बाढीले अवरूद्ध पृथ्वी राजमार्ग तत्काल नखुल्ने भएपछि हेलिकप्टरबाट बिरामीलाई उद्धार गरिएको छ।
धादिङ र चितवनको सीमाना मौवाखोलाबाट मंगलबार बिरामीलाई काठमाडौं ल्याइएको हो।
ती बिरामी सोमबार बिहानदेखि मौवाखोला नजिक सडकमै थिए।
मंगलबारको बाढीले मौवाखोला पुलको धादिङतर्फ करिब १५ मिटर सडक बगाएपछि सडक अवरूद्ध छ।
‘सिम्रिक एयरबाट बिरामीको उद्धार गरी काठमाडौं लगिएको छ,’ चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सेतोपाटीसँग भने।
ती बिरामी गोरखा पालुङटारका हुन्।
पृथ्वी राजमार्गमा खसेको पहिरोका कारण सडकमार्गबाट काठमाडौं आउन तत्काल सम्भव नभएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले आज दुइटा हेलिकप्टरले उडान अनुमतिका लागि सिफारिस मागेको जानकारी दिए।
‘राजमार्गमा रोकिएका बिरामीहरू उद्धार गर्न अनुमति माग भएकोमा गृहमा सिफारिस दिएका थियौं,’ प्रजिअ भट्टराईले सेतोपाटीसँग भने, ‘दुइटा एम्बुलेन्समा रहेका बिरामीको आज उद्धार गरी काठमाडौं लगिएको छ।’
उनीहरू दम र प्यारालाइसिसका बिरामी रहेको आफूलाई जानकारी आएको पनि उनले बताए।
ती बिरामीको सडकमा रोकिएको २४ घण्टाभन्दा बढी समयपछि उद्धार गरिएको हो।
चितवनका सहायक प्रजिअ शर्माका अनुसार बाढीपहिरोले राजमार्ग अवरूद्ध भएपछि सोमबार र मंगलबार हेलिकप्टरबाट बिरामी र बैंकका कर्मचारीको उद्धार भएको जानकारी दिए।
‘सानिमा बैंकका कर्मचारी पनि हेलिकप्टरबाट काठमाडौं गए। उनीहरू चढेको गाडी पनि पहिरोमा परेको भन्ने जानकारी प्राप्त छ,’ शर्माले भने, ‘आज सिम्रिक र कैलाश एयरबाट उनीहरूको उद्धार भएको हो।’
मंगलबार चितवनबाट गोरखामा एक जनाको शव लगिएको शर्माले जानकारी दिए।
नारायणगढ-मुग्लिन सडकखण्ड पहिरोले अवरूद्ध भएकोले हेलिकप्टरबाट शव लैजानु परेको हो।
मुग्लिन-नारायणगढ सडकखण्ड आज बेलुकीसम्म खुला हुने उनले बताए। ‘पहिरो पन्छाएर सडक खुलाउने काम तीव्र गतिमा भइरहेको छ,’ सहायक प्रजिअ शर्माले भने।
मौवा खोलामा पनि ग्याबियन भरेर सडक खुलाउने प्रयास गरिएको उनले जानकारी दिए।
‘करिब २ सय जना जति परिचालन गरेर ग्याबियनमा ढुंगा भरेर मौवाखोला सडक खुलाउने तयारी छ,’ शर्माले भने।
यो पनि:
पृथ्वी राजमार्गमा बाढीको बितण्डा! (फोटो फिचर)
मुग्लिन-नौबिसे सडकखण्डमा दुई सय बढी पहिरो