असार अन्तिम साता परेको पानीले बसिरहेको घर पछाडि पहिरो गयो।
बस्नका लागि घर असुरक्षित भयो। पोखरा– २२ छोरेपाटन की ५६ वर्षीय ओमकला क्षेत्री (सावित्री) त्यसपछि आफ्नो घरसँगै जोडिएको पक्की घरमा एउटा कोठा लिएर बसेकी छन्। दिउँसो आफ्नै घरमा बस्ने, खाना बनाउने र खाने गरे पनि रात परेपछि अर्को घरको कोठामा सुत्न जान्छिन्।
पोखरा–स्याङ्जा जोड्ने सिद्धार्थ राजमार्गको छेउमा टहरा बनाएर बसेकी ओमकलाका २ छोरा, २ छोरी र श्रीमान गरी ६ जनाको परिवार छ।
श्रीमानले पोखराको एउटा कम्पनीमा गर्ने मार्केटिङको कामबाट उनीहरुको परिवारले गुजारा चलाएका छन्। लकडाउन भएपछि मार्केटिङ पनि रोकिएको छ। आम्दानीको टुङ्गो नभएका बेला उनको