काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता लगाउन पछिल्लोपटक दुई हजार जनाको परीक्षण गर्दा कसैमा पनि संक्रमण देखिएको छैन।
इपिडियोमोलोजी तथा रोग नियन्त्रक महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले थप दुई हजार जनाको परीक्षण गर्दा एकजना पनि संक्रमित नभेटिएको जानकारी दिए।
पछिल्लो समय उपत्यकामा संक्रमित संख्या बढ्दै गएपछि महाशाखाले समुदायस्तरमा संक्रमण फैलिएको छ वा छैन पत्ता लगाउन परीक्षणको दुइटा रणनीति तय गरेको थियो। जसमा कम्तिमा ६ हजार जनाको परीक्षण गर्ने भनिएको हो।
महाशाखाले परीक्षण गर्न उपत्यकाको तीनै जिल्लाका १२ वटा ठाउँ छनोट गरेको थियो। प्रत्येक ठाउँबाट १ सय ८० वटासम्म स्वाब संकलन गरिएको थियो। ती ठाउँबाट संकलन गरिएको स्वाबमध्ये टोखा नगरपालिकास्थित हरियाली बस्तीका तीन जना व्यक्तिमा संक्रमण देखिएको थियो। जसमा एकजना कैलालीबाट आएर क्वारेन्टिनमा बसेकी महिला हुन् भने बाँकी दुईजना स्थानीय हुन्।
त्यसबाहेक बाँकी ठाउँहरूबाट संकलन गरिएको स्वाब भने कुनै पनि पोजेटिभ देखिएन। त्यसबाहेक महाशाखाले अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका बिरामी, ओपिडीमा आउने बिरामी र स्वास्थ्यकर्मीहरूको समेत परीक्षण गर्ने भन्यो।
त्यस्तै बैंक, मालपोतजस्ता धेरै भीडभाड हुने स्थानहरूमा आउने सेवाग्राही र कर्मचारीको समेत परीक्षण भइरहेको छ। महाशाखाले चार वटा टोली बनाएर त्यस्ता ठाउँहरूबाट स्वाब संकलन कार्य गरिरहेकको छ। आज पनि सामाखुसीमा स्वाब संकलन गर्ने महाशाखाको तयारी छ।
यो रणनीतिअनुसार काम गरिरहेको महाशाखाको तथ्यांकअनुसार ४२ सय बढीको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण पुष्टि भएको छ। यसअघि नै २ हजार २ सय जनाको परीक्षण भइसकेको छ। पछि थप २ हजार जनाको परीक्षण गर्दा पनि कसैमा संक्रमण देखिएको छैन।
अब रणनीतिअनुसार ६ हजार जनाको परीक्षण सकिएपछि थप कस्तो रणनीति तय गर्ने भन्ने टुंगो लाग्ने महाशाखाले जनाएको छ।
पछिल्लो समय उपत्यकामा केही संक्रमित फेला परे पनि ती केसहरू महाशाखाले तय गरेको रणनीतिअनुसार परीक्षण भएका होइनन्।
महाशाखाको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा संक्रमित हुनेको संख्या ३ सय ६५ छ। जसमा काठमाडौंका २ सय ४४, ललितपुरका ७६ र भक्तपुरका ४५ जना छन्।
उपत्यकामा पनि संक्रमित संख्या बढ्दै गएकाले थप जोखिम निम्तिएको भन्दै मन्त्रालयले सचेत रहन आग्रह गर्दै आएको छ। जसमा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुन मन्त्रालयको सुझाव छ।
पछिल्लो समय सार्वजनिक सवारीसाधन समेत चल्न थालेको थप सतर्कता अपाउन मन्त्रालयले अपिल गरेको छ। सकेसम्म अत्यावश्यक कामबाहेक सार्वजनिक सवारीमा यात्रा नगर्न भनिएको छ। विज्ञहरूले समेत सार्वजनिक सवारीमा यात्रा गर्दा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न र ठूलो स्वरमा कुरा नगर्न सुझाएका छन्।