पछिल्लो समय कोरोना संक्रमितको संख्या कम देखिँदै गएपछि नेपालमा संक्रमणको जोखिम कम हुँदै गएको हो कि भन्ने आकलन हुन थालेको छ।
यो कुरालाई पछिल्लो एक साताको संक्रमण दरले पनि थप जोड दिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा जम्मा ९२३ जना कोरोना संक्रमित थपिएका छन्। तर ३ हजार ६ सय ३२ जना निको भएर घर फर्किएका छन्। अर्थात् कोरोना संक्रमित हुनेभन्दा निको हुने चार गुणा बढी देखिएको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, 'नेपालमा कोभिड-१९ को जोखिम कम हुँदै गएको छ तर मानिसहरूले तोकिएको नियम पालना नगरे फेरि संक्रमण ह्वात्तै बढ्नसक्छ। त्यसैले सबै जना सतर्क हुनुपर्यो।'
उनले विदेशबाट आएकाहरू सबैलाई क्वारेन्टिनमा राख्न सकिएकाले संक्रमण संख्या कम हुँदै गएको बताए।
उनले सेतोपाटीसँग भने, 'पहिले क्वारेन्टिनमा राख्न सकिएन होला तर अहिले सबैलाई राखेका छौं। विदेशबाट आउने संख्या पनि कम हुँदै गएकाले संक्रमण दर कम देखिएको हो।'
उनले अहिले दैनिक २५ सय व्यक्ति विदेशबाट आइरहेको जनाए।
उनले विदेशबाट आउनेबाहेक समुदायमा रहेका व्यक्तिहरूको पनि परीक्षण गरिएको बताए।
'हामीले समुदायमा संक्रमण पत्ता लगाउन ४ हजार ८ सय जनाको परीक्षण गर्दा जम्मा तीन जनामा संक्रमण देखिएको छ। अब यसले पनि समुदायमा संक्रमण फैलिनसकेको भन्ने प्रस्ट पार्छ नि,' डा. गौतमले भने।
मन्त्रालयका विज्ञ सल्लाहकार डा. रोशन पोखरेलले पनि संक्रमित संख्या घट्दै गएकाले राम्रो संकेत देखिएको बताए।
उनले शुक्रबारमात्र काठमाडौंमा एक हजार जनाको परीक्षण गर्दा कुनै पनि व्यक्तिमा संक्रमण नदेखिएको भन्दै समुदायस्तरमा संक्रमण फैलिएको संकेत अहिलेसम्म नआएको बताए।
'हामीले दुई हप्तामा समुदायमा रहेका ४५ हजार जनाको परीक्षण गर्ने भनेका छौं। अहिलेसम्म ५ हजार बढीको परीक्षण भइसकेको छ। त्यसमा पनि केही व्यक्तिमा मात्र संक्रमण देखिएको छ,' डा. पोखरेलले भने।
उनले त्यसरी परीक्षण गरिने समूहमा बैंकहरूका सेवाग्राही, स्वास्थ्यकर्मी, दीर्घरोगी र ६५ वर्ष माथिका वृद्धवृद्धा रहेको जनाए।
परीक्षण गर्दा बढी भीडभाड हुने ठाउँलाई लक्षित गरिएको उनी बताउँछन्।
केही विज्ञहरूले सरकारले संक्रमणको स्थितिबारे ढाँट्यो भन्ने आरोप लगाएको भन्दै उनले अहिलेको स्थिति त्यस्तो नरहेको जिकिर गरे। अबको चुनौती भनेकै अहिलेको संख्यालाई माथि उक्लिन नदिने र कम गर्दै लैजाने रहेको उनको तर्क छ।
त्यसको लागि सरकारले बाहिरबाट आउने व्यक्तिहरूमाथि कडा निगरानी राख्नुपर्ने उनको जोड छ।
'संक्रमण बाहिरबाट नै आउने हो। त्यसैले सीमामा थप कडाइ गर्नुपर्छ। भारत र विदेशबाट आउनेमाथि विशेष ध्यान दिनुपर्छ,' उनले भने।
अहिले मन्त्रालयले पनि स्थलमार्ग र हवाइमार्गबाट आउने माथिलाई नै केन्द्रमा राखेर परीक्षण नीति तय गरिएको छ।
