मनसुन लाग्नेबित्तिकै थापाथलीस्थित बस्ती डुबानमा पर्यो।
नयाँ कुरा होइन, प्रत्येक वर्ष यो क्षेत्र डुबानमा पर्दै आएको छ। डुबानको मुख्य कारण खोला किनारमा बस्ती बसाल्नेहरू हुन् भन्दै औंल्याउनेहरू छन्।
थापाथलीबाट टेकु दोभान होस् या कुपन्डोलतर्फको कोरिडोर, बाटोछेउ हामी ब्रह्मनाल र 'भकारी' हरू देख्न सक्छौं। भकारी अन्न भण्डार गर्ने होइन, किरिया बस्ने वा श्राद्ध गर्ने ठाउँ हो। त्यस्तै, ब्रह्मनालमा मान्छे अन्तिम संस्कार गर्नुपूर्व सुताइन्छ। भकारी र ब्रह्मनाल दुवै घाटका अभिन्न अंग हुन्।
घाटको सम्बन्ध खोलासँग हुन्छ, अन्तिम संस्कार गर्दा पानी नभई हुन्न। त्यसैले घाटहरू खोला नजिकै बनेका हुन्छन्। खोला नजिक हुनुपर्ने घाट अचेल भने घरनजिक सर्दैछन्। कसैका आँगनमै पुगिसके।
उचित संरक्षण नहुँदा घाटका ब्रह्मनाल र भकारीहरू कति हराइसके, कति भासिएर पुरिए। कति सडकमै मिसिए। अब कता ब्रह्मनाल, कता मान्छे पोल्ने ठाउँ, कता खोला?
घाट नजिक खोला बग्नुपर्नेमा अचेल सडक बनेकाले सवारीसाधन र मान्छेहरू बग्न थालेका छन्। आडैमा घरहरू ठडिएका छन्। यी विषयबारे चिन्ता व्यक्ति गर्नेहरू केहीले अचेल व्यंग्यात्मक पारामा सामाजिक सञ्जालमा लेख्न पनि थालेका छन्– खै खोला? बाटोले कुल्चियो-मान्छेले सुकायो।'
सन् १९५० मा नेपाल आएका स्विट्जरल्यान्डका भूगोलविद् टोनी हेगनले बागमतीको एउटा तस्बिर खिचेका थिए। थापाथली पुलबाट टेकुतर्फ खिचिएको बागमतीको चौडाइ हेर्दा पत्याउनै मुश्किल हुन्छ।
करिब ६० वर्ष अन्तरालमा बागमती कति खुम्चियो भन्ने उदाहरण हामी अहिले देख्न सक्छौं। '१२ वर्षपछि खोला पनि फर्किन्छ' भनेझैं प्रत्येक वर्ष बस्तीभित्र पसेर खोलाले आफ्नो अस्तित्वको यथार्थ बस्तीबासीहरूलाई सम्झाइरहेको छ।
गत वर्ष हामी ब्रिटिस काउन्सिलसँगको सहकार्यमा 'स्टोरी साइकल' ले गरेको एउटा कार्यक्रममा सहभागी भएका थियौं। कार्यक्रमको अभिप्राय सहरको इतिहास खोलामार्फत जान्ने थियो। पुराना कथालाई पुनर्जीवन दिने र त्यस क्षेत्रको नक्सांकन गर्ने उद्देश्य कार्यक्रमको थियो।
अघिल्लो साता स्टोरी साइकलका सौरभ ढकाल र आर्किटेक्ट एन्जिला ताम्राकारलाई भेट्दा उनीहरूले त्यस क्षेत्रको स्थिति पहिलेभन्दा पनि बिग्रिँदै गएको बताए। अघिल्लो वर्ष हामीले यात्रा गरेको टेकु दोभानको बाटोमा अहिले टिनका जस्ताले घेरेर 'निषेधित क्षेत्र' लेखी एसियन डेभ्लपमेन्ट बैंक (एडिबी) को सहकार्यमा केही काम भइरहेको रहेछ।
