स्याङ्जाको गल्याङ नगरपालिका १० गाउँस्वारामा बुधबार बिहान आएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
पहिरोमा परी स्थानीय ५२ वर्षीय माया सारूको मृत्यु भएको हो। पहिरोमा परेर उनकी २० वर्षीय छोरी नारायणी सारू घाइते भएकी छन्। नारायणीलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपश्चात थप उपचारका लागि पोखरा पठाएको स्याङ्जा प्रहरी प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताए।
पहिरोका कारण अवरूद्ध सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड सुचारू भएको छ। राजमार्गको वालिङ १३ बयालटारीमा २ ठाउँमा बुधबार बिहानै पहिरो झरेको थियो। उक्त पहिरो तत्काल हटाएको प्रहरीले जनाएको छ। यस्तै, राजमार्गकै पुतलीबजार ११ करेन्टडाँडामा पहिरो झरेर अवरूद्ध सडक पनि खुलाएको छ। राजमार्गको पाल्पा खण्डमा गएको पहिरो भने हटाउने क्रम जारी रहेको डिएसपी अधिकारीले बताए।
सिद्धार्थ राजमार्गमै बुधबार बिहान जीपबाट खस्दा एक जना घाइते भएका छन्। भिरकोट नगरपालिका ४ छाङछाङ्दीस्थित राजमार्गमा ग १ ज ७४४५ नम्बरको जीपको पछाडिबाट खस्दा पाल्पाको रम्भा गाउँपालिका ४ बस्ने १६ वर्षीय मनबहादुर सारू घाइते भएका हुन्। उनलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा पठाएको डिएसपी अधिकारीले बताए।