अब हवाइमार्गबाट आउने व्यक्तिलाई पाँच दिन होल्डिङ सेन्टरमा राखेर अनिवार्य पिसिआर परीक्षण गरिने भएको छ।
यसअघि भने विदेशबाट आएका व्यक्तिहरूले उतैबाट पिसिआर रिपोर्ट ल्याएर आए सम्बन्धित प्रदेशमा पठाइने भनिएको थियो।
डा. पोखरेलले भने, 'उताबाट पिसिआर नेगेटिभ आए पनि जहाजमा संक्रमण सर्ने खतरा देखियो। त्यसैले होल्डिङ सेन्टरमा राखेर सबैको परीक्षण गर्ने भनिएको हो।'
यस्तै, भारतबाट आउनेलाई पनि अनिवार्य परीक्षण गर्ने भनिएको छ। यसअघि मन्त्रालयले भारतबाट आएकालाई क्वारेन्टिनमा राख्ने र त्यसमा लक्षण देखिएमात्र परीक्षण गर्ने गरेको थियो। लक्षणविहीन व्यक्तिहरूलाई भने यतिकै होम-क्वारेन्टिनमा भन्दै घर पठाइयो।
'अब भारतबाट आएकाहरूको तुरून्त परीक्षण गर्न स्वाब लिएरमात्र सम्बन्धित क्वारेन्टिनमा पठाउँछौं। ट्राभल हिस्ट्री छ भने लक्षणविहीनलाई पनि परीक्षण गर्छौ,' डा. पोखरेलले भने।
उनले क्वारेन्टिनबाट कतिपयलाई यसै घर पठाइएको र पछि फर्काइएको घटना पनि रहेको भन्दै अब १४ दिन क्वारेन्टिनमा राखेर अनिवार्य परीक्षण गरिने बताए।
उनले भने, 'अछाममा यस्तै घटना भयो। धन्न उहाँहरूलाई फर्काएर परीक्षण गर्दा पनि संक्रमण देखिएन।'
अहिलेको संक्रमणलाई नियन्त्रण र कम गर्दै लैजान टेस्टिङ र ट्रेसिङ नै महत्वपूर्ण रहेको उनी बताउँछन्।
अब दुई सातापछि ४५ हजार जनाको परीक्षणको नतिजा आएपछि अर्को रणनीति कस्तो तय गर्ने भन्ने टुंगो लाग्ने उनको भनाइ छ।
अहिलेसम्म संक्रमण समुदायस्तरमा फैलिएको संकेत नदेखिएको बरू दैनिक संक्रमित संख्या कम हुँदै जानुले सुरक्षित अवस्थातिर अघि बढिरहेको उनको बुझाइ छ।
तर यसअघि मन्त्रालयले नै साउनको अन्तिमसम्म ४० हजार कोरोना संक्रमित पुग्ने प्रक्षेपण गरेको थियो।
'हामीले संक्रमित संख्या ८९ हजार वा ४० हजार पुग्छ भनेर प्रक्षेपण गरेका थियौं। अब त्यो भन्दा कम देखिन्छ भने त खुसीको कुरा हो नि,' डा. पोखरेलले भने।
शुक्रबार पनि साढे चार हजारको परीक्षण गर्दा जम्मा १०१ जनामा संक्रमण देखिएको छ।
सरकारलाई कोरोना नियन्त्रण र उपचारमा सल्लाह दिने विज्ञ टोलीमा समेत रहेका मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला पनि संक्रमण अहिले नै समुदायमा व्यापक भइनसकेको बताउँछन्।
उनले अधिकांश संक्रमण भारत र विदेशबाट आएकामा देखिएको भन्दै अब भित्रिने त्यस्ता व्यक्तिहरूलाई क्वारेन्टिनमा राख्ने र परीक्षण अनिवार्य गरे संक्रमणलाई नियन्त्रण गर्न सहज हुने बताए।
'भारतबाट आउने संख्या घटेकाले यहाँ पनि संक्रमण घट्नु स्वभाविक हो। भारतबाट आएकामध्ये १२ प्रतिशतमा संक्रमण देखिएको छ। त्यसैले अब आउनेहरूलाई व्यवस्थित क्वारेन्टिनमा राख्न सकियो भने संक्रमणलाई यतिमै राखेर नियन्त्रण गर्न सकिन्छ,' उनले भने।
