पहिरोले भासिएर अवरूद्ध भएको साँफे-मार्तडी सडक १३ दिन बित्दा पनि खुल्न सकेको छैन।
माथि बस्ती र तल नदी रहेको बाजुराको बुढीगंगा नगरपालिका-१ द्धारीमा भासिएको झन्डै सय मिटर सडक दुई साता बित्न लाग्दा पनि बन्न नसकेको हो।
सोही सडकको मर्मत गर्ने र वैकल्पिक सडक बनाउने दुबै प्रयास गरे पनि सफल नभएको सडक कार्यालयले जनाएको छ।
बाजुराको सदरमुकाम जोड्ने मुख्य सडक अवरूद्ध हुँदा जिल्लावासीलाई समस्या भइरहेको छ।
बाजुराभित्र र अन्य जिल्लासमेतमा आवागमन, औषधी उपचारका लागि एम्बुलेन्स चलाउन, दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा अवरोध भएपछि स्थानीयलाई समस्या परेको हो।
बुढीगंगा नगरपालिका-३ का मदन बिकले ढुवानी नहुँदा बजारमा महंगी बढेको बताए। औषधि उपचार गर्न जान परे पनि समस्या हुन थालेको उनको भनाइ छ।
बडिमालिका नगरपालिका-६ की कल्पना बिकले मार्तडी बजारमा ट्रकको सामान ओसार्ने मजदुरलाई समेत समस्यामा परेको बताइन्।
पहिरो र सडक भासिने गरेकाले सोही सडक मर्मत हुन नसकेको बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले बताए।
सडक विभागले बाटो खोल्न ११ दिनदेखि काम गरिरहेको भए पनि तत्काल बाटो खोल्न नसकिएको गैह्रेको भनाइ छ।
सडक मर्मत गर्दागर्दै फेरि पहिरो आएकाले काम रोकिएको उनले जानकारी दिए।
अस्थायी वैकल्पिक सडक खोल्ने विषयमा अध्ययन भइसकेको भए पनि त्यो पनि हुन नसकेको गैह्रेले बताए।