कोरोना संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूले नै वीरगन्जमा संक्रमण समुदायस्तरमा फैलिएको बताएका छन्।
पछिल्लो समय कुनै ट्राभल हिस्ट्री नभएका विभिन्न क्षेत्रका मानिसलाई संक्रमण देखिएको भन्दै संक्रमण समुदायमा गएको उनीहरूको दाबी छ।
कोरोना उपचार गरिरहेको नारायणी अस्पतालका एक चिकित्सकले सेतोपाटीसँग भने, 'कर्मचारी, कामदार, विद्यार्थी, उद्योगी, स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी सबैलाई संक्रमण देखिएको छ। त्यसैले अहिले पर्सामा कोभिड-१९ समुदायमा गएको देखिन्छ।'
उनले पछिल्लो समय संक्रमितहरूमा देखिएको लक्षणको अवस्थाले पनि स्थिति थप जटिल बनाएको बताए।
पछिल्लो सातामात्र वीरगन्जमा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। तीमध्ये केहीको अगाडि नै संक्रमण पुष्टि भएको थियो भने केहीको मृत्युपछि संक्रमण पुष्टि भएको थियो।
नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले पछिल्लो समय पर्सामा कोरोनाको संक्रमण कडा रूपमा देखिएको बताए।
'डरलाग्दो कुरा त के छ भने पछिल्लो सातामा चार जनाको मृत्यु भएको छ। नयाँ संक्रमितहरूमा पनि ८५ प्रतिशतमा लक्षण देखिएको छ,’ उनले भने, ‘अधिकांशमा स्वाद र गन्ध थाहा नपाउने, ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको छ।'
उनले संक्रमितमध्ये तीन जना आइसियूमा रहेको र केहीलाई अक्सिजन दिएर उपचार गरिरहेको जानकारी दिए।
अब परीक्षणको दायरा थप व्यापक बनाउनु पर्ने उनको भनाइ छ।
आइतबार वीरगन्जका ४ सय जनाको स्वाब संकलन गरिएको थियो। परीक्षणको दायरालाई अझ बढाएर लैजानु पर्ने आवश्यकता रहेको डाक्टर उपाध्यायले बताए।
पछिल्लो समय धेरैमा ज्वरो, खोकी वा श्वासप्रश्वाससम्बन्धी लक्षण देखिएको भन्दै साँच्चिकै कोरोनाले नै गर्दा त्यस्तो भएको हो कि वा अन्य रोगले हो भन्ने कुरा अनुसन्धान हुनु आवश्यक रहेको उनले औंल्याए।
'यसको लागि तत्काल इपिडियोमोलोजिस्ट र अनुसन्धानकर्ताहरू आउनुपर्छ अनिमात्र स्थिति के हो भन्ने यकिन हुन्छ,' उनले भने।
जिल्लाका स्थानीय तहहरूले भने केन्द्र र प्रदेश सरकारले संक्रमण नियन्त्रणमा असहयोग गरेको गुनासो पोखेका छन्।
डाक्टर उपाध्यायले भने अहिलेको स्थिति जटिल रहेको भन्दै अहिले एकले अर्कालाई गरेन भन्नुभन्दा पनि सबैले मिलेर आ-आफ्नो तर्फबाट सक्दो काम गर्नुपर्ने बेला रहेको बताए।
'स्थिति जटिल छ। सबैले ध्यान दिनुपर्छ। अब 'ब्लेम गेम' गर्न छाडौं। अहिले एकले अर्कालाई दोष लगाउँदै काम नगर्ने हो भने पछि पुर्पुरोमा हात लाउनु पर्ने स्थिति आउँछ,' उनले भने।
वीरगन्ज महानगरपालिकाले पनि संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकालेको छ।
मेयर विजयकुमार सरावगीले सेतोपाटीसँग भने, 'संक्रमण समुदायमा गइसक्यो। संक्रमितहरूको कुनै ट्राभल हिस्ट्री छैन। पछिल्लो समय क्वारेन्टिनमा भएका व्यक्तिहरू भन्दा पनि बाहिर भएका व्यक्ति छन्।'
समुदायमा संक्रमण फैलिएको भन्दै अहिले महानगरले एक महिनाभित्र ५० हजार जनाको परीक्षण गर्ने तयारी गरेको छ।
'हामीले 'एक घर, एक जाँच' को नीति अगाडि बढाएका छौं। वीरगन्जमा ४० हजार घर छन्।
‘प्रत्येक घरबाट एक जनाको स्वाब संकलन गर्छौं,' मेयर सरावगीले भने, 'बाँकी १० हजार चाहिँ विभिन्न पसल गर्ने र भीडभाडमा घुलमिल हुने व्यक्तिको गर्छौं।'
उनले संक्रमण समुदायस्तरमा फैलिएको भन्दै 'मास टेस्टिङ' को परीक्षण नीति अघि सारेको बताए। जसका लागि आइतबारबाटै स्वाब संकलनको कार्य सुरू गरिएको उनी बताउँछन्।
त्यसरी सबै घरबाट एक जनाको परीक्षण गर्ने काम अघि बढाउँदा कसको स्वाब संकलन गर्ने टुंगो गर्न परिवारलाई नै जिम्मा दिइएको छ।
