सुदूरपश्चिमको कोरोना अस्पतालका रुपमा तोकिएको सेती प्रादेशिक अस्पतालमा पछिल्लो तीन दिनयता कोरोना संक्रमित उपचारका लागि आएका छैनन्।
त्यसअघि आएका सबै संक्रमित डिस्चार्ज भएको र नयाँ नआएपछि अस्पतालको कोरोना उपचार भवन खाली भएको छ।
अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले ४० शैयाको कोरोना उपचार भवनमा तीन दिनदेखि संक्रमित नरहेको बताए।
उनले आजसम्म उपचारका लागि आएका ७८ जना संक्रमित डिस्चार्ज भएको, एक जनालाई अन्यन्त्र रिफर गरिएको र एकजनाको मृत्यु भएको जानकारी दिए।
प्रदेशमा कोरोनाका संक्रमित देखिरहे पनि तीन दिन यता उपचारका लागि सेती अस्पताल नआएको उनले बताए ।
सेती प्रादेशिक अस्पतालमा अहिलेसम्म शंकास्पदसहित एक सय ७३ जनाको उपचार भएको छ।
सुदूरपश्चिममा ५६ जना कोरोना संक्रमित टिकापुर अस्पताल, मालाखेती अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पताल डोटी र जिल्ला अस्पताल अछामको आइसोलेसनमा छन्।
अरु सबै संक्रमित स्थानीय तहले बनाएका आइसोलेसन र होम आइसोलेनमै बसेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ। होम आइसोलेसनमा बस्दा स्वास्थ्य सुरक्षाका मापदण्डमा हुन सक्ने लापरबाहीले अरुलाई सार्न सक्ने जोखिम समेत बढेको छ।
यस प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको जम्मा संख्या चार हजार ४४ जना पुगेको छ । तीमध्ये ८ जनाको मृत्यु भएको छ भने दुई हजार दुई सय ३३ जना डिस्चार्ज भएका छन्।