अछामको मंगलसेन ओलीगाउँका झंकरी बिकलाई केही वर्षअघि कुष्ठरोग लाग्यो। रोगले उनका औंला, नाक, हात लग्यो।
शरिरका अंग गुमाउँदै जाँदा उनलाई लागेछ-मैले परिवारको सपना पनि गुमाएँ।
हुन पनि उनले छोराहरूलाई स्कुल पठाउने सबभन्दा किम्ति सपना पुरा गर्न पाएका छैनन्। उनका चार छोरा छन्।
कुष्ठरोग भएपछि उनी स्वास्थ्य संस्थामा गए। दुई वर्ष औषधी खाएपछि केही बिसेक भयो।
'अहिले पनि शरीरका केही अंग दुख्छन्। बाँकी औंला पाकेका छन्,' उनले भने।
थप उपचारका लागि उनीसँग पैसा छैन।
पत्नी र छोराहरूले गिटी कुटेर कमाएको पैसाले हातमुख जोर्न बल्लबल्ल पुग्छ।
परिवारमा निकै मुस्किल पर्न थालेपछि झंकरीका माइला छोरा गोपीले ५ वर्षअघि नै विद्यालय छोडे। स्कुल छोड्दा उनी चार कक्षामा पढ्थे।
स्कुल छोडेपछि उनले मंगलसेनको एक होटलमा पानी भर्ने काम पाए। पढाइ छोडेपछि रहर त उनको बसको सहचालक बन्न लागेको थियो।
'खलासी बन्छु भनेर कति पटक बसमा गएँ, उमेर भएको छैन भन्दै कसैले काम दिएनन्,' उनले सेतोपाटीसँग भने।
गोपी त्यतिबेला ११ वर्षका थिए।
उनले काम पाएको होटलमा दैनिक तीन सय लिटर पानी जर्किनमा भरेर धाराबाट ल्याउनुपर्थ्यो। ग्राहकले खाएका भाडा माझ्ने, सफाइ गर्नेजस्ता काम पनि उनी गर्थे। काम गरेबापत् महिनाको ४ हजार रुपैयाँ पाउँथे। त्यो पैसाले परिवारको गर्जो टार्न सहयोग पुग्थ्यो।
कमाउन भारत गएका उनका दाजु पाँच वर्ष भैसक्यो, घर आएका छैनन्। उनी दाजुलाई सम्झिरहन्छन्।
उनकी आमाको पनि रूखबाट लडेर ढाडमा समस्या भएको थियो। सन्चो हुन थालेपछि उनी पैसा कमाउन गिटी कुट्ने काम गर्न थालिन्।
लकडाउन पछि होटलको कामै बन्द भयो। होटलको काम बन्द भएपछि गोपी साहुजीकै घरको काम गर्न गए। पछि त्यो काममा पनि नआउनु भनेपछि उनले भारत जाने सोच बनाएका थिए।
'भारतमा जे पाइन्छ त्यही काम गर्छु सोचेको थिएँ तर कोरानाले गाडी नचलेपछि जान पाइनँ,' उनले भने।
अचेल गोपी र उनका दुई भाइ पनि आमासँगै दिनभरि गिट्टी कुट्न जाने गर्छन्। उनीहरूले गिट्टी कुट्ने खोला घरभन्दा थोरै पर छ।
'एक ट्रली गिट्टी पुगेपछि १५ सययमा बेच्छौं,' गोपीले भने।
बिहानको खाना खाएर उनीहरू हथौडा बोकेर गिट्टी कुट्न निस्कन्छन्।
'गरिबीका कारण मैले पढ्ने रहर सधैँका लागि मारिदिएँ,' उनले भने, 'परिवारको अवस्था नाजुक भएकोले भाइले पनि म पढ्दैन भन्यो।'
उनको कान्छा भाइ भने कक्षा २ मा पढ्छन्।
'जसोतसो गरेर कान्छो भाइलाई भने पढाउने योजना छ हाम्रो,' गोपीले भने।
गोपीजस्तै ओली गाउँका अरू बालबालिका पनि आर्थिक अभावकै कारण विद्यालय जाँदैनन्।
ओलीगाउँकी बिमला विश्वकर्माले स्कुल छोडेर कमाउनतिर लागेका अरू पनि बालबालिका बस्तीमा रहेको बताइन्।
'मेरै घर नजिककै १४ वर्षकी मनिषा बिकले आर्थिक अभावकै कारण स्कुल छोड्नु परेको छ,' बिमलाले भनिन्, 'उनको पढ्ने धोको धेरै थियो तर कक्षा ७ पुगेपछि विद्यालय छोड्ने अवस्था आयो।'
सोही बस्तीका १५ वर्षीय नारायण परियार पढाई छोडेर कमाउन भारत गएका थिए। अहिले कोरोनाको महामारीपछि फर्केर उनी गाउँमा गिट्टी फुटाउने काम गर्छन्।
१८ वर्षका नवीन बिकले कक्षा ५ पढेर स्कुल छोडे। लडेर एक हात गुमाएपछि स्कुलमा पढ्ने वातावरण नै नभएकाले छोडेको उनले बताए।
अहिले एक हातले काम गर्न नसक्ने भएर उनी प्राय: घरमै बस्छन्।
'बसेरै खान पुग्दै कहिलेकाहीँ एकै हातले गिट्टी फुटाउने काममा जाने गरेको छु,' उनले भने।
सानै उमेरमा पढ्नबाट बञ्चित भएका बालकालिकाको यो पुस्तालाई नै असर पर्ने स्थानीय देवेन्द्र बिक बताउँछन्।
'गरिबीको कारण पढ्न नपाएपछि यिनिहरूको पुस्तालाई नै असर गर्छ। उनीहरूले पढ्न नपाउनु भनेको व्यक्तित्व विकासका अरू धेरै सम्भावनाका ढोका बन्द हुनु हो। त्यसको असर हाम्रो समाजकै विकासमा पर्छ,' उनले भने।
मंगलसैनका नगरप्रमुख पदम बोहराले भने पढ्न नपाएका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन मंगलसेन नगरपालिकाले आवश्यक सहयोग गर्ने गरेको दाबी गरे।
गरिबी भन्दा पनि अभिभावकको चेतनाको कमीले बालबालिकाहरूले पढ्न नपाएको उनले तर्क गरे।
'विद्यालय जान चाहने तर नसक्नेहरूलाई कलम, कापी कपडा सहयोग गर्ने गरेका छौं,' उनले भने।
टुहुरा र आर्थिक अवस्था कमजोर भएका केहीलाई जनही ५ हजारका दरले गत वर्ष पनि रकम सहयोग गरिएको उनले बताए।
उनले नगरपालिकामा आएर पढाइमा समस्या भएको बताए नि:शुल्क माध्यमिक शिक्षाको लागि सबै व्यवस्था गरिदिने वाचा पनि गरे।