भजनी नगरपालिका-८ का धिरज विश्वकर्मा नवलपुरदेखि मरियाघाट जाने सडकमा त्रिपाल हालेर बसेका छन्।
धिरजको परिवारसँगै सोही वडाका एक हजारभन्दा बढीले त्यही सडकमा पाल हालेर बसिरहेका छन्।
उनीजस्तै बाढीबाट प्रभावित भएर सडकमा बसिरहेका धेरैसँग बस्नलाई त्रिपाल पनि छैन।
मंगलबार रातिबाट परेको वर्षाले काँडा र कान्द्रा नदीमा आएको बाढी उनको बस्तीमा पसेको थियो।
बस्तीमा पसेको बाढीले कतिको घरको भित्ता त कसैको घर नै भत्केको उनले बताए।
‘घरभित्र पानी पसेपछि केटाकेटीको किताब-कापी, लुगाकपडा, रासन र अरू सामान भिजेका छन्,’ उनले भने,‘घर डुबानमा परेपछि बस्न सकेनौं। अहिले सडकमा छौं।’
एकाएक बस्ती डुबानमा परेपछि घरका सामान त्यहीँ छोडेर ज्यान जोगाउन बाढी पार गरेर सडकमा आएको उनले सुनाए।
उनकी ६० वर्षकी आमा र अन्य परिवारका सदस्यलाई सशस्त्र प्रहरीको टोलीले सडकसम्म ल्याउन मद्दत गरेका थिए।
नल्कामा जोडिएका पानी तान्ने मोटर, पावर टेलर, पुरानो त्रिपालजस्ता सामान मात्रै आफूसँगै सडकमै ल्याएको उनले बताए।
सामानसहित उनी र उनका तीन जना अरू परिवारका सदस्य राति त्रिपालमुनि नै बसे।
‘सानो पुरानो त्रिपालले रातिको पानी छेकेन। रातभरी बिझ्दै रात कटायौ,’ उनले भने।
घरमा डुबान हुनबाट बचाएको त्रिपालले काम चलेको कुरा उनले सुनाए।
उनकी डेढ महिनाको नाति र बुहारीलाई भने सामुदायिक भवनमा राखिएको छ। त्यो र क्लबको भवनमा सुत्केरी, गर्भवती, अशक्त र केटाकेटीलाई राखिएको उनले बताए।
त्यहाँ पनि साँघुरो भएपछि कतिपय केटाकेटी त्रिपालमै बसिरहेका छन्।
‘बालबालिका, गर्भवती महिला, अपांगता भएका र वृद्धवृद्धालाई त्रिपाल मुनि रात कटाउनु पर्दा धेरै गाह्रो भएको छ,’ उनले भने,‘थोरै रासन र ग्यास सिलिन्डर ल्याउन सकेकाहरूसँग मिलेर हिजो रातिको खाना खायौं।’
सडकमा बस्नेमध्ये अधिकांशसँग त्रिपाल नै छैन। भएकाहरूसँग पनि गतिलो त्रिपाल नभएपछि पानीमा भिज्दै बस्नु परेको छ। सबैभन्दा ठूलो समस्या शौचालयको छ।
खानेपानी, खाना र त्रिपाल नभएका कारण बाढीबाट प्रभावित र विस्थापित भएकाहरू पीडामा रहेको बताउँछन्।
सोही ठाउँका चन्द्रले तत्काल बस्ने र खानेको व्यवस्था मिलाउनु पर्ने बताए।
‘पानी परिरहेकोले कतिन्जेल सडकमा बस्नु पर्ने हो थाहा छैन,’ उनले भने, ‘पहिलेकै अवस्था फर्किन समय लाग्छ। त्यतिन्जेलसम्म हामीलाई सुरक्षित राखिदिनु पर्यो।’
ड्राइ फुड, त्रिपाल, खानेपानी नगरपालिकाले बाँडिरहेको भए पनि तत्काल सबै ठाउँमा पुर्याउन समस्या भइरहेको भजनी नगरपालिकाका नगर प्रमुख शेरबहादुर चौधरी बताए।
उनले नगरपालिकामातहतको विपद् व्यवस्थापन समितिले बेपत्ता भएकाको खोजी कार्य र डुबानमा फसेकाको उद्धारको काम गरिरहेको बताए। उनले पानी परिरहेकाले सबै ठाउँमा राहत सामग्री पुर्याउन नसकिएको बताए।
भजनी नगरपालिकाका ९ मध्ये ८ वडाका १२ सय घरधुरी डुबानमा परेको वडाध्यक्ष पंकज चौधरीले बताए।
उनका अनुसार तीमध्ये डेढ सय घर डुबानमा परेका छन्।
हालसम्म ३ सय घरधुरीका एक हजार बढी जनालाई सडकमा, विद्यालयको भवन, समुदायका भवनमा राखेको चौधरीले जानकारी दिए।
भजनीसँगै धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका, टीकापुर नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया गाउँपालिकालगायत स्थानीय तहका ६ हजार ३ सय घरधुरी बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशी जानकारी दिए।
उनका अनुसार प्रभावितमध्ये २ हजार घरधुरीहरू विस्थापित भएका छन्।
प्रभावित भएका केहीबाहेक अधिकांशलाई नेपाली सेना, सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेर सडक, विद्यालयमा राखिएको उनले बताए।
उद्धारपछि उनीहरूलाई खाना, त्रिपाल पनि वितरण गरिरहेको जोशीले जानकारी दिए।
बाढीमा परी कैलालीमा एक जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन्।
बुधबार घरनजिकैको कुलोमा बगेर बेपत्ता भएका भजनी नगरपालिका-८ का ११ वर्षीय स्केल चौधरीको आज शव फेला परेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
बेपत्ता हुनेमा सोही ठाउँका हेमन्त शाह, ईश्वर शाह र थप एकजना रहेका छन्। यस्तै जानकी गाउँपालिकाका ४४ वर्षका कोबी सुनार पनि बगेर बेपत्ता भएका छन्। उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।