जिल्ला अस्पताल दार्चुलामा उपचारका क्रममा एकजना युवाको मृत्यु भएको छ।
श्वास फेर्न गाह्रो भएपछि आइतबार राति १० बजे अस्पतालको इमर्जेन्सीमा भर्ना भएका व्यास गाउँपालिका-५ का २८ वर्षीय युवकको मृत्यु भएको हो।
राति १ बजेतिर युवकको मृत्यु भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट गजेन्द्र दुवालले बताए।
हिजो नै दिउँसो पनि उपचारका लागि आएका ती युवकले केही दिनअघि ज्वरो आएको र रुघाखोकी लागेको बताएका थिए।
ओपिडी जाँच भएपछि छातीमा समस्या देखिएकाले एक्सरे गर्दा छातीमा टिबी, निमोनियाकोजस्तो दाग देखिएको दुवालले बताए।
खकार जाँच गर्दा टिबी नदेखिएपछि युवकलाई धनगढी वा डडेल्धुरा अस्पताल गएर जाँच गर्न सुझाव दिइएको दुवालले बताए।
तिनै युवा बेलुका इमर्जेन्सीमा भर्ना भएका थिए। उनको शरिरमा अक्सिजनको कमी भएर उपचारका क्रममा मृत्यु भएको उनले बताए।
युवकको स्वाव संकलन गरी कोरोना परिक्षणका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
‘उनको ट्राभल हिस्ट्री केही पनि छैन, खलंगामा मोबाइल पसल गर्ने उनका वरिपरि कोरोना संक्रमित पनि कोही छैनन्,’ दुवालले भने।
उनको शव अहिले अस्पतालमै छ। कोरोना परिक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गर्ने परिवारसँग सहमति भएको उनले बताए