मेलम्ची सुरूङभित्रको ढोका नम्बर १७ खुलेर आएको पानीमा बेपत्ता भएका आयोजनाका सवारी चालक राधाकृष्ण थापा मगरको खोजी कार्य जारी छ।
मंगलबार मध्यान्ह हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको ढोका खुल्दा आएको तीव्र बेगको पानीले सुरूङभित्र रहेका ईञ्जिनियर सतिस गोइतसहित चालक थापा बेपत्ता थिए। ईञ्जिनियर गोइतको बुधबार शव फेला परेको छ।
तर चालक थापा अझै भेटिएका छैनन्। जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार नेपाल प्रहरी र काठमाडौंबाट गएका शशस्त्र प्रहरीको टोलीले मेलम्ची खोलामा चालक थापाको खोजी कार्य गरिरहेका छन्। सुरूङभित्र पानीको चाप नाप्न गएका ईञ्जिनियरसहित चार जनालाई ढोका खुलेर आएको पानीले बगाएको थियो।
तीमध्ये दुई जनाको मंगलबार नै उद्धार गरी उपचारका लागि काठमाडौं ल्याइएको थियो। सुरूङभित्र रहेको हाइलक्स गाडी पनि पानीले बगाएर मेलम्ची खोलामा पुर्याइदिएको छ। ईञ्जिनियर गोइतको शव र गाडी मेलम्ची खोलामा भेटिएकोले चालक थापाको खोजी पनि मेलम्ची खोलामा खोजिएको हो।