उनले भने, 'हामीले परिवारबाट कस्को स्वाब संकलन गर्ने भनेर उहाँहरूलाई नै टुंगो गर्ने जिम्मा दिएका छौं। उहाँहरूले जसको स्वाब भन्नुहुन्छ हामी उहाँकै नमूना संकलन गर्छौं तर हाम्रो उद्धेश्य भनेको सकेसम्म बाहिरी आवतजावत बढी हुने र बढी उमेर पुगेका व्यक्तिको संकलन गर्ने भन्ने हो।'
मेयर सरावगीले ५० हजारको परीक्षण गर्दा 'पुल टेस्टिङ' विधिबाट परीक्षण गरिने जनाए।
यो विधिबाट १० जना व्यक्तिको स्वाब एकै ठाउँमा राखेर परीक्षण गर्न सकिन्छ। जसले गर्दा प्रयोगशालाले क्षमता भन्दा बढी परीक्षण गर्नसक्छ। पुल टेस्टिङ विधिबाट दैनिक १४ सयको परीक्षण गर्ने महानगरको तयारी छ।
वीरगन्ज कोरोनाको सधैं उच्च जोखिममा रहे पनि यसको नियन्त्रणमा केन्द्र सरकारले कुनै चासो र सहयोग नदेखाएको मेयर सरवागीको गुनासो छ।
उनले भने, 'हामीले एक घर, एक जाँच गर्ने भनेर मन्त्रालयलाई पत्र लेख्यौं तर अहिलेसम्म त्यसको जवाफ आएको छैन। त्यसैले हामीले स्थानीय स्तरबाटै निर्णय गरेर हिजैबाट परीक्षण सुरू गरिसकेका छौं।'
अब ५० हजार जनको परीक्षणको नतिजा कस्तो आउँछ त्यसले समुदायमा संक्रमणको अवस्था कुन तहसम्म पुगेको यकिन हुने उनले बताए।
अहिले भने दैनिक एकचोटिमा १८ सय संक्रमितको व्यवस्थापन गर्ने गरी पूर्वाधार तयार पारिएको उनी बताउँछन्।
अब थपिने नयाँ संक्रमितहरूको व्यवस्थापन गर्नलाई महानगरले तीन वटा मोडल अघि सारेको छ।
मेयर सरावगीले भने, 'पहिलो लक्षण देखिएका संक्रमितलाई अस्पताल भर्ना गर्ने र लक्षणविहीन संक्रमित छ तर उसलाई घरमा बस्न समस्या छ भने विद्यालयमा रहेको आइसोलेसनमा राख्ने र तेस्रो भनेको लक्षणविहीन अवस्थाका घरमै बस्न मिल्ने संक्रमितलाई होम क्वारेन्टिनमै राख्ने भनेका छौं।'
वीरगन्जमा शनिबारमात्र ३२ जना व्यक्तिमा संक्रमण पुष्टि भएको थियो।
जसमा ट्राभल हिस्ट्री नभएका व्यक्ति, उद्योगी, स्वास्थ्यकर्मी र अन्य स्थानीय थिए।
सोही दिनदेखि जिल्ला प्रशासन कार्यालयले वीरगन्जमा अर्को सूचना जारी नभइन्जेल सम्मको लागि निषेधज्ञा जारी गरेको छ।
मेयर सरावगीले वीरगन्जमा बालबालिकामा संक्रमणको जोखिम बढ्नुमा सीमामा कडाइ हुन नसक्नु औंल्याएका छन्।
गएको तीन सातादेखि नै सीमाबाट अनधिकृत रूपमा मानिसहरूको दोहोरो आवतजावत भएको भन्दै यसले संक्रमणको जोखिम सधैं यथावत् रहने उनी बताउँछन्।
त्यसरी आउने व्यक्तिमा तस्करदेखि दैनिक उपभोग्य सामग्री खरिद गर्ने र घर फर्किने व्यक्ति रहेको उनले जनाए।
भारतमा संक्रमण बढिरहेको र यहाँ खुला सीमाबाट मानिसहरू अनधिकृत रूपमा ओहोरदोहोर गरिरहेको भन्दै यसलाई तत्काल रोक्नुपर्ने उनको जोड छ।
'सीमा पूरै लक गरेर संक्रमितलाई आइसोलेट नगर्ने हो भने वीरगन्जलाई नै खतरामुक्त गर्न सक्दैनौं,' उनले भने, 'वीरगन्जमा जोखिम बढ्नु भनेको सबैतिर जोखिम बढ्नु हो। यो कुरा सरकारलाई पनि थाहा छ किनभने यहाँबाट राजधानी लगायत धेरै ठाउँ जोडिएको छ।'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने वीरगन्ज, राजविराज र विराटनगरमा संक्रमण समुदायमा गइनसकेको जनाएको छ।
मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरमणि अधिकारीले भने, 'समुदायमा संक्रमण फैलिएको भनेर शंका गर्ने आधार हुनसक्छ। स्थानीयले पनि त्यही अनुसार भन्न पाइयो। तर मन्त्रालयले अरू विषयहरूमा पनि विश्लेषण गरिरहेको छ। अहिलेसम्म ती ठाउँमा संक्रमण समुदायस्तरमा गइसकेको भन्नेमा मन्त्रालयल पुगेको छैन।'
उनले ती ठाउँबाट आएका तथ्यांकहरूलाई विज्ञहरूले अध्ययन गरिरहेको भन्दै सबै कुरा पुष्टि हुँदै गए ती ठाउँमा संक्रमण समुदायस्तरमा पुगेको भनेर मन्त्रालयले घोषणा गर्ने बताए।