दार्चुलामा पहिरोमा पुरिएर ६ वर्षीया छोरीसहित आमाको मृत्यु भएको छ।
नौगाढ गाउँपालिका वडा नम्वर-६, परिगाउँमा गएराति आएको पहिरोमा परि ३५ वर्षीया मानमती ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको हो।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले पहिरोमा वेपत्ता भएका आमाछोरीको शव भेटिएको बताए।
उनले पहिरोमा परि चार जना घाइते भएको, एउटा विद्यालय भवन सहित चार घर बगाएको र एक दर्जन घरमा क्षति पुगेको जानकारी दिए।
पहिरोमा केही पशुचौयापा समेत पुरिएका छन्।
महाकाली नगरपालिकाको वडा नम्वर ३ स्थित धौलीगाढमा बाढी आएपछि स्थानीय सडक अवरुद्ध भएका छन्।
सोही नगरपालिकाको वडा नम्बर ५ मा पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि दार्चुला सदरमुकाम खलगासंगको सडक सम्पर्क टुटेको प्रमुख जिल्ला पोखरेलले बताए।