कैलालीमा थप एक पिसिआर मेसिनबाट कोरोनाको परीक्षण सुरू भएको छ।
सेती प्रादेशिक अस्पतालले नै सञ्चालन गर्ने गरी स्वास्थ्य कार्यालयमा स्थापना गरिएको ल्याबमा बिहीबारदेखि कोरोनाको परीक्षण सुरू भएको हो।
सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले अस्पतालले अब दुई ल्याब सञ्चालनमा ल्याएको बताए।
‘थपिएको पिसिआर मेसिनबाट पनि भएकै कर्मचारीहरूबाट परीक्षण गरिँदैछ’, उनले भने।
नयाँ जडान गरिएको मेसिनको प्रमाणीकरण गरी आजै स्वास्थ्य निर्देशनालयले पठाएका नमूना स्वाब परीक्षण हुनेछन्।
कैलालीमा दैनिक एक हजार जनाको कोरोना परीक्षण गर्ने प्रदेश सरकारले दाबी गरेको छ।
अब कैलालीमा तीन वटा मेसिनबाट दैनिक कोरोनाको परीक्षण हुनेछ। यसअघि धनगढीमै सेती प्रादेशिक अस्पतालमा र पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरी दुई ठाउँमा राखिएका मेसिनबाट कोरोनाको जाँच हुने गरेको थियो।
सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कैलालीसहित तीन जिल्लामा ल्याब स्थापना गर्न पाँच करोड बजेट उपलब्ध गराएको थियो।
त्यसबाट बैतडी र डोटीमा समेत एक/एक पिसिआर मेसिन पठाइसकिएको र जडानको काम भइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
अहिले डडेल्धुरा अस्पतालमा पनि कोरोना परीक्षण हुँदै आएको छ।