नेपाली महिला सिनेकर्मीमाथि दुर्व्यवहार
फिल्म निर्मातासमेत रहेकी नायिका दीपशिखा सिंह खड्काले नेपाली सिने क्षेत्रमा काम गर्ने क्रममा आफूमाथि पनि दुर्व्यवहार गरिएको बताएकी छन्।
हाल दुबईमा पढ्दै गरेकी खड्काले बिहीबार बिहान सेतोपाटीसँग फोनमा कुरा गर्दै आफूमाथि पनि पटक-पटक दुर्व्यवहार भएको र दुर्व्यवहार गर्ने दुई जनालाई प्रहरीमा उजुरी गरेर हिरासतमा पठाएको बताइन्।
'सुरूसुरूमा को कस्तो भन्ने थाहा हुन्न। मलाई पनि केही मानिसले दुर्व्यवहार गरे। तर म छुच्ची छु, त्यतिबेलै जवाफ फर्काउन सक्छु,' उनले भनिन्, 'मैले २ जनालाई त प्रहरीमा रिपोर्ट पनि गरेकी थिएँ।'
सात/आठ वर्षअघिको कुरा हो, उनी सिनेक्षेत्रमा नयाँ-नयाँ थिइन्। आलोक नेम्वाङ, दिक्पाल कार्कीहरूसँग काम गरेकी थिइन्। उनीहरूसँग म्युजिक भिडियोहरूमा काम गर्थिन्।
त्यहीबेला आलोकको फिल्म आएको थियो। फिल्म सार्वजनिक भैसकेपछि त एउटै टिममा फाटो आयो। आलोक र दिक्पालहरू छुट्टिए। दीपशिखा पनि आलोककै टिममा रहिन्। छुटेर गएका कलाकारमध्ये केहीले उनीहरूको बेइज्जत गर्न थाले। मोबाइलमा अनेक अश्लिल कुरा र गालीले भरिएका मेसेज गरेर हैरान नै पार्ने गरेको दीपशिखाले बताइन्।
हुँदाहुँदा एउटा फेक फेसबुक आइडी बनाएर एकजनाले ‘यसको रेट यति हो, चाहिए यो नम्बरमा फोन गर्नु' भन्दै उनको नम्बर नै फेसबुकमा राखिदिएछन्।
'त्यसपछि त सहने कुरै थिएन। साथीभाइ सँगै प्रहरीकहाँ गयौं,' उनले भनिन्, 'त्यतिखेर स्क्रिन सट लिने सुविधा थियो वा थिएन हामीलाई थाहा भएन। मोबाइलका फेसबुकका मेसेज र बेइज्जत गर्न खोजेका पोष्टहरू प्रिन्ट गरेर प्रहरीलाई दियौं।'
त्यसपछि ती व्यक्ति पक्राउ परे। प्रहरी हिरासतमा परिसकेपछि ती व्यक्तिले उनीहरूसँग माफी मागे। अब कहिल्यै यस्तो गर्दिनँ भनेपछि उनीहरूले पनि उजुरी फिर्ता लिए।
‘उसले अनुनयविनय गरेपछि एक पटकलाई भनेर हामीले उजुरी फिर्ता लियौं। हामी केही साथीहरूलाई नै उसले हैरानी गरेकाले मिलेर उजुरी गरेका थियौं,' उनले भनिन्, 'त्यसपछि उसले त्यस्तो व्यवहार गरेन।'
केही समयपछि फेरि उनीमाथि अर्को दुर्व्यवहार भयो। उनी ग्वार्कोभन्दा केही माथि एउटा फिल्म स्टुडियोमा सुटिङ गर्दै थिइन्। एकजना फिल्मकर्मी सेटमै आइपुगे। उनले एसएमएस गरेर हैरान पारेका थिए। आफूसँग सम्बन्ध राख्न उनको जोड हुन्थ्यो। स्टार बनाइदिन्छु भन्ने लोभ देखाउँथे।
'त्यो दिन त उसले हद गर्यो। होटल बुक गरेको छु जाउँ भनेर सिधै भन्यो। १० वटा म्युजिक भिडिओमा निरन्तर काम दिन्छु, स्टार बनाइदिन्छु भन्यो। मैले उसलाई गाली गरें तर उ अटेर गरेर जिद्दी गरिरह्यो,' उनले भनिन्, ‘त्यसपछि मलाई झोंक चल्यो। सुटिङ छोडेर निस्किएँ।'
उनी सिधै कोटेश्वर प्रहरीमा गइन्। उनी उठेर हिँडिसके पछि पनि उसले निरन्तर फोन गरिरहेको थियो। प्रहरीमा पुगेपछि उनले आफूमाथि ती व्यक्तिले गरेको दुर्व्यवहारबारे बताउँदै थिइन् फेरि फोनको घन्टी बज्यो।
कोटेश्वर प्रहरीका इन्स्पेक्टरले उनलाई फोन उठाएर लाउड स्पिकरमा राख्न भने।
उनले फोन उठाउनेबित्तिकै त्यो मानिसले धम्की दियो- तैंले गर्दा होटल बुक गरेको पाँच हजार घाटा लाग्यो। तँलाई म स्टार बनाउँछु भनेको मानिनस्। अब म मिडियामा तेरो बदनाम गर्दिन्छु।
फोन सुनिरहेका इन्स्पेक्टरले भने, ‘त्यसको अफिसको ठेगाना दिनुहोस्, तपाईंले अरू केही गर्नु पर्दैन।'
प्रहरीले त्यो तुरून्तै व्यक्तिलाई पक्रियो।
आफूमाथि दुर्व्यवहार गर्नेले सजाय भगिसकेकाले उनीहरूको नाम नलेखिदिन उनले आग्रह गरिन्। सिनेक्षेत्रमा महिलामाथि हुने दुर्व्यवहारका धेरैजसो त गुपचुप हुने उनले बताइन्। काम गर्ने ठाउँमा हुने दुर्व्यवहारविरूद्ध बोल्ने जो कोहीलाई आफूले सधैँ सहयोग गर्ने उनको भनाइ छ।
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि भुवन केसीले गरेको दुर्व्यवहारविरूद्ध बोलेपछि खडकाले उनको समर्थन गरेकी छन्। भुवन केसीले साम्राज्ञीविरूद्ध १० करोडको मुद्दा हालेपछि भने आफूलाई झोंक चलिरहेको उनले बताइन्।
यो पनि पढ्नुस्:
'भुवन केसी कस्तो हो भन्ने कुरा सिनेक्षेत्रका सबलाई थाहा छ नि, उसकाविरूद्ध बोल्नमात्र मात्र नसकेका हुन्,' उनले भनिन्, 'साम्राज्ञीले पाँच वर्षपछि भए पनि आफूमाथिको दुर्व्यवहारबारे बोलेकी छन्, उनलाई मेरो साथ समर्थन छ। सिनेक्षेत्रमा यसरी बोल्ने र अडिनेहरू निकै कम हुन्छन् उनीहरूलाई हामी सबैको साथ चाहिन्छ।'
नेपाली सिनेमा क्षेत्रमा ‘ग्रुपिज्म' हुने र त्यसले यो क्षेत्रलाई नै विकृत पारेको उनको भनाइ छ। उनकाअनुसार कतिपय अवस्थामा ग्रुपिज्मको मारमा महिला कलाकारहरू पर्ने गरेका छन्।
दीपशिखाको पछिल्लो फिल्म ‘प्रेमलीला’ हो। उनको एकल निर्माण, अभिनय र लेखनसमेत भएको यो फिल्म पछि उनी अहिले दुबईमा निर्देशनसम्बन्धी एउटा कोर्स गरिरहेकी छन्। त्यसअघि ४ वटा जति फिल्ममा सहनिर्मातासमेत बनेको उनी बताउँछिन्। अरू थुप्रै म्युजिक भिडिओ र फिल्ममा समेत काम गरेकी उनी चलचित्र क्षेत्रको छोटो अनुभवमा महिलालाई कसरी दुर्व्यवहार गर्दा रहेछन् भन्ने कुरा थाहा पाएको बताउँछिन्। यहाँ हुने दुर्व्यवहारविरूद्ध बोल्न नछोड्ने उनले बताइन्।