गत चैत महिना सुरू भएसँगै भारतबाट ठूलो संख्यामा नेपालीहरू स्वदेश आउन थालेपछि सरकारलाई कोरोना परीक्षण व्यापक बनाउनुपर्ने दवाब पर्यो।
विभिन्न सीमा हुँदै दैनिक १० हजार जनासम्म स्वदेश भित्रिए। जसले गर्दा प्रदेशहरूको क्वारेन्टिन भरिन थाले। त्योबेला नै भारतमा संक्रमणको जोखिम उच्च रहेकाले त्यहाँबाट आउने नेपालीहरूलाई पनि परीक्षण गर्नुपर्ने भयो।
त्यसपछि सरकारले विभिन्न अस्पताल र आफू मातहतका निकायमा थन्किएका पिसिआर मेसिन सञ्चालनमा ल्याउन थाल्यो। तर पनि केही प्रदेशमा सरकारले पिसिआर मेसिनको अभावमा परीक्षण सुरू गर्न सकेन।
यही झन्झट प्रदेश-५ ले खेपिरहेको थियो। पिसिआर मेसिन नहुँदा प्रदेशमा संकलन हुने स्वाबहरू परीक्षणको लागि काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउनुपर्थ्यो।
त्योबेला टेकु प्रयोगशालामा पनि स्वाबको चाङ लाग्ने गरेकाले प्रदेशबाट आउने स्वाबले तुरून्त पालो पाइरहेको थिएन।
दैनिक १२ सय क्षमताको प्रयोगशालामा ३ हजार वटासम्म स्वाब थुप्रियो। परीक्षण झन्झटिलो भएपछि प्रदेशहरूले आफैं परीक्षण सुरू गर्ने तत्परता देखाए।
प्रदेश-५ सरकारले पनि प्रदेशमै पिसिआर परीक्षण सुरू गर्ने भनेपछि प्रदेशसँग पिसिआर मेसिन थिएन।
त्यही बेला बुटवलस्थित ‘नेसनल प्याथ नाम’को निजी प्रयोगशालाले आफूसँग भएको पिसिआर मेसिन प्रदेशलाई केही समयको लागि दिने भयो।
त्यसपछि भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसिआर विधिबाट कोरोना परीक्षण सुरू भयो।
प्रयोगशालाले दैनिक २ सय ५० जनाको मात्र परीक्षण गरे पनि त्यो बेला परीक्षण चाप धान्न गाह्रो भएको बेला सरकारलाई राहत भयो।
नेसनल प्याथ ल्याबका प्याथोलोजिस्ट डा. जीवन अधिकारीले सेतोपाटीसँग भने, 'त्यो बेला हामीले परीक्षण गर्न पाउँदैनौं भन्ने थाहा थियो। त्यसैले हामीसँग भएको पिसिआर मेसिन बरु प्रदेशले चलाओस् भनेर सहयोग गरेको हो।'
उनले सुरूमा १५ दिनको लागि मेसिन सञ्चालन गर्न दिइएको भए पनि प्रदेशले अर्को मेसिन जुटाउन नसक्दा मेसिन तोकिएको समयमा फिर्ता नभएको बताए।
उनले प्रदेशलाई नि:शुल्क नै मेसिन सञ्चालन गर्न दिइएको बताए।
प्रदेशले भने झन्डै दुई महिना मेसिन चलाएपछि नेसनल प्याथ ल्याबलाई फिर्ता गरेको छ।
नयाँ पिसिआर मेसिन खरिद गरेपछि प्रदेशले उक्त मेसिन फिर्ता गरेको हो।
मेसिन फिर्ता भए पनि निर्देशिका नभएकाले प्याथ ल्याबले आफैं परीक्षण सुरू गर्न सकेन। फेरि मेसिन थन्किएर बस्यो।
तर सरकारले निजी प्रयोगशालाहरूलाई पनि परीक्षण गर्न दिने भनेपछि प्याथ ल्याबले पनि परीक्षण गर्न आफ्नो तयारी थाल्यो।
डा. अधिकारीले आफूहरूले बुटवलदेखि पश्चिममा रहेको बेलवासस्थित लायन्स क्लबको भवनमा परीक्षण गर्ने नयाँ ल्याब सेटअप गरिएको जानकारी दिए।
नयाँ ल्याब सेटअप गर्न झन्डै एक करोड खर्च भएको उनले बताए।
'हामीले अनुमति पाएपछि नयाँ भवनमा पार्टेसन गर्दा, एसी जडान गर्दा र अन्य पूर्वाधार तयार गर्दा एक करोड खर्च भएको छ,' डा. अधिकारीले भने, 'तर पनि अहिलेसम्म स्वाब नपाउँदा परीक्षण सुरू गर्न पाएका छैनौं।'
स्वास्थ्य मन्त्रालयले निजी प्रयोगशालाहरूलाई परीक्षण गर्न दिने भने पनि सरकारी प्रयोगशालाहरूमा बढी भएका स्वाब मात्र निजीलाई परीक्षण गर्न दिने भनेर निर्देशिका जारी गर्यो।
निजी प्रयोगशालाहरूले सरकारले स्वाब नदिए पनि स्वेच्छाले परीक्षण गर्न चाहने व्यक्तिको शुल्क लिएर परीक्षण गर्न पाउनुपर्ने कुरा राख्दै आए। तर मन्त्रालयले निर्देशिका मिच्दै दुइटा निजी प्रयोगशालालाई शुल्क लिएर परीक्षण गर्न पाउने अनुमति दिएको छ। जसमा सिनामंगलस्थित केएमसी अस्पताल र सानेपास्थित स्टार अस्पताल छन्।
डा. अधिकारीले भने, 'प्रदेशमा स्वाब धेरै भएर ‘होल्ड’ भएको छ। तर उहाँहरूले माथिबाट निर्देशन आएको छैन भन्दै स्वाब दिन नमिल्ने बताउँदै आउनुभएको छ।'
सरकारलाई आवश्यक परेको बेला सहयोग गरे पनि अहिले सरकारबाटै असहयोग भएको उनले गुनासो पोखे।
'हामीले योगदान सम्झेर त्यो बेला सरकारलाई सहयोग गरियो तर अहिले हामीलाई नै सहयोग नहुँदा दुःख लाग्छ,' उनले भने।
प्रदेशले स्वाब दिए आफूहरूले तुरून्त परीक्षण गर्न सकिने उनको भनाइ छ।
डा. अधिकारीले भने,'हामीसँग रिएजेन्टसहित सबै कुरा तयारी छ। स्वाब आए आजैबाट परीक्षण सुरू गर्न सक्छौं। हामीसँग अहिले एक हजार जनाको परीक्षण गर्न मिल्ने किटको व्यवस्था छ।'
प्रदेश-५ स्वास्थ्य निर्देशनालयका अनुसार अहिले पनि १६ सय बढी स्वाब परीक्षणको पर्खाइमा छ।
निर्देशनालयका प्रमुख डा. विनोद गिरीले आफूलाई निजी प्रयोगशालाहरूलाई स्वाब दिने कुराबारे माथिबाट कुनै जानकारी नआएको बताए।
उनले होल्ड भएका नमूना केही दिनमै सरकारी प्रयोगशालाहरूबाट परीक्षण भइसक्ने जनाए।
'हिजो २४ सय नमूना होल्डमा थियो। अहिले त्यो संख्या १६ सयमा झरेको छ। दिनदिनै यो संख्या कम हुँदै गएको छ,' उनले भने।