'टौदह परिसरमा पर्यटन पूर्वाधार विकास' परियोजना अध्ययनका लागि कीर्तिपुर नगरपालिकाले सुझाव मागेको छ।
धार्मिक पर्यटन बढाउने उद्देश्यले टौदह परिसरमा पानीको फोहोरा, करकटेश्वर महादेवको मन्दिर, पाटिपौवा, पुल, टौदह प्रतीक चिह्न लगायत पूर्वाधार निर्माण गर्ने प्रस्ताव नगरपालिकाले गरेको हो।
यी संरचनाले यहाँको प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रणालीबीच के–कस्तो प्रभाव पार्छ?
नजिकैका वडा कार्यालय, स्कुल, अस्पताल, स्वास्थ्य चौकी, सरोकारवाला व्यक्ति तथा संस्थाबाट सकारात्मक र नकारात्मक दुवै प्रतिक्रिया आएको मेयर रमेश महर्जनले जानकारी दिए।
'हामी प्रारम्भिक वातावरण परीक्षणको रिपोर्ट कुरिरहेका छौं,' उनले भने, 'रिर्पोट आएपछि बल्ल काम सुरू हुन्छ।'
रिपोर्ट आउन केही समय लाग्ने भए पनि हामीले यी संरचना निर्माणले के–कस्ता असर पुर्याउँछन् भनेर विज्ञहरूसँग कुराकानी गरेका छौं।
ललितपुरका विशाल गौतम 'वाइल्ड-लाइफ' फोटोग्राफर हुन्। करिब १० वर्षदेखि उनी टौदह पुगेर चराहरूका फोटो खिचिरहेका छन्। त्यहाँ हरेक डिसेम्बरदेखि फेब्रुअरीसम्म साइबेरियाबाट बसाइसराइ गरेर चराहरू जाडो छल्न आउँछन्। यी चरा रूडि डक र करमोरान्ट नामका हुन्।
'त्यो बेला यहाँ पनि जाडै हुन्छ तर उनीहरूका लागि यो चिसो केही होइन। साइबेरियामा यहाँभन्दा कठ्याङग्रिँदो ठन्डी हुन्छ,' उनले भने, 'उनीहरू तिब्बतमा अन्डा पार्छन्। सगरमाथाभन्दा माथि उचाइमा उडेर यहाँ आउँछन् र फर्कने बेला आफ्ना बच्चा लिएर जान्छन्।'
यहाँ गर्मी समयमा आउने चराहरू झन् धेरै छन्। करिब ४० प्रजातिका चरा 'रेकर्ड' भएका छन्। तिनमा ग्रे हेडेड ल्यापविङ, कमन टिल, युरासियन विगन डक लगायत हाँस प्रजाति बढी छन्। यिनीहरू नजिकैको भारत, भुटान लगायत देशबाट आउँछन्। अचेल भने यसरी चरा आउने क्रम घट्दै गएको गौतम बताउँछन्।
'दुई–तीन वर्षअघि पोखरी वरिपरि पर्खाल, बाटो, रेस्टुरेन्ट लगायत संरचना बनाइयो। ती अप्राकृतिक संरचनाले नै धेरै समस्या ल्याइसक्यो,' उनले भने, 'काठमाडौंमा त्यही एउटा ठाउँ छ जहाँ बसाइसराइ गरेर आएका चरा बस्छन्। नभए अरू सबै हेटौंडा, चितवन, कोशीतिर जान्छन्। अब फाउन्टेन लगायत संरचना बनाउने हो भने चरा नआउने सम्भावना छ।'
टौदह चरा पर्यटनका लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो। यसलाई पर्यटनमैत्रीभन्दा पर्यावरणमैत्री बनाउन जरूरी छ।
हरेक पर्यटकीय क्षेत्रमा डुंगा र पानीको फोहोरा राख्नै पर्ने मानसिकता त्याग्नुपर्नेमा जोड दिँदै गौतमले भने, 'लुम्बिनीको जगदिशपुर तालमा पनि धेरै चरा आउँथे। पर्खाल-फाउन्टेन राखेर, डुंगा चलाउन थालेपछि घट्न थाले। अहिले बल्ल उनीहरूलाई गलत गरेछौं भन्ने चेत आउँदैछ। हामीले त्यहाँबाट पाठ सिक्न जरुरी छ।'
टौदहकै हाँसबाटै प्रेरित भएर लेखक संजीव उप्रेतीले दोस्रो उपन्यास 'हंस' लेखे। उनी पहिलो उपन्यास 'घनचक्कर' को 'रिभाइज' गर्न र लेख्ने ऊर्जा खोज्दै बेलाबखत टौदह पुग्थे। उनले त्यहाँ दुई प्रकारका हाँस देखे- उड्न नसक्ने स्थानीय हाँस र उडेर आउने विदेशी हाँस।
'घनचक्कर' सहरी परिवेशमा लेखिएको छ भने हंस प्रकृतिको। पहिलो उपन्यास सन् २००५ तिर प्रकाशित भएको हो। यसबीच १५ वर्षमा उनी दोस्रो उपन्यासका लागि टौहद पुगिरहन्थे। त्यस क्रममा उनले यहाँ भइरहेका परिवर्तन पनि देख्न पाए।
'यहाँ विभिन्न सिमेन्टका संरचना बनाइए जुन चरामैत्री छैन। यसले वरिपरिका मान्छेलाई आर्थिक सहयोग पुर्याउला तर चराहरूलाई असर पुग्छ,' उनले भने, 'हाम्रा विश्वदृष्टिहरू मानवकेन्द्रित मात्रै भए। हामीले जीवजन्तु र चराका बारेमा सोचेनौं, आफ्नै बारे मात्र सोच्यौं। मेरो उपन्यासको मूल सार पनि यही हो।'
टौदह पर्यावरणीय हिसाबले मात्र नभई ऐतिहासिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण पोखरी हो।
नेपाल भाषामा 'ट' भनेको सर्प र 'दह' भनेको ताल हो। किम्बदन्तीअनुसार मन्जुश्रीले डाँडा काटेर काठमाडौं उपत्यका बनाउँदा कर्कोटक नाग र अन्य जलचरहरू छटपटिएर बाहिर निस्कन खोज्दा यहाँ ताल बनाएर जम्मा गरिए। पछि नागरानी र कर्कोटकले जलभित्र झलमल्ल दरबार बनाए। अझै पनि उनीहरू टौहदको पिँधमा बस्छन् भन्ने जनविश्वासका कारण स्थानीयहरू यहाँ पौडी खेल्दैनन्।
त्यस्तै किम्बदन्ती उपन्यास हंसमा पनि छ। लेखक संजीव उप्रेतीले किताब लेख्ने क्रममा यहाँका कथा, किम्बदन्ती अध्ययन गरेका थिए।
उनको अध्ययनअनुसार महाभारतका भिमसेनले कोदालोले खन्दा यो ठाउँ पोखरी बन्यो रे। त्यो माटो फाल्दा परको पहाड बन्यो जसलाई 'किराँत पोल्ने पहाड' भन्थे, अहिले हामी 'ह्वाइट हाउस डाँडा' भन्छौं।
टौदहमा इनारै इनार छ भन्ने जनश्रुति पनि छ– एउटाभित्र अर्को इनार, अर्कोभित्र अर्को। इनारै इनार जाँदा अर्कै संसार पुगिन्छ रे। त्यो संसारमा यहाँ दिन हुँदा रात र यहाँ रात हुँदा दिन हुन्छ भनिन्छ।
सम्पदाविद् एवं उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीका अनुसन्धानकर्ता पद्मसुन्दर जोशी किम्बदन्ती पछ्याउने हो भने यो जुगौं जुग पुरानो पोखरी भएको बताउँछन्।
'हाम्रो बस्तीभित्र स–साना पोखरी देख्छौं जुन सामुदायिक काममा बढी प्रयोग हुन्छन्। टौदह मान्छेले बनाएको त्यस्ता पोखरी नभई प्राकृतिक रूपले आफैं बनेको उनले बताए।
'बरू पछि वरिपरि बस्ती बसाइन थाले। यो त काठमाडौं उपत्यका बन्नुभन्दा अगाडिको दह हो। प्राकृतिक रूपमा हेर्दा चम्पादेवी, चन्द्रागिरिबाट आउने पानी संग्रह गरेर सिमसारका रूपमा विकसित भएको ठाउँ हो टौदह। पर्यावरणीय हिसाबले जलचर र साइबेरियादेखि चरा आउने भएकाले काठमाडौं उपत्यकाको महत्वपूर्ण पोखरीमा पर्छ,' उनले भने।
उनी अहिले भएका विकासका कामहरू राम्रो मान्दैनन। पोखरी घेर्न बनाइएका पर्खाल, मानवीय गतिविधि, विभिन्न प्रजातिका माछा छाड्ने काम नगर्दा नै राम्रो भएको बताउँछन्।
'भिडभाड र मान्छेहरू जम्मा गर्दा वातावरणलाई राम्रो हुँदैन। मानवीय हस्तक्षेप नगर्दा नै राम्रो। बरू वरिपरि रूखहरू रोपेर हरियाली अनि शितल ठाउँ बनाइदिने हो भने चराचुरुंगी बस्ने ठाउँ हुन्थ्यो,' उनी भन्छन्।
कीर्तिपुर नगरपालिकाले टौदहमा पूर्वाधार विकासका लागि अघिल्लो वर्ष ३७ लाख रूपैयाँ छुट्याएको थियो। नयाँ बजेट भने प्रारम्भिक वातावरण परीक्षणको रिपोर्ट आएपछि छुट्याइने मेयर महर्जनले जानकारी दिए।
फोटोग्राफर विशाल गौतम भने नगरपालिकालाई सचेत गराउँदै भन्छन्, 'निजगढको त्यत्रो वन विनास गरेर एयरपोर्ट बनाउने रिपोर्ट पनि त्यही परीक्षणले नै निकालेको हो। रिपोर्ट कस्तो निकाल्छ भन्दा पनि कसरी निकाल्छ भन्ने हेर्न जरूरी होला।'
सबै तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी