विषालु च्याउको तरकारी खाएका जाजरकोटका थप एक जनाको मृत्यु भएको छ। कुशे गाउँपालिका-१ स्याक्रीका २१ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
उनीसहित विषालु च्याउ खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ। मृत्यु भएका सबै एकै घरका हुन्। यसअघि मंगलबार ३ जनाको प्रदेश अस्पतलमा नै उपचारका क्रममा मृत्यु भएको थियो। एक जनाको भने जाजरकोटस्थित घरमै मृत्यु भएको थियो।
साउन ९ गते जंगलबाट ल्याएका विषालु च्याउको तरकारी खाँदा टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी परेका थिए। तीमध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरूताको उपचारको क्रममा मंगलबार मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डाक्टर केएन पौडेलले जानकारी दिए।
टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो। विषालु च्याउ खाँदा बिरामी परेका थप ७ जनालाई उपचारका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको थियो।
टेकबहादुर चलाउने, उनकी ३० वर्षीया बुहारी कल्पना र छोरी पशुपति चलाउनेको उपचार भइरहेको अस्पतालले जनाएको छ।