डडेल्धुरामा खानेपानको विषयमा विवाद हुँदा मृत्यु भएका बालकका नाममा अक्षय कोष बनाइने भएको छ।
गाउँपालिकाले मृतक ८ वर्षका बालक हिमान्सु महराका नाममा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गर्ने भएको हो।
गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङले विवाद भएकै खानेपानीको योजनाका लागि छुट्याइएको बजेटबाट मृतक बालकका नाममा अक्षय कोष स्थापना गरिने बताए।
उनले दोषीलाई कानुनी कारबाही गर्नुपर्ने बताए। पीडित पक्षलाई गाउँपालिकाको तर्फबाट एक लाख राहत रकम र किरिया खर्च २५ हजार दिने सहमति भएको उनले जानकारी दिए।
शुक्रबार राति आलिताल गाउँपालिका वडा नम्वर ६ मा खानेपानीको विषयमा विवाद भएको थियो। विवादपछि ढुङ्गा हानाहान हुँदा हिमान्सु घाइते भएका थिए।
उनको टाउकोमा गम्भीर चोट लागेकाले धनगढी ल्याइए पनि उपचारका क्रममा मृत्यु भएको थियो।
वडा नम्बर ६ मा रहेका दुई गाउँ मेल्खाली र भौनाका स्थानीयबीच खानेपानीको विषयमा विवाद भएको थियो। ‘भौनाको शिरानतिर रहेको पानीको मुहानमा ट्याङ्की निर्माणका लागि वडा कार्यालयबाट एक लाख बजेट छुट्याइएको थियो’ गाउँपालिकाका अध्यक्ष गुरुङले भने ‘त्यहाँबाट दुवै गाउँमा धारा जडान गर्ने सहमति भएपनि अहिले एक पक्षले मात्र धारा प्रयोग गर्नेगरी योजना सुरु भएको भन्दै अर्को पक्षले विरोध गरेको थियो।’
विवादले उग्र रुप लिएपछि एक पक्षका मानिसहरु अर्को गाउँमा गएर ढुंगामुढा गर्न थाले। बालककी आमालाई पनि ढुंगा लागेर चोट लागेको छ।
अध्यक्ष गुरुङले निर्दोष बालकको ज्यान जानु जघन्य अपराध भएको बताए। घाइते भएकी मृतकका आमाको उपचार दोषी पक्षले गराउने सहमति भएको उनको भनाइ छ।
मृतकका बुबा गणेश महराले १२ जना विरुद्ध किटानी जाहेरी दिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताए।
शनिबार घटनास्थलबाट चार जना पक्राउ परेकोमा तीनजना जाहेरी परेका मध्ये रहेको र थप नौ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ।