सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा पिसिआर मेसिन जडान हुने भएका छन्।
प्रदेश सरकारले कैलाली, डोटी र बैतडीमा दैनिक एक हजारका दरले परीक्षण गर्ने गरी मेसिन जडान गर्न लागेको हो।
ती मेसिन र आवश्यक सामग्री खरिदका लागि ५ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले बताए।
‘बैतडी र डोटीका जिल्ला अस्पतालमा मेसिन जडानका लागि ठाउँ व्यवस्थापन भइरहेको छ’, मन्त्री सुवेदीले भने।
कैलालीमा भने सेती प्रादेशिक अस्पतालले नै सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालयको भवनमा मेसिन जडान गरिने उनले बताए।
तीनै जिल्लामा स्थापना हुने प्रयोगशालामा अहिले सामान्यरूपमा अस्पतालमा भएका कर्मचारी परिचालित गर्ने र आवश्यक जनशक्ति केन्द्र सरकारसँग माग गरिएको मन्त्री सुवेदीले बताए।
पिसिआर मेसिन र आवश्यक सामग्री खरिद गरेर सम्बन्धित ठाउँमा पठाउने काम सुरू भइरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख गुणराज अवस्थीले बताए।
उनले मेसिन सञ्चालनपछि सुरूको चरणमा परीक्षणका लागि आवश्यक पर्ने २० हजार किट पनि खरिद गरिएको बताए।
उनका अनुसार सम्बन्धित अस्पतालहरूले भौतिक पूर्वाधारको काम सम्पन्न गरेपछि मेसिन सञ्चालनमा आउने छन्।
सुरूमा प्रदेशमा धनगढीस्थित पशुअन्वेषण प्रयोगशालामा एकमात्रै पिसिआर मेसिन सञ्चालनमा थियो।
एकमात्रै मेसिनले परीक्षणमा व्यापक ढिलाइ भएको भन्दै संघसंस्था, व्यक्तिको सहयोगमा डडेल्धुराको जिल्ला अस्पतालमा पनि पिसिआर मेसिन जडान भयो।
हाल प्रदेशको धनगढीमा एउटा आरटी पिसिआर र एउटा पिसिआर मेसिन सञ्चालनमा छन्।
यस्तै, डडेल्धुरा अस्पतालमा पनि पिसिआर मेसिनबाट कोरोना परीक्षण हुँदै आएको छ।
प्रदेश सरकारले अब तीन जिल्लामा जडान गर्ने भएपछि प्रदेशमा ५ वटा पिसिआर मेसिन हुनेछन्।
यस्तै, बझाङका १२ स्थानीय तह र जिल्ला समन्वय समितिले पनि १ करोड ४५ लाखको लागतमा भदौ १ गतेदेखि जिल्ला अस्पतालमै परीक्षण गर्ने गरी मेसिन खरिदको काम अगाडि बढाएको छ।
अहिलेसम्म प्रदेशमा ३३ हजार २ सय ३५ जनाको सिसिआर विधिवाट थ्रोट स्वाब नमूना जाँच गरिएको छ।
तीमध्ये ४ हजार २ सय ६६ जना संक्रमित रहेकोमा ३ हजार ८ जना निको भएर डिस्चार्ज भएका छन्।
अस्पतालका आइसोलेसनमा ५३ जना र अन्य संक्रमितहरू स्थानीय तहले बनाएका आइसोलेसन र होम आइसोलेसनमा बसिरहेका छन्।