मंगलबार मध्यान्ह साढे १२ बजेतिर मेलम्ची सुरूङमा ड्याम्म आवाज आयो।
मेलम्ची खानेपानीको मुहानस्थल सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ अम्बाथानमा रहेको टनेलको ढोका एक्कासि खुल्यो। ठूलो आवाज परैसम्म सुनियो।
एकैछिनमा सुरूङभित्रबाट पानीको भेल आयो। सुरूङभित्रबाट आएको भेलमा रातो हाइलक्स गाडी पनि बगाएर ल्याएको देखेपछि प्रत्यक्षदर्शीले सुरक्षा निकायलाई खबर गरे।
त्यतिन्जेल गाडी मेलम्ची खोलामै खसिसकेको थियो।
केहीबेरमा पुगेका सुरक्षाकर्मीले भेलबाटै २ जनाको उद्धार गरे। गाडीभित्र रहेका इञ्जिनियर र चालक अझै हराइरहेका छन्।
मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको ठाउँभन्दा करिब एक हजार मिटरको दूरीमा टनेल नम्बर १७ को ढोका फुटेर आएको भेलले इञ्जिनियर २७ वर्षीय सतिस गोइत र चालक ५६ वर्षीय राधाकृष्ण थापा बेपत्ता छन्।
घाइते भएका इञ्जिनियर शेखर खनाल र प्राविधिक पेमादोर्जे तामाङको हेलिकप्टरबाट उद्धार गरी काठमाडौंस्थित ग्रान्डी अस्पताल ल्याइएको छ।
घटनास्थल पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले अम्बाथान टनेलको गेट एक्कासि फुट्दा सुरूङभित्र जम्मा भएको पानीले गाडी बगाएर मेलम्ची खोलामा पुर्याएको बताए।
‘सुरूङभित्र पानी पठाउने ठाउँ इन्टेकदेखि करिब एक हजार मिटर दूरीमा रहेको अम्बाथान टनेलको ढोका एक्कासि खुलेर भेलले दुई जना घाइते र दुई जना बेपत्ता बनाएको हो,’ उनले सेतोपाटीसँग भने, ‘सुरूङ परीक्षणका लागि सुरूङभित्र मेलम्चीको पानी तालिएको थियो। त्यही संकलित पानी टनेलको ढोका फुट्दा भेल आएको हो। भेलले गाडीसहित २ जनालाई बगाएर मेलम्चीमा पुर्याएको देखिन्छ।’
सुरुङछेउ मेलम्ची खोलामा रातो हाइलक्स गाडी पानीभित्र देखिए पनि त्यहाँ इञ्जिनियर र चालक नभेटिएको उनले जानकारी दिए।
बेपत्ताहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ।
सुरूङभित्र पानी परीक्षणको अवस्था हेर्न गएका इञ्जिनियर सहितको टोली बेपत्ता भएका हुन्।
‘टनेल फुट्दा ड्याम्म आवाज आएको रहेछ,’ प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उनले भने, ‘एकैछिनमा मान्छे र रातो गाडी बगाउँदै ल्याएको देखेका रहेछन्।’
यसअघि असार २१ गते मेलम्चीमा मुहानदेखि आठ सय मिटरसम्म सुरूङमा पानी पठाएर सफल परीक्षण गरिएको थियो।
१७ नम्बर टनेलबाट सुन्दरीजलसम्म पानी खसाल्न मेलम्चीको पानी सुरूङभित्र केही दिनदेखि जम्मा गरिएको थियो।
अम्बाथानमा दुइटा टनेलमध्ये एउटाको ढोका अकस्मात् खुलेर संकलित पानी तीव्र बेगले सुरूङबाहिर निस्केको उनले बताए।
सुरूङभित्र पानी संकलन हुँदा त्यसको चापले टनेलको ढोका फुटेको हुन सक्ने उनको भनाइ छ।
‘सुरूङभित्र निरीक्षण गरिरहेकाहरू टनेलको ढोका फुट्दा बगेका हुन्,’ उनले भने,‘सुरूङभित्र रहेका ४ जनामध्ये २ जना पुलसँगैको सुरूङबाट बाहिर निस्किँदा बाँचे। २ जना पुलमुनिको अर्को सुरूङबाट खोलामा बगेर बेपत्ता भएको अनुमान छ। पुलसहितको सुरूङबाट भित्र गएको गाडी पानीको भेलले पुलमुनिको अर्को सुरूङबाट बाहिर निस्कियो। यी दुई सुरुङ करिब ५० मिटर भित्र पुगेसी एकै ठाउँमा भेटिन्छन्।’
आयोजनाले करिब २७ किलोमिटर सुरूङभित्र पानी भरिन करिब २० दिन लाग्ने अनुमान गरेको थियो।
पहिलो दिन आठ सय मिटरसम्म सफल परीक्षण गरिएको थियो।
सुरूङ परीक्षणका लागि दश दिनदेखि मेलम्ची खोलाको पानी सुरूङभित्र पठाइएको थियो।
‘यतिका दिन मेलम्चीमा आएको बाढी त्यही सुरूङभित्र जम्मा भएको थियो टनेल फुटेपछि तीव्र बेगले बाहिर निस्किँदा गाडीसहित मानिस बेपत्ता भए,’ उनले भने।
आयोजनाले हावाका चापका कारण टनेल फुटेको हुन सक्ने अनुमान गरेको छ।
यो पनि :
मेलम्चीको सुरूङमा इन्जिनियरसहित २ जना बेपत्ता
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक प्रज्ज्वल महर्जनले टनेल फुटेर घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको सेतोपाटीलाई बताए।
‘घाइतेलाई उद्धार गरी मेलम्ची प्राथमिक स्वास्थ चौकीमा उपचार गरी थप उपचारलाई काठमाडौं पठाइएको छ,’ उनले भने।
घाइतेको घुँडा, हातलगायतमा चोट लागेको उनले बताए।
इञ्जिनियर चढेको रातो हाइलक्स गाडी मेलम्ची खोलामा देखिएकोले इञ्जिनियर र चालक खोलाले बगाएको हुनसक्ने भएकोले खोजी कार्य जारी राखिएको उनले बताए।
‘दोलालघाटसम्म प्रहरी परिचालन गरी खोजी गरिरहेका छौं,’ उनले भने, ‘खोलामा गाडी देखिए पनि गाडीभित्र उहाँहरू भेटिनुभएन। खोलाले बगाएको अनुमान छ।’
सबै तस्बिर : निमा ग्यल्जेन (शेर्पा) ह्योल्मो