भारी वर्षाका कारण कैलालीका विभिन्न स्थानीय तहका केही वस्ती डुवानमा परेका छन्।
गएरातिदेखिको वर्षापछि नदिनालामा आएको बाढी वस्तीहरुमा पसेपछि डुवान भएको हो।
धनगढी उप–महानगरपालिकाको वडा नम्वर १ मा नालाको पानी घरमा पसेर आधा दर्जन घरमा क्षति पुगेको छ।
भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा कान्द्रा, काडा र पथरैया नदीको पानी वस्तीमा पसेपछि एक सय १० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
पानी पसेपछि घरमा रहेको अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएको छ। प्रभावितहरुलाई सुरक्षित ठाउँमा सारिएको कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए।
कैलालीको लम्कीचुहा, टीकापुर, भजनी र घोडाघोडी नगरपालिकाका केहि घर डुवानमा परेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
उनले बाढी र डुबानले पुगेको क्षतिको विवरण संकलन भइरहेको बताए।
उनले नदीहरूमा पानीको वहाव बढ्न थालेसँगै जिल्ला विपद् व्यवस्थापन समिति मातहतका सबै निकाय उद्धार र राहतको लागि तयारी अवस्थामा रहेको बताए।
लम्कीचुहा नगरपालिकाकी उपमेयर टीका थापाले नगरका वडा नम्वर १, ७ र ९ मा केही घर डुवानमा परेको बताइन्।
अहिले पनि कैलाली र कञ्चनपुरका धेरै ठाउँमा वर्षा भइरहेको छ।