारी मञ्जिता करिब छ महिनाको गर्भवती छिन्। उनका एक हर खुट्टा चलेको छैन। कोखा र शरीरका अन्य भागमा पनि चोट लागेको छ।
घटनापछि मञ्जिताको पिसाब रोकिएको थियो। बेनी अस्पताल म्याग्दीमा राखेर उनको पिसाब निकालिएको थियो। त्यसपछि उनलाई पोखरा ल्याइएको उनका परिवारले बताएका छन्। मणिपाल अस्पतालका चिकित्सकले मञ्जिताको अप्रेसन गर्नुपर्ने बताएको उनका दाजु जनक सुनारले जानकारी दिए। मञ्जिताले राजमतीका साइला छोरा दीपकसँग प्रेम विवाह गरेकी थिइन्। दीपकको बेनी अस्पतालमा उपचार भइरहेको छ।
राजमतीको पीडा धौलागिरी जत्तिकै उच्च छ। उनको पीडाको सीमा पहिरोले घर भत्किनु र छोरा-बुहारी घाइते हुनुमा मात्र सीमित छैन।
त्यही पहिरोमा राजमतीले जेठा छोरा मनबहादुर, बुहारी कमला, नाति सुरज र नातिनी सुरक्षालाई गुमाउनुपर्यो। घरतल विवाह गरेर गएकी जेठी छोरी सुकुना लामगादे, नाति आशिष, आयुष र नातिनि आयुषाले पनि पहिरोमा ज्यान गुमाए। राजमतीका जेठा ज्वाइँ भने गत वर्ष खाडी गएका छन्।
'छोरा-बुहारीले हलचल केही गरेनन्, आवाज पनि आएन,' राजमतीले भनिन्, 'भित्रबाट चुकुल लगाएकाले मैले दैलो खोल्न सकिनँ। पहिरोले च्याप्यो, कर्यापकुरुप पारिदियो।' छोरा-बुहारीलाई बोलाएको बोलायै गर्दा पनि आवाज नआएको उनले बताइन्।
पहिरोपछि गाउँमा बिजुलीको लाइन काटिएको छ। बिजुलीका पोल ढलेका छन् भने कतिपय बगेका छन्। बिजुली नभएपछि मोबाइल चार्ज गर्न नपाएर अहिले गाउँमा फोन सम्पर्क हुन सकेको छैन।
घटनापछि राजमती गाउँलेहरूसँगै आमा समूहको भवनमा गएर बसेकी थिइन्। भवनमा गाउँलेले खानापानीको व्यवस्था गरेका छन्। तर, शुक्रबार बिहानै घटना भएदेखि राजमतीले न त खाना खाएकी छन्, न त निन्द्रा नै परेको छ।
'मेरा नानीहरूले त बिस्कुट खाए, मैले त पानीबाहेक केही खाएको छैन,' राजमतीले सेतोपाटीसँग भनिन्, 'यस्तो बेला कसरी सकिन्छ र!'
शुक्रबार बिहानैदेखिको पहिरोले मृत्यु भएका र घाइतेको उद्धार शनिबार दिउँसो मात्र भएको थियो। पहिरोमा फसेका गाउँलेहरूको अझै उद्धार भइसकेको छैन। हराइरहेका नागरिकको खोजी जारी रहेको म्याग्दी प्रशासनले जनाएको छ।
आमा समूहको भवनमा नआटाएका मानिस बाहिर त्रिपाल टाँगेर बसेका छन्। गाउँमा शुक्रबार बिहानैदेखि रुवाबासी चलेको राजमतीले बताइन्। गाउँ जाने बाटो अवरुद्ध भएको छ। उद्धारका लागि शुक्रबार नेपाली सेनाको हेलिकप्टर बेनीबजार गएर बसे पनि मराङ गाउँमा ओर्लन सकेन। यो २४ घन्टाभन्दा बढी समयसम्मको रुवाबासीमा आँशु पुछ्न राज्यका कुनै निकाय पुग्न सकेनन्।
आमा समूहको भवनमा बुहारी र नातिनातिना गुमाएकी सम्धिनीसँग राजमतीको भेट भएको थियो। सम्धिनी पनि बिजोग अवस्थामा रहेको उनले बताइन्। 'छोरीको मुख देख्न पनि पाइनँ,' राजमतीले आँशु पुछ्दै भनिन्, 'सम्धिनी रोएर बिजोग हुनुभएको छ।'
पहिरोले गाउँका घरहरू मात्र होइन, स्वास्थ्य चौकी, विद्यालय लगायत सार्वजनिक भवनहरू पनि जोखिममा रहेको उनले बताइन्। 'जोगिएको भनेकै आमा समूहको भवन हो,' उनले भनिन्, 'अरू त सबै थिलोथिलो छ।'
गाउँमा बस्दा यस्तो डर कहिल्यै नलागेको राजमतीले बताइन्। 'पहिरो आएपछि त थरथर जीउ काम्छ, अब कसरी जाने हो,' उनले भनिन्, 'मलाई एकैचोटि यो कस्तो आपत् आइलाग्यो।'
हेलिकप्टर चढेर बेनी हुँदै पोखरा आउँदा राजमतीले तल जमिनतिर हेरेकी थिइन्।
'म त झसंगै भएँ। गाउँ तल ठूलो डर लाग्ने भिरमा पनि पहिरो, गाउँमाथि पनि पहिरो गएको रहेछ,' उनले भनिन्, 'हेलिकप्टरबाट तल फर्केर हेरेको त पुल पनि बगाएको रैछ, अरूका घर पनि पहिरोले पुरेका रहेछन्।'