विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चार जनाको मृत्यु भएको छ। कुशे गाउँपालिका–१ स्याँक्रीका एकै घरका ४ जनाको मृत्य भएको हो। उक्त परिवारका एक बालकको सोमवार घरमै मृत्यु भएको थियो।
विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको थियो। सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार थप तीन जनाको पनि मृत्यु भएको हो।
साउन ९ गते जंगलबाट ल्याएको च्याउ खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए।
बिरामीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए। टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको गाउँँमै मृत्यु भएको थियो।
बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको डा. पौडेलले जानकारी दिए। ढिलोगरी अस्पताल ल्याएकोले च्याउको विषले धेरै असर गरिसकेको बाँच्न नसकेको उनले बताए।
टेकबहादुर, उनका ३० वर्षीय छोरा ललिते, ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको अस्पतालले जनाएको छ।