साउन महिनायता मात्र वीरगञ्जमा ११ जनाकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
शनिबार मात्र वीरगञ्ज-१६ निवासी दुई महिलाको संक्रमणका कारण मृत्यु भएको थियो। मृत्यु हुनेमध्ये दुई जना बाहेक सबैलाई कुनै न कुनै गम्भीर रोग भएको देखिन्छ।
नारायणी अस्थायी कोभिड अस्पताल गण्डकका संयोजक डाक्टर उदयनारायण सिंहका अनुसार मृतकहरूमा दम, मुटु, रक्तचाप र निमोनियाको समस्या रहेको थियो। मृत्यु हुनेमा ७ पुरुष र ४ महिला छन्।
जसमा एकजना भारतीय नागरिक हुन्। उनी जगदम्बा इन्टरप्राइजेजका सिइओ हुन्। मृत्यु हुनेमध्ये ९ जना ६० वर्षमाथिका छन्। बाँकी दुईजना भने १७ वर्षीया किशोरी र ३४ वर्षीय पुरुष हुन्। अहिलेसम्म वीरगञ्जमा मात्र मृत्यु हुनेको संख्या १५ पुगेको छ।
जसमा दुई जना बारा र एकजना रौतहटका छन्। पछिल्लो समय वीरगञ्जमा जुन दरले संक्रमण फैलिरहेको छ त्यसले मृतक संख्या अझै बढ्ने संक्रमितको उपचारमा खटिएका चिकित्सकहरूको ठम्याइ छ।
होम आइसोलेसनमा बसेका संक्रमितहरूमा पनि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएको खबर आइरहेको चिकित्सकहरू बताउँछन्। यसले मृतक संख्या बढ्न सक्छ।
अहिले वीरगञ्जमा मात्र २ सय ३० भन्दा बढी सक्रिय संक्रमित छन्। तीमध्ये ६० जना गण्डक अस्पतालमा उपचाररत् छन्। केही क्वारेन्टिनस्थलमा बनाइएको आइसोलेसनमा छन् भने बाँकी संक्रमितहरू 'होम आइसोलेसनमा' छन्।
गण्डक अस्पतालका संयोजक डा. सिंह भन्छन्, 'घरघरबाट फोन आइरहेको छ, कतिलाई ज्वरो र कतिलाई खोकीको समस्या देखा परेको भन्नुभएको छ। फेरि उहाँहरूलाई आज अस्पताल भर्ना गर्ने तयारी गर्दैछौं।'
लकडाउन अन्त्य भएसँगै खुला सीमाबाट हुने अव्यवस्थित आवतजावतले वीरगञ्जमा संक्रमणको जोखिम ह्वात्तै बढेको छ। अहिले वीरगञ्जमा संक्रमण समुदायस्तरमै फैलिएको स्थानीय तहहरूको दाबी छ। वीरगञ्ज महानगरपालिकाले पनि संक्रमण समुदायस्तरमा फैलिएको निष्कर्ष निकालेको छ।
आइतबार मात्र थप ४५ जना व्यक्तिमा संक्रमण पुष्टि भएको छ। अहिले अढाइ सय आसपासमा रहेको संक्रमित संख्या साउनसम्ममा एक हजार नाघ्ने चिकित्सकहरूको अनुमान छ। संक्रमित संख्या बढ्दै गर्दा उनीहरूमा जुन प्रकारको लक्षण देखिएको छ त्यसले थप संकट निम्तिने संकेत गरेको छ।
डा. सिंहका अनुसार अहिले संक्रमितमध्ये ५० प्रतिशतलाई लक्षण देखिएको छ। त्यसमा पनि १० प्रतिशतमा कडा लक्षण देखा परेको छ। त्यसरी कडा लक्षण देखिएकामा निमोनिया र श्वासप्रश्वासकाे समस्या रहेको छ। त्यस्ता कडा लक्षण देखिएका संक्रमितहरूलाई आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ।
डा. सिंहले ८ जना संक्रमित आइसियूको उपचारपछि निको भएर घर फर्किएको बताए। साउन महिनासम्म वीरगञ्जमा एक हजार संक्रमित पुग्यो भने कम्तिमा ३० वटा आइसियू आवश्यक पर्छ। गण्डक अस्पतालमा अहिले १० वटा आइसियू र दुई वटा भेन्टिलेटर छन्। जहाँ ६० जना संक्रमितको उपचार भइरहेको छ।
तर सिंगो अस्पतालमा १० वटा आइसियू हेर्ने जम्मा एकजना विशेषज्ञ छन्। जम्मा दुई जना विशेषज्ञ रहेकोमा एकजनालाई भने संक्रमण भएको छ। डा. सिंहले थप तीन जना आइसियूमा खटिने विशेषज्ञको आवश्यकता रहेको जनाए। साथै अस्पतालहरूका ९ जना चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मीलाई पनि संक्रमण पुष्टि भएको छ।
अहिले उनीहरू उपचाररत छन् भने उनीहरूको सम्पर्कमा आएका ३० जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा छन्। अर्थात ५० जना भन्दा बढी स्वास्थ्यकर्मी सेवा बाहिर छन्। यसले गर्दा पनि स्वास्थ्यकर्मी र उपकरणको अभाव भएको डा. सिंह बताउँछन्।
उनले ५ जना चिकित्सकसहित २० जना स्वास्थ्यकर्मी आवश्यक पर्ने बताए। हिजो मात्र एक निजी अस्पताल वीरगञ्ज हेल्थ केयरसँग संक्रमितको उपचार गर्ने गरी सम्झौता भएकाे छ।
'वीरगन्ज हेल्थ केयरमा ३० वटा आइसियू र १४ वटा भेन्टिलेटर छ। यसलाई व्यवस्थित गर्न सकियो भने अहिलेको स्थितिलाई थेग्न सकिन्छ,' उनले भने।
यद्यपि थप 'क्रिटिकल केयर'मा खटिने विशेषज्ञको भने ठूलो आवश्यक्ता रहेको उनी बताउँछन्। वीरगञ्ज हेल्थ केयरसँग आफ्नै जनशक्ति भएपनि गण्डकमा भने आइसियूमा खटिने विशेषज्ञ अभाव रहेको उनले जनाए।
'जनशक्ति र उपकरणको राम्रो व्यवस्था भएको भए दुई तीन जना संक्रमितलाई बचाउन सकिन्थ्यो' गण्डक अस्पतालका अर्का एक चिकित्सकले भने, 'उहाँहरूलाई जटिल अवस्थामा अस्पताल ल्याइन्छ अनि कोरोना पुष्टि नभएकाले हामीले आकस्मिक कक्षमै राखेर उपचार गर्छौं। रिपोर्ट पनि ढिला आइदिन्छ जसले गर्दा उहाँहरूलाई आइसियूमा राखेर छिटो उपचार गर्न सकिरहेका छैनौं।'
मृतकमध्ये तीन जनाको भने आइसियूमै उपचारको क्रममा मृत्यु भएको थियो। पछिल्लो समय वीरगञ्जमा समुदायमै कोरोना फैलिएको बताइएको छ। लकडाउन अन्त्य भएसँगै सीमाबाट हुने अव्यवस्थित आवतजावतले वीरगञ्जमा संक्रमण बढेको हो।
'लकडाउन अन्त्य भएपछि भारतबाट धेरै कामदारहरू आएका छन्। परीक्षण गर्दा पनि विभिन्न उद्योगमा काम गर्ने कामदारहरूमा संक्रमण देखिएको छ,' डा. सिंहले भने।
अहिले महानगरपालिकाको हरेक वडाहरुमा संक्रमित फेला पर्ने गरेका छन्। संक्रमितहरूमा फोहोर मैलामा काम गर्ने व्यक्तिदेखि कर्मचारी, विद्यार्थी, कामदार, उद्योगी सबै परेका छन्। त्यसैले गर्दा पनि संक्रमण समुदायमा फैलिएको दाबी गरिएको छ।
'अहिले परीक्षण गर्दा एउटै वडाहरूमा १० देखि १५ जनालाई पोजेटिभ देखिएको छ। अझै 'मास स्क्रिनिङ' गरेर परीक्षण गर्ने हो भने एउटै वडामा सयभन्दा बढी संक्रमित फेला पर्ने अनुमान छ,' डा. सिंहले बताए।
संक्रमणको जोखिम बढेपछि मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोलीलाई वीरगञ्जमा खटाएको छ। टोलीले त्यहाँको वस्तुस्थिति बुझ्ने र संक्रमण नियन्त्रणको लागि आवश्यक कदम लिने जनाइएको छ।