बाजुराको बुढीनन्दा नगरपालिकाले र्यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) गरेवापत १ हजार ४ सय रुपैयाँ शुल्क लिने गरेको छ। नगरपालिकाको निर्णयअनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आरडिटी गर्नेले १ हजार ४ सय तिर्नु परिरहेको छ।
जहाजमा आवतजावत गर्नेहरुका लागि १ हजार ४ सय रुपैयाँ लिएर जाँच गर्ने गरिएको बुढीनन्दा नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीले बताइन्।
उनले यो व्यवस्था जहाजमा आवतजावत गर्नेहरुका लागि मात्र लागू हुने र अन्यलाई निशुल्क नै जाँच गरिरहेको बताइन्। नगरपालिकाले नै खरिद गरेको पाँच सय थान किटको पैसा परेअनुसार शुल्क लिनुपरेको उनले बताइन्।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर राजुराज जैशीले नगरपालिकाले रकम लिने निर्णय गरेअनुसार नै शुल्क लिएर जाँच गरिरहेको बताए।
बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने शुल्क लिन नपाउने भनिसकिएको बताए। उनले जुनसुकै तहको सरकार भए पनि कोरोना परीक्षणका लागि तोकिएको भन्दा अन्य संस्थाबाट शुल्क लिएर परिक्षण गर्न नमिल्ने बताए ।