लकडाउन अन्त्य भएसँगै कोरोना संक्रमण दर झण्डै दोब्बरले बढेको देखिएको छ।
लकडाउन अन्त्य भएको १३ दिन बितिसक्दा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार २ हजार ७ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्।
तर लकडाउन अन्त्य हुनुपूर्व सोही अवधिको तथ्यांक अनुसार जम्मा १ हजार ५ सय ७१ जना संक्रमित थपिएका थिए। अर्थात् लकडाउन खुलेपछि झन्डै दोब्बर संख्याले कोरोना संक्रमित भेटिएका छन्।
सरकारले लकडाउन अन्त्यको घोषणा गरेसँगै विज्ञहरूले जोखिम बढ्ने र सतर्क नरहे स्थिति घातक हुनसक्ने चेतावनी दिएका थिए।
लकडाउन अन्त्य हुनुपूर्व १३ दिनमा दैनिक संक्रमित संख्या एक सय वरिपरि थियो। उक्त अवधिमा साउन ५ गते सबभन्दा बढी १८६ जनालाई संक्रमण पुष्टि भएको थियो। सबभन्दा कम साउन ३ गते ५७ जनामा संक्रमण देखिएको थियो।
तर लकडाउन खुलेसँगै संक्रमण दर पनि बढ्दै गयो। साउन १२ गतेसम्म संक्रमित संख्या एक सय वरिपरिमै सीमित भएको थियो तर साउन १३ गते संक्रमण दर दोब्बरले वृद्धि भयो।
साउन १३ गते ३ सय ११ जनामा संक्रमण पुष्टि भयो। त्यसयता दैनिक २ सयदेखि ३ सय वरिपरि संख्यामा संक्रमित थपिएका छन्।
सोमबारमात्र ४ सय १८ जनामा संक्रमण पुष्टि भयो। यो पछिल्लो महिनामा देखिएको धेरै संक्रमित संख्या हो।
लकडाउन खुलेपछि सीमावर्ती सहरहरू वीरगन्ज, विराटनगर, राजविराज र जनकपुरमा धेरै संक्रमित फेला परे। सीमाबाट हुने अव्यवस्थित आवतजावतले ती ठाउँहरूमा संक्रमण बढेको बताइएको छ।
यसको एउटा उदाहरण हो-वीरगन्ज।
वीरगन्जमा लकडाउन खुलेसँगै कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ। सोमबारमात्र वीरगन्जमा ७४ जनामा संक्रमण देखिएको थियो।
मंगलबार पनि ३४ जना संक्रमित थपिएका छन्। ती संक्रमित सबै भारतबाट आएका होइनन्। सुरक्षाकर्मी, विद्यार्थी, उद्योगी, स्वास्थ्यकर्मी, कामदार र स्थानीय सबैमा संक्रमण देखिएको छ।
वीरगन्ज महानगरपालिकाले संक्रमण समुदायमै फैलिएको जनाएको छ।
लकडाउन अन्त्य भएसँगै भारतबाट कामदार आउने र नेपालबाट मानिसहरू लुकिछिपी आवतजावत गर्ने हुँदा संक्रमण बढेको पाइएको छ।
जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने, 'लकडाउन खुलेपछि उद्योग पनि खुल्न थाले। त्यसपछि भारतबाट कामदारहरू आउन थाले। त्यस्ता कामदारमध्ये छिटफुटमा संक्रमण देखिए पनि उनीहरूले उद्योगमा रहेका अरूलाई सार्ने सम्भावना त रहन्छ नि।'
उनले नेपालबाट पनि मानिसहरू लुकीछिपी रूपमा आवतजावत गरेकाले संक्रमण बढेको बताए। 'लकडाउन खुलेपछि मानिसहरूले पनि कोरोना यस्तै त रै’छ भनेर हेलचक्र्याइँ गर्नुभयो। लुकीछिपी भारत आवतजावत गर्नुभयो। त्यसैले पनि संक्रमण समुदायमा फैलिन पुग्यो,' उनले भने।
गत साउन १० गतेबाट निषेधाज्ञा जारी गरेपछि भने नाकाबाट आवतजावत बन्द भएको बस्नेतले जनाए। अहिले पर्सामा संक्रमितको संख्या ५ सय बढी छ।
वीरगञ्जमा पछिल्लो समय भेटिएका संक्रमितहरूमध्ये ५० प्रतिशतमा लक्षण देखिएको छ।
नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदयनारायण सिंहले संक्रमितहरूमा ज्वरो, खोकी र स्वासप्रस्वासको समस्या देखिएको बताए।
तीमध्ये पनि केहीलाई भने कडा लक्षण देखिएको छ।
उनले संक्रमितहरूमा लक्षण देखिनुले संक्रमण दर पनि छिटो फैलिने र मृत्यु दर पनि बढ्ने बताए।
साउन महिनायता मात्र वीरगञ्जमा कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ।
विराटनगर, राजविराज र जनकपुरको पनि यस्तै हविगत छ।
विराटनगरमा त दुई साताको लागि फेरि लकडाउन गरिएको छ। यस्तै, अन्य ठाउँमा पनि कतै निषेधाज्ञा गरिएको छ भने कतै लकडाउन गरिएको छ।
लकडाउन खुलेसँगै उपत्यका भित्रिने व्यक्तिहरूलाई समेत संक्रमण देखिएको छ। यसअघि थानकोट, साँगा र फर्पिङ नाकाबाट उपत्यका प्रवेश गर्ने २४ जनामा संक्रमण पुष्टि भएको थियो।
विज्ञहरूले भने संक्रमण दर लकडाउन अन्त्य भएर बढेको भन्दा पनि परीक्षणको दायराले गर्दा बढेको बताएका छन्।
संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले भने, 'लकडाउन खुलेपछि संक्रमण ह्वातै बढेको होइन। पहिले परीक्षण कम भएर कम देखिएको हो। सानो जाल फालेपछि माछा पनि थोरै नै पर्छ।'
उनले लकडाउनले गर्दा संक्रमण बढेको/नबढेको अहिले विश्लेषण गर्ने बेला नभएको भन्दै अझै दुई साताको समय कुर्नुपर्ने बताए।
डा. सुवेदीले लकडाउन खुलेपछि सरकारले टेस्टमा सकारात्मक सुधार गरेको भए पनि ट्रेसिङ र आइसोलेसनमा भने काम गर्न नसकेको भनाइ छ।
'महामारी नियन्त्रण गर्नमा टेस्टिङ, ट्रेसिङ र आइसोलेट प्रभावकारी मानिन्छ,' उनले भने, 'परीक्षण बढे पनि ट्रेसिङ र आइसोलेट धेरैलाई गर्न सकिएको छैन।'
उनले लकडाउन खुलेसँगै संक्रमण जोखिम बढेको भन्दै सबैले सतर्क रहनुपर्ने बताए।
स्वास्थ्य मन्त्रालयले पनि पछिल्लो समय संक्रमण जोखिम बढेको भन्दै सतर्क रहन आग्रह गरेको छ। नागरिकहरूबाट पनि हेलचेक्र्याइँ हुँदा संक्रमण बढेको भन्दै मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न अपिल गरेको छ। जसका लागि मास्कको अनिवार्य प्रयोग गर्ने, भौतिक दूरी कायम गर्ने, भीडभाड नगर्ने भनिएको छ।
साथै, परीक्षण दायरालाई पनि बढाइएको मन्त्रालयले जनाएको छ।
झन्डै दैनिक १८ हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले दाबी गरेको छ। पछिल्लो एक सातायता दैनिक ६ हजार बढीको परीक्षण गरिँदै आइएको छ।