विज्ञ समूहमै रहेका अर्का एक जना चिकित्सकले भने अहिले पनि समुदायमा संक्रमणको अवस्था कस्तो छ भन्ने यकिन नभएकाले अहिले नै हामी सुरक्षित अवस्थातिर अगाडि बढेको भन्न नहुने बताउँछन्।
उनले कति मानिसहरू क्वारेन्टिनमा नबसेर सिधैं घर गएको र कतिको परीक्षण हुन नसकेको भन्दै त्यस्ता व्यक्तिले समुदायमा संक्रमण सारेन भनेर भन्न नसकिने जनाए।
'त्यसैले अहिलेको संक्रमण अवस्थालाई नियन्त्रण गरेर घटाउँदै लैजाने हो भने विदेशबाट आएकाले व्यवस्थित क्वारेन्टिनमा राखेर अनिवार्य पिसिआर परीक्षण गर्नुपर्छ। उनीहरूलाई समुदायको सम्पर्कमा जोखिम मोलेर जान दिनुहुन्न,' उनले भने, 'योसँगै समुदायको पनि जिम्मेवारी छ। यसका लागि तोकिएको नियम पालना गरिएन भने हप्ता दिनमै संक्रमण ह्वात्तै बढ्नसक्छ। त्यसैले यो कुराको तालमेल हुन महत्वपूर्ण छ।'
त्यस्तै, टेस्टिङ र ट्रेसिङ कार्यलाई चुस्त बनाउनुपर्ने उनको जोड छ।
दसैं नजिकिँदै गर्दा भारतलगायत तेस्रो मुलुकबाट पनि फेरि ठूलो संख्यामा नेपालीहरू स्वदेश आउने भन्दै त्यस्ता व्यक्तिको टेस्टिङ र ट्रेसिङ प्रभावकारी गर्नुपर्ने उनको सुझाव छ।
उनले सरकारले अझै समुदायस्तरमा गएर लक्षित समूहहरूको व्यापक परीक्षण गर्नुपर्ने बताए।
'अझै समुदायमा गएर परीक्षण बढाउनुपर्छ। जेष्ठ नागरिक, दीर्घरोगी, अस्पतालका स्वास्थ्यकर्मी, भीडभाड हुने ठाउँहरूमा परीक्षण गर्नुपर्छ। सरकारले पछिल्लोपटक गर्छु पनि भनेको छ तर त्यो कति प्रभावकारी हुन्छ, त्यो हेर्न बाँकी छ,' उनले भने।
संक्रमण रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने संक्रमणको जोखिम कम नभएको दाबी गर्छन्।
उनले सेतोपाटीसँग भने, 'समुदायमा स्रोत नभएका व्यक्तिहरूलाई संक्रमण देखिएको छ। ट्रेसिङको काम चुस्त हुन सकेको छैन। कति संक्रमित स्वास्थ्यकर्मीलाई नै फोन आएको छैन। त्यसैले अधिकांशको स्रोत भेटिएको छ भन्ने कुरा गफ हो।'
संक्रमित संख्या कम देखिए पनि परीक्षण सही तरिकाले सही ठाउँमा हुन नसकेको हो कि भन्ने देखिएको उनको तर्क छ।
'जाल नै सानो फालेपछि माछा पनि कम पर्छ। अहिलेको परीक्षण त्यस्तै भएको हो कि! अथवा जाल फलाइ नै गलत भयो' डा. सुवेदीले भने, 'स्रोत नभेटिएको व्यक्तिहरूलाई संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकाहरूलाई पनि समयमा फोन जाँदैन। पाँच दिन पछाडि फोन जाँदा त त्यो व्यक्तिले परिवारका सदस्यालाई सार्न सम्भावना हुन्छ नि। त्यसैले संक्रमण भित्रभित्रै फैलिरहेको छ भन्ने देखिन्छ।'
उनले अन्य देशको परिस्थिति यहाँ नदेखिए पनि अहिले नै जोखिम कम नभएको बताए।
उनले भने, 'अन्य देशमा जस्तो सडकमा मान्छे लडेको स्थिति छैन। अस्पतालहरू भरिभराउ भएको छैन। तर समुदायमा संक्रमण कम छ भन्ने हैन।'