सोमबार सितापाइलाका २९ वर्षीय विलभ सुवेदी र उनका भाइ दुर्लभ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) परिसर आएका थिए।
१४ वर्षअघि आमाबुवा गुमाएका यी दाजुभाइका लागि त्यहाँ एउटा सानो सन्तुष्टिको समाचार थियो-उनीहरूलाई कलिलो उमेरमै टुहुरा बनाउनेमध्येका एक जना पक्राउ परेका थिए।
२०६३ पुस २० गते। सबै जना सँगै खाना खाएपछि पौने ८ बजेतिर बाबुआमा र छोराहरू आ-आफ्ना कोठामा गए।
एकछिनमा कसैले उनीहरूको घरको ढोकामा ढकढक हान्यो।
'ढोकामा कसैले ढकढक गरेजस्तो लाग्यो। आवाज पटकपटक आयो तर हामीले कसैलाई देखेनौं,' विलभले १४ वर्षअघिको त्यो रात सम्झिए, 'को रहेछ भनेर मामु बाहिर निस्किनुभयो। त्यत्तिकैमा एक जनाले उहाँको मुख थुनेर खुकुरीले हाने।'
विलभकी आमामाथि खुकुरी हान्नेहरू उनीहरूकै मिलका कामदार थिए।
मिलका सञ्चालक नातीकाजी सुवेदीले नियमित काममा नआउने, भनेको नमान्ने, पैसा लिएर पनि काममा नआएर ठग्न गर्न थालेपछि कामदारलाई गाली गरेका थिए।
'हाम्रो कारखानामा उनीहरू मिस्त्रीको काम गर्थे। काम राम्ररी नगर्ने, बिगार्ने, पैसा लिएर भाग्ने, काममा नजाने गरेपछि बुबाले उनिहरूलाई गाली गर्नुभएको थियो,' विलभले भने।
नातीकाजीले सोचेका थिए- गाली गरेपछि उनीहरूले राम्ररी काम गर्लान्। तर ती कामदारको मनमा उल्टो विचार पलायो। खुकुरी लिएर आक्रमण गर्न आए।
उनीहरूले आमालाई खुकुरी हान्दा विलभ ढोकाछेउको कोठाबाट बाहिर हेरिरहेका थिए। आमामाथि खुकुरी प्रहार गरेको देखेपछि उनी बाहिर निस्किन खोज्दा अर्का एक व्यक्तिले उनीमाथि पनि खुकुरी हाने।
'म कोठाबाट बाहिर निस्किन खोज्दा अर्का व्यक्तिभित्र छिरेर मलाई खुकुरीले आक्रमण गरे। त्यसपछि म पनि लडें,’ उनले भने।
खुकुरी बोकेका ती दुई जनाले सुतिसकेका नातीकाजीलाई पनि कोठामै गएर आक्रमण गरे।
विलभ त्यतिबेला १५ वर्षका थिए।
'मलाई धेरै हानिसकेका थिए। मैले अब केही गर्न सक्दिनँ भन्ने बुझिसकेको थिएँ। मैले उसलाई खुट्टाले हानेर बाहिर भागेँ र भाग्दाभाग्दै बेहोश भएर लडेछु,' उनले भने।
कान्छा दुर्लभ पनि घरभित्रै थिए। तर हत्याराले उनलाई भेटाएन छन्।
'म कोठामा थिएँ। मैले भित्रैबाट प्रहरी, आफन्तहरूलाई फोन गरें। उहाँहरू आउन्जेल खुकुरी हान्नेहरू भागिसकेका थिए,' दुर्लभले सम्झिए।
आक्रमणमा परी उनीहरूका आमाबुवाको मृत्यु भइसकेको थियो।
बेहोश भएका विलभलाई आइसियूमा लगियो। १३ दिनसम्म उपचार गरेपछि उनी तंग्रिए।
हत्याको अनुसन्धान सुरूमा बालाजु वृत्तले गरेको थियो। तर हत्याराको नाम र ठेगानाबाहेक अरू केही आधार प्रहरीसँग थिएन। पछि यो केस केन्द्रीय अनुसन्धान ब्युरोले हेर्न थाल्यो।
विलभलाई भने ती आक्रमणकारीको हुलिया थाहा थियो। उनी निरन्तर ब्युरोको सम्पर्कमा रहे।
अनुसन्धानका क्रममा थाहा भयो विलभका बुवाआमाको हत्या गर्ने जयकिशोर साह र प्रताप राना भारत गइसकेका छन्।
ब्युरोका प्रवक्ता एसपी वेलबहादुर पाण्डेका अनुसार प्रहरीले हत्याराको परिवार पत्ता लगाएको थियो। आफन्तसँगको फोन रेकर्ड हेर्दा उनीहरू भारत गएको देखिएको उनले बताए।
'घटनापछि उनीहरू भारत गएका रहेछन्। हामीले परिवार पत्ता लगायौं,' पाण्डेले भने,'त्यसपछि यहाँबाट गएको फोन सम्पर्कहरू ट्याली गर्न थाल्यौं।'
साह र राना केही समय उत्तर प्रदेशको लखनउमा बसे। दुई वर्षपछि प्रताप राना अन्तै लागे। राना अन्तै गएपछि साहले पनि जय शर्माको नामबाट आधार कार्ड तथा अन्य सरकारी कागजात बनाए।
यता ब्युरोले उनीहरूमाथिको अनुसन्धान जारी राखेको थियो। यो अनुसन्धानलाई ब्युरोले यति महत्व दिएको थियो कि अन्तर्राष्ट्रिय स्तरमा समेत समन्वय भइरहेको थियो। सुराकीको परिचालन गरिएको थियो, टेक्निकल एनालाइसिस र हुलिया सनाखत अनुसन्धानकै क्रममा थिए।
केही दिनअघि साह नेपाल-भारतको सीमा क्षेत्रमा थिए। त्यसपछि ब्युरोले विलभलाई फोन गर्यो।
उनले आफ्ना बुवाआमामाथि खुकुरी हान्ने मान्छे यही हो भनेर चिने।
साह हत्यारा नै हो भन्ने पुष्टि गर्न प्रहरीले मिलमा त्यतिबेलाका अरू कामदारलाई देखाएको थियो। सबैले उनी नै हुन् भन्नेमा यकिन भएपछि उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो।
हत्यामा संलग्न प्रताप राना भने अझै फरार छन्। उनीमाथि अनुसन्धान जारी रहेकाले चाँडै पक्राउ गर्ने ब्युरोले जनाएको छ।
आफ्नै मिलमा काम गर्नेले बुवाआमालाई मारिदिएपछि विलभ र दुर्लभलाई हेरचाह गर्न हजुरबुवा र हजुरआमा काठमाडौं आए। केही वर्ष बसेर फेरि उनीहरू विराटनगर फर्किए।
उनका बुवाले सुरू गरेको काठको मिल अहिले दाजुभाइले चलाइरहेका छन्। कलिलैमा बुवाआमा गुमाउँदाको पीडाले उनीहरूलाई जति दुख्थ्यो त्योभन्दा बढी पीडा हत्याराहरू पक्राउ नपरेको देख्दा हुन्थ्यो।
‘अहिले एक जना त पक्राउ परे। अब अर्को पनि पक्राउ परे भने बल्ल हाम्रो मनलाई सन्तुष्टि मिल्छ,’ विलभले सेतोपाटीसँग भने।