पोखरामा पनि एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। पोखरा नदीपुर बिटमा खटिएका एक जना प्रहरीमा बुधबार संक्रमण पुष्टि भएको हो।
ड्युटीमा खटिएकै समयमा रुघाखोकी र ज्वरो आउने भएपछि १८ गते अस्पताल भर्ना भएका प्रहरीको १९ गते स्वाब परीक्षण गरिएको थियो। ज्वरो आउनेजस्ता लक्षण देखिएपछि उनी फिस्टेल अस्पतालमा भर्ना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसी सुवास हमालले जानकारी दिए।
‘महामारीमा अग्रपंक्तिमा खटिएका प्रहरीमा कोरोना देखियो, उहाँ नियमित ड्युटीमा खटिइरहनुभएको थियो,’ डिएसी हमालले भने, ‘त्यो बिटमा ३ जना खटिएका थिए । अन्यलाई क्वारेन्टिनमा राखिएको छ ।’
एक जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक ट्रेसिङमा आएका र अन्य प्रहरी गरी १ सय ११ जनाको स्वाब परीक्षण गर्न लागिएको छ।
कास्कीमा प्रहरीमा कोरोना देखिएको यो पहिलो हो। यसअघि जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुख एसपी सहित ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।