'सम्पदा स्थलमा भइरहेको काम हामी सबैले देख्नेगरी हुनुपर्ने हो। हुन त काममा बाधा नपुगोस् भनेर होला। तर यहाँ अन्य संरचनाहरू थप्न जरुरी नै छैन,' एन्जिलाले भनिन्, 'नदीछेउ पहिले बनेकै संरचनाले नदीलाई असर पुगिरहेको छ।'
थापाथली क्षेत्रमा एडिबी मात्रै नभई बागमती जलाधार संरक्षण समिति, सडक विभाग लगायत विभिन्न निकायको चासो रहेको सौरभ बताउँछन्। यिनले नदी किनारामा बाँध बनाएर पानी नियन्त्रण गर्ने, कोरिडर बनाउने, पानी सफा गर्ने लगायत परियोजना ल्याएर 'खोला बचाउँछु, राम्रो गर्छु' भन्ने सोच देखाउन खोजे पनि यसले परम्परागत प्रणालीमा असर पुगेको उनी बताउँछन्।
उनका अनुसार यहाँ ३७ वटा समुदायका अलग–अलग घाट छन्। अचेल 'जम्बोदीप' बाहेकका घाटमा अन्तिम संस्कारका कार्य चल्तीमा छैनन् किनकी अन्य घाटमा पानीसँगको नाता टुटिसक्यो। यहाँ हुने संस्कार पशुपतिमै गर्न थालिसके।
'नयाँ पुस्तालाई त झन् खोला यहाँबाट बग्थ्यो कि त्यहाँबाट, थाहै छैन। बीचमा सडक हुनु नै उनीहरूलाई यथार्थ जस्तो लाग्छ,' उनी भन्छन्।
अघिल्लो वर्ष टेकुका स्थानीय भूषण बज्राचार्यसँग मैले यो ठाउँको यात्रा गरेकी थिएँ। बज्राचार्यले बागमती किनार भ्रमण गराउँदै यहाँ भएका परिवर्तन र अव्यवस्थित बस्ती विकासबारे विस्तार लगाएका थिए।
हामीले टेकुको जम्बुदीपबाट, तिख्खर दोभान (बागमती र विष्णुमती भेट हुने ठाउँ), पचली घाट, पुरेत घाट र कालमोचन घाटसम्मको यात्रा गरेका थियौं। यात्राक्रममा घाटको स्थानमा बनेका पार्क, भकारीमाथि बनेका ट्यांकी, तथाकथित सुकुम्बासीले यो ठाउँ अतिक्रमण गर्दै बस्ती विस्तार गरेको होटल, क्लिनिक, पसल, ग्यारेज लगायत व्यवसाय सुरू गरेर अड्डै जमाएको देख्यौं।
खोला किनारको जग्गा सार्वजनिक हो। त्यसैले उनीहरूसँग लालपूर्जा वा कुनै कागजपत्र छैन। तर यहाँका घरजग्गा त किनबेच समेत हुने रहेछ।
'यहाँका सरोकारवालाले बेवास्ता गर्दाको नतिजा हो यो। हामी गएर रिपोर्ट गर्दा पनि केही गर्दैनन्,' बज्राचार्यले भने, 'तिमीहरू बनाऊ, हामी नदेखेजस्तो गर्छौं भन्ने पाराले यहाँ बस्ती थपिँदै गए।'
कालमोचन घाट प्रयोगमा नआएपछि स्थानीयले भकारीमाथि स–साना पूजा गर्ने मठ बनाएका छन्। केहीमा बिजुलीको खम्बा गाडिएको थियो।
टेकु दोभानदेखि कालमोचनसम्मको यात्रामा सयौं ब्रह्मनाल र भकारीहरू देख्न सकिन्छ। कयौं पुरिइसकेका छन् भने कति हराइसके। मान्छेको दाहसंस्कार गर्ने घाट अहिले सबै बस्तीभित्र पसिसकेको छ।
इतिहास एवं संस्कतिविद् साफल्य अमात्य सन् १९६१ मा पञ्चायत शासन आगमनपछिको समयमा नदी विनास भएको मान्छन्। उनका अनुसार त्यो बेला काठमाडौं सत्ता, शक्ति, राजनीति र अवसरको केन्द्र बन्यो। गरिब–निमुखा पनि जागिरको सिलसिलामा काठमाडौंमा आउन थाले। त्यसमाथि बर्मा, आसाम, मेघालय र भुटानबाट शरणार्थीहरू पनि आए। यसले बागमतीलाई झनै असर पुर्यायो। अमात्यले बागमतीको अध्ययन गरेर २०५१ सालतिर 'द बागमती– अ मोनुमेन्ट गाइड' नामक किताब पनि लेखेका छन्।
'मानिसहरु बढ्न थालेपछि यहाँ फोहोर फाल्न थाले। समयक्रममा बागमती फोहोरको डुंगुर फाल्ने ठाउँ नै बन्यो,' उनले लेखेका छन्, 'त्यसमाथि बागमतीबाट बालुवा निकाल्न थालेपछि समस्या झनै बढ्यो। धमाधम बालुवा निकालेपछि खोला गहिरिँदै गयो, अतिक्रमण बढ्दै गयो र साँघुरिँदै पनि। जब नदीले आफ्नो रूप गुमाउँदै गयो यहाँ आउने धार्मिक पर्यटक कम हुन थाले।'
यस क्षेत्रको संरक्षणका निम्ति विभिन्न गुठीहरू छन्। नजिकै गुठी संस्थान पनि छ। तर गुठीहरूको विघटन र राम्ररी सञ्चालन नहुँदा यो क्षेत्र जगेर्ना गर्न नसकिएको अमात्य बताउँछन्।
बागमतीको महत्वलाई ब्रह्मपुराण, पशुपतिपुराण र नेपाल महात्मयमा वर्णन गरिएको छ। टेकुदेखि थापाथलीमा करिब डेढ किलोमिटर लामो टेकु–दोभान घाट, मुन्सी घाट, पञ्चनारी घाट, पाँचाली घाट, हनुमान घाट, काली घाट, काजी घाट, पुरेत घाट, जुद्ध घाट, चन्द्र घाट र कालमोचन घाट छन्।
यहाँ १९ र २० औं शताब्दीमा बनेका मठ–मन्दिरहरू छन्। टेकुस्थित राधाकृष्ण मन्दिर, जगन्नाथ मन्दिर, लक्ष्मिश्वर महादेव मन्दिर, बमविकटेश्वर महादेव मन्दिर, त्रिपुरेश्वर महादेव मन्दिर र कालमोचनस्थित जंग–हिरण्य–हेम नारायण मन्दिर यसका उदाहरण हुन्। यहाँको सबभन्दा पुरानो शिलालेख नेपाल सम्बत् ८०३ अर्थात वि.सं १७४० को हो जुन पचली भैरवमा राखिएको छ।
'यो पर्यटकीय र धार्मिक दुवै हिसाबले निकै महत्वपूर्ण ठाउँ हो तर धेरैलाई यसबारे थाहै छैन। पशुपति घुम्न आउने करिब ५ प्रतिशतलाई मात्रै यो ठाउँबारे जानकारी छ,' अमात्य भन्छन्, 'धेरै सम्भावना बोकेको ठाउँ भए पनि सरकारी निकायबाटै नजरअन्दाज भएको ठाउँ हो यो।'
सांस्कृतिक अध्येता मदनमोहन मिश्रको किताब 'नेपाली संस्कृतिमा बागमती' अनुसार मलामी आउने र मुर्दा जलाउनेका लागि मसानघाट छेउमा पाटी र खोलाको पानी भेटिने गरी भर्याङ बन्नु आवश्यक छ। मान्छे पोल्ने ठाउँमा पानीको महत्व धेरै हुन्छ।
मिश्रको किताबअनुसार घाट केवल जलाउन मात्र नभई अन्तिम समयमा मान्छेलाई सुताउने ठाउँ पनि हो। मृत्यु हुनुअघि मान्छेको सास बाँकी छ भने पनि उसलाई ब्रह्मनालमा राखिन्छ। त्यसरी राखिएको मान्छेको खुट्टाले खोलाको पानी छोएको हुनुपर्छ। नागको आसन भएको ब्रह्मनालले स्वर्ग पुर्याउने विश्वास गरिन्छ।
संस्कृतविद् ओम धौभडेलका अनुसार मान्छे जलाउँदा शरीर पञ्चतत्वमा मिसिन्छ भन्ने मान्यता छ। विशेषगरी नेपाल मण्डलका राज्यलाई तान्त्रिक रूपले बसाउँदा सुरक्षा हिसाबले पनि खोला किनारमा मसान बनेको हो। यमराजको दिशा भएकाले धेरै मसान दक्षिण दिशामा रहेको उनले बताए।
खोला किनारको माटो बगेर नजाओस् भनेर जोगाउन पनि घाटहरू बन्ने गरेको उनी बताउँछन्। किनारको माटो जोगाउन विभिन्न ठाउँमा रूख रोप्ने चलन हामीले देख्दै आएका छौं।
'घाटमा व्यवस्थित किसिमले ढुंगा छापिएको हुन्छ जसले त्यहाँको माटो बगेर जाँदैन,' धौभडेलले भने।
सामाजिक–सांस्कृतिक र प्राकृतिक हिसाबले महत्वपूर्ण यी घाटको 'मोल' आधुनिक समाजले बिर्सिँदै गएको छ। अतिक्रमण र अव्यवस्थित बस्ती विस्तारका कारण घाट र खोलाको दुरी बढेको साफल्य अमात्य पनि बताउँछन्।
इतिहासले भनेकै छ, कुनै पनि नगरको विकास र सभ्यताको परिचय नदीले गराउँछ। आमात्य पनि बागमतीलाई मान्छेको जीवनको नसा मान्छन्। किनकी धेरै शताब्दीसम्म यसले सहरको माटोलाई सिँचाइ गर्यो। हिन्दु र बौध धर्मावलम्बीका लागि यो नदी निकै महत्वको छ।
टेकु दोभान काठमाडौंका दुई नदी बागमती र विष्णुमती आपसमा मिसिने ठाउँ। यहाँ 'ने' ऋषि तपस्या गर्थे रे। किम्बदन्तीलाई आधार मान्ने हो भने काठमाडौं आएर बसाइ सुरू गर्ने पहिलो 'रेकर्डेड' मान्छे 'ने' नै हुन्। उनैको नाममा उपत्यकालाई 'नेपाल' भनिएको भन्ने भनाइ पनि छ।
तीन हजार वर्ष पहिले उनै 'ने' ले बागमतीको श्रद्धाका रूपमा केत्वालदेखि बागद्वारसम्म १७ दिन लामो पदयात्रा गरेका थिए रे। अहिले पनि बागमतीमा बाकीँ रहेका ठाउँ जोगाएर पदयात्राको राम्रो 'ट्रेल' बनाउन सकिने सौरभ ढकाल बताउँछन्।
'यो एउटा खुला संग्रहालय हो। अहिले पनि बचाउन सक्ने ठाउँहरू छन्। यहाँ रहेको दंगा प्रहरी हटाउन सकिन्छ, प्रसूति गृहले अतिक्रमण गरेको ठाउँ हटाउन सकिन्छ,' उनी भन्छन्, 'यसलाई हामीले हिँड्ने राम्रो ट्रेल बनाउन सक्छौं। साझँ–बिहान हिँड्न, पूजा गर्न आउने एकदम रमाइलो ठाउँ हुन सक्छ। साथै, साइक्लिङको 'रुट' पनि बन्न सक्छ।'