धनगढीमा गर्भवती र बिरामी महिलालाई राख्नको लागि होल्डिङ सेन्टर र आइसोलेसन बनाइएको छ।
धनगढी उपमहानगरपालिकाले वडा नम्बर-१ स्थित बी पोलिटेक्निकमा नमूना महिला होल्डिङ सेन्टर र आइसोलेसनको स्थापना गरी बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो।
धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले महिला होल्डिङ र आइसोलेसन सेन्टरमा कोरोना पोजिटिभ र नन-पोजेटिभ गरी दुई प्रकारले व्यवस्थापन गरिने बताए।
उनले होल्डिङ सेन्टरमा कोरोना नलागेका गर्भवती, सुत्केरी र टाढाबाट आएका महिलालाई बस्न, सन्तुलित खाना र स्वास्थ्य सेवाको व्यवस्था मिलाइएको बताइन्।
त्यस्तै, आइसोलेसनमा कोरोना संक्रमित तर लक्षण नदेखिएका गर्भवती, सुत्केरी र महिलालाई छुट्टाछुट्टै बस्ने व्यवस्था गरिएको उनले जानकारी दिइन्।
मिश्रका अनुसार बिरामीसँग आएका आफन्त र केटाकेटीलाई समेत बस्ने तीन बेडको अलग्गै व्यवस्था मिलाइएको छ।
बालबालिकालाई खेल्ने सामग्रीसहित हल उपलब्ध रहेको छ।
सेन्टरमा रहेका महिलालाई अस्पतालसम्म आउन/जान एम्बुलेन्स सेवा र नियमित स्वास्थ्य जाँचको पनि प्रबन्ध मिलाइएको छ।
सेन्टरमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि पनि सुविधा सम्पन्न आवासको व्यवस्था गरिएको छ।
सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले जटिल अवस्थामा सेती प्रादेशिक अस्पताल आउने गर्भवती र सुत्केरी महिलालाई यसले मद्धत पुग्ने बताए।
उनले कोरोनाको जोखिम अन्यभन्दा सुत्केरी र गर्भवतीमा बढी हुने भएकाले महिला लक्षित यस्ता सेन्टर प्रदेशका अरु स्थानीय तहलाई पनि बनाउन सुझाव दिए।