चिनी कम रङ कडा– चिया पारखीहरू स्वादिलो चियाको पर्यायझैं यो वाक्यांश भनिरहेका भेटिन्छन्। चियाकै लागि परिचित 'चियावाला' मा धेरैले 'फर्माइस' गर्ने चिया पनि यही हुन्छ।
फिल्म निर्देशक एवं निर्माता गणेशदेव पाण्डेले खोलेको चिया पसल हो यो।
बागमती करिडोर, सिम्रिक एयरको ठ्याक्कै खोलापारि छ, चियावाला। सन् १९५६ देखिको पुर्ख्यौली पेसालाई करिब डेढ वर्षअघि गणेशले पुनः सञ्चालनमा ल्याएका हुन्। फिल्म 'मालतीको भट्टी', 'मञ्जरी' र 'गाँजाबाजा' निर्देशन गरिसकेका उनी यस अन्तरालमा भने 'चियावाला' को भूमिकामा देखिए।
फिल्मको सेटमा दैनिकजसो नयाँ पात्रसँग चिनजान बढ्थ्यो, चिया पसलमा विभिन्न क्षेत्रमा आबद्ध चिया पियक्कडहरूसँग चिनजान बढाए। व्यवसाय राम्रो चलिरहेको थियो, विस्तारका लागि नयाँ आउटलेट खोजिरहेकै बेला कोरोना महामारी आयो।
सरकारले लकडाउन गर्नु दुई दिनअघिबाटै चियावाला बन्द भयो। मान्छेसँग सामाजिक दुरी बनाउनुपर्ने समयमा भिडभाड हुने भएपछि गणेशले पसल सञ्चालन गर्न चाहेनन्।
करिब चार महिनापछि अघिल्लो शनिबारबाट भने चियावाला पुनः सञ्चालनमा आएको छ।
'पूरै धूलोमैलो थियो। कति सामान बिग्रिएका थिए त कतिको मिति सक्किएर फाल्नु पर्यो,' गणेशले सेतोपाटीसँग भने, 'हतारहतारमा सामान पनि राम्ररी नथन्काएकाले पानीले असर गर्यो। फूल–बिरूवा पनि मरे कति, झार पनि उम्रिएछ। चार महिनादेखि सरसफाइ नगरेको ठाउँ भग्नावशेषजस्तै भएको थियो। सफा गर्नै तीन–चार दिन लाग्यो।'
यो समय पसललाई सिँगारिने अवसरजस्तो पनि भएछ। रंगरोगन हुने मौका पायो। पुनः व्यवस्थापन गरेपछि ताजगी थपिएको छ।
लकडाउनको संकेत पाएर पसल बन्द गरी एक दिनअगाडि नै गणेश आफ्नो जन्मथलो बुटवल पुगेका थिए, जहाँ उनका आमाबुवा छन्।
सुरूमा चियावाला खुल्दा २९ थरि चिया थिए। अहिले मौसमअनुसारका 'भेराइटी' थपेका छन्। हाल करिब ५० थरि चिया पाउने पसलमा गणेशले बुवाको नामको 'घनश्याम चिया' पनि बेच्दै आएका छन्। यहाँ धेरैको रोजाइको चिया पनि यही हो।
बुटवलमा गणेशका बुवा घनश्यामले सानो काठको टंकीमा चिया पसल सुरू गरेका थिए। गणेश त्यही पसलमा जन्मिए। उनका अनुसार बुटवलको केन्द्रमै रहेको त्यो पसलको चिया निकै प्रख्यात थियो। दूध, चिनी र चियापत्ति मात्र हालेको असली चिया बनाउन गणेशले बुवाबाटै सिके।
पसलमा लेखिएको 'सन् १९५६ देखि सञ्चालित' को अर्थ भने हजुरबुवा यज्ञप्रसादको पालादेखि हो। गणेशले चियावाला सञ्चालन मितिलाई हजुरबुवाको पालादेखि नै जोडेका हुन्।
उनका हजुरबुवा पहाड घर स्याङ्जा, कारिकोटको एउटा पसलमा काम गर्थे। त्यो गाउँघरको सामान्य पसल थियो। दिनभर त्यहाँ बस्दा उनलाई चियाको तलतल लाग्न थालेछ। त्यहीँ एक कुनामा चिया पकाउन सुरू गरेछन्। त्यो चिया यति प्रख्यात भएछ, अरू मानिस पनि त्यो बाटो हिँड्दा उनीकहाँ चिया खान थालेछन्। हुँदाहुँदा पछि चियाको पसल नै खोले। त्यही पुर्ख्यौली पेसालाई सम्मान दिन गणेशले चियावाला खोलेका हुन्।
लकडाउनमा बुवा घनश्यामकै हातबाट दैनिक चिया खाने अवसर पनि गणेशलाई जुर्यो, 'बुवाले अलि लाइट चिया खानु हुन्छ, डाइबेटिज भएकाले चिनी खानु हुन्न। आफूलाई त्यस्तै बनाउनु हुन्थ्यो, मलाई भने मनपर्ने चिनी कम रङ कडावाला चिया बनाउनु हुन्थ्यो।'
बुवाआमासँग उनले यति धेरै समय बिताएको छुट्टिमा घर जाँदा वा दसैं–तिहारमा मात्र हो। त्यही पनि ती समयमा साथीभाइसँग डुल्ने, रमाइलो गर्नेमै समय बित्थ्यो। घरमा त कमै बस्थे। लकडाउन भएकाले बाहिर नजानुको विकल्प रहेन।
बिहानदेखि बेलुकीसम्म घरै रहँदा उनले चाल पाएछन्, 'ओहो! आमाबा त बुढो पो भएछन्। अनुहारका धर्साहरू खुम्चिँदै चाउरी पर्न थालेछन्।'
हामी जहिले पनि केही न केही गर्नुपर्छ मन्ने मान्यता लिएर हिँडिरहेका हुन्छौं। लकडाउनको सुरूआती दिनमा गणेशलाई पनि घर बस्दा छटपटी भयो। त्यसपछि भने आफैंलाई सम्झाएछन्– यो आराम गर्ने समय पो हो त!
त्यही बीच उनले कामको थकान र व्यस्तताका कारण छुटाएका फिल्म–किताबहरू हेरे, पढे। फिल्मको स्क्रिप्ट पनि लेखे।
लकडाउन अघिसम्म बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म गणेशको परिवारलाई चियावालामा फुर्सद हुन्थेन। यो फुर्सदले घाटा त पक्कै भयो।
तर पनि सकरात्मक हुँदै भन्छन्, 'अन्य कारणले भन्दा पनि संसारभर फैलिरहेको कोरोनाका कारण घाटा भएकाले अरूझैं मैले पनि स्वीकारेँ। अबका दिनमा नयाँ ऊर्जाका साथ कसरी काम गर्ने भन्नेमा बढी ध्यान दिन जरुरी होला।'
पहिले दैनिकजसो भिड हुने चियावालामा भौतिक दुरी ख्याल राख्दै अहिले लामो समयसम्म नबस्न आग्रह गरिएको छ।
'चिया पिउनुस् अनि जानुस्' भन्नु त छँदैछ, आफ्नो समूह र अर्कोसँग दुरी बनाउने कुरामा पनि ध्यान दिइएको छ। त्यसका साथै दिनको तीनपटक पसललाई 'स्यानिटाइज' गरिएको गणेशले जानकारी दिए।
संक्रमण जोखिमको समयमा यसरी नै पसल सञ्चालनमा सरकारले जोड दिनुपर्ने सुझाउँदै भन्छन्, 'मैले पनि आफ्नो घरको भाडा तिर्नुपर्छ। कर्मचारीलाई तिमीहरू पैसा नलेऊ भन्न सकिन्न। मसँग मैले दूध किन्ने किसानसम्म जोडिएका छन्। पसल नखोल्ने हो भने मलाई मात्र नभई उनीहरूलाई पनि गाह्रो हुन्छ। सुरक्षा ध्यानमा राखेर पसल खोल्नु नै अहिलेको विकल्प होला।'
चियावालाको डेढ वर्षे अनुभवले गणेश अर्को आउटलेट खोल्दा सहयोग पुग्नेमा आशावादी छन्। यसबीच उनले राम्रो चियापत्ति कहाँ पाइन्छ, बिक्रेतादेखि समयमै आफूले चाहेको दूध र अन्य सामग्री उपलब्ध गराउने व्यक्तिहरू चिने।
आफूले बनाएको चियाको मूल्यांकन गर्ने उनलाई माध्यम बन्थ्यो– ग्राहक दोहोर्याएर आएको छ भने वा उसले अर्कोपटक थप व्यक्ति ल्याएको छ भने।
उनले चियावालामा पनि परीक्षण–प्रयोग गरिरहे। कहिले एउटा भित्तामा रंगरोगन–चित्रहरू बन्थे त कहिले अर्को। कहिले यो सामान थपिन्थे त कहिले त्यो। यसै क्रममा 'शिपिङ कन्टेनर' बाट तयार एकतले पसलको क्षेत्रफल विस्तार गर्दै दुईतले बनाए।
यहाँ आउने चिया पियक्कडहरूले केही न केही परिवर्तन महशुस गरिरहून् भन्ने उनको चाहना हो, 'हाम्रो शरीर, समय, मौसम र संसारमै परिवर्तन भइरहेको हुन्छ। दैनिक काम गर्ने हामी र चिया पिउन आउनेलाई पनि यो ठाउँ सधैं ताजा लागोस् भन्ने चाहना हो। चियावाला आफैंमा एक्सपेरिमेन्ट हो भन्दा हुन्छ।'
परिवर्तनशील हुनु गणेशको स्वभाव पनि हो। एउटै कुरामा अडिएर बस्ने बानी नै थिएन।
१६-१७ वर्षमा उनले बुटवलको एक सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने अवसर पाएका थिए। त्यो कार्यक्रमपछि उनलाई रेडियोमा काम गर्ने प्रस्ताव आयो। बुटवल एफएममा काम गर्दै थिए, अर्कोमा जोडिए। कहिले यो रेडियो, कहिले त्यो। कहिले यो टिभी, कहिले त्यो। उनी एकै ठाउँ अडिनै नसक्ने। फिल्म बनाउन थालेपछि झन् फुक्काफाल। कहिले यो ठाउँ कहिले त्यो, कहिले यो फिल्म कहिले त्यो।
'चिया पसलमा लामो समय एकै ठाउँ बस्दा मेरो स्वभाव पनि केही फेरिएको छ। म एकदम अधीर, अशान्त, चञ्चल थिएँ। चियावालाले धैर्य सिकायो,' उनले भने।
लकडाउनमा गणेशले आगामी फिल्म 'मन कस्तुरी' को स्क्रिप्टमा काम गर्ने समय पाए। आफ्नो जीवनको विचलित समयमा आफैंलाई बुझ्ने मौका पाएको समयलाई यसमा चित्रण गरेका छन्।
लकडाउनकै समयमा उनको लेखन र निर्माण रहेको फिल्म 'चिनी कम रंग कडा' प्रदर्शनमा आएको छ। फिल्म अनलाइन प्लेटफर्म अमेजन प्राइमबाट प्रदर्शनमा आएको हो।
गणेशलाई लाग्छ– हामी धेरैको जीवनमा कडा भाव धेरै र मिठास कम छ। फिल्ममार्फत् उनले यही कुरा प्रस्तुत गर्न खोजेका छन्।
चियावाला खुलेदेखि भने आफ्ना जीवनका कडा भावहरू मिठासमा बदलिरहेको अनुभव गणेशले गरिरहेका छन्, 'जीवन सरल र सहज भएको छ। आफ्नो ऊर्जालाई राम्रो ठाउँमा लगाउन पाएको महशुस हुन्छ। आफैंलाई बुझ्ने मौका पाइरहेको छु।'