अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा प्रहरीले डाक्टर, जनप्रतिनिधिसहित १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले आइतबार नौ जना र शनिबार चितवनबाट तीन जना डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको हो। अवैध रूपमा मिर्गौला प्रत्यारोपण आरोपमा ललितपुरबाट ९ र चितवनबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।
पक्राउ परेका १२ जनाविरूद्ध जिल्ला अदालत ललितपुरबाट पक्राउ पूर्जी जारी भएको थियो। पक्राउ परेकाहरूमा २ जना महिला र एक वडा अध्यक्ष हुन्। पक्राउ परेका वडाध्यक्ष ललितपुर महानगर वडा नम्बर ३ का अध्यक्ष श्रीगोपाल महर्जन रहेको प्रहरीले जनाएको छ।
अवैध रुपमा मिर्गौला प्रत्यारोपणमा गर्ने समूहलाई सघाएको वडाध्यक्ष महर्जनलाई आरोप छ। उनले नक्कली नाता प्रमाणित गर्ने कागजमा प्रमाणित गरेकोले नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ। उनीहरूलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको प्रहरीले जानकारी दिएको छ।