सामान्य विवादलाई लिएर खप्तड छान्ना गाउँपालिकाको वडा नम्वर ४ माझीगाउँ र वडा नम्वर ३ मेल्डतडीका स्थानीयबीच झडप भएको थियो।
भाला र हसियासहित हानाहान गर्ने मेल्तडीका धिरज रावल र माझीगाउँका अटल रोकाया पक्राउ परेका छन्।
दुई गाउँका स्थानीयबीच झडप हुँदा प्रहरी असई र एकजना वडा सदस्य घाइते भएका छन्। विवाद मिलाउन छलफल भइरहेको ठाउँमा दुबै गाउँका स्थानीय युवाहरुसहित आएका उनीहरुले हानाहान गर्दा छान्ना प्रहरी चौकीका असई रामबहादुर वम र वडा नम्वर ३ की सदस्य सुपारी रावल घाइते भएकी हुन्।
आइतबार माझीगाउँका केटाकेटीलाई मेल्तडीमा एक महिलाले पिटेको विषयमा दुई गाउँका अभिभावकहरुबीच विवाद भएको थियो।
सोमबार सो विषयमा प्रहरीले दारगाउँमा दुबै गाउँकालाई बोलाएर छलफल गर्न खोज्दा भाला, हसिया र ढुङ्गासहित आएका दुबै गाउँका युवाहरुले हानाहान गरेको छान्ना प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भुवनसिंह बोहराले बताए।
युवाहरुबीच भारतमा काम गर्दा पुरानो रिसिबी भएकै कारण झगडा भएको अनुसन्धानबाट खुल्न आएको बोहराले बताए। छुटाउने क्रममा असईको हातमा ढुंगा लागेर घाइते भएको उनले बताए।
यस्तै वडा नम्वर ३ की सदस्य सुपारी रावल पनि टाउको र पिठ्युमा ढुंगाले लागेर घाइते भएकी छन्। उनीहरु मेल्तडी स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डिस्चार्ज भएका छन्।
हानाहानमा प्रहरी नै घाइते भएपछि शशस्त्र प्रहरीको टोली आएर दुवै पक्षलाई आ आफ्नो घर पठाएको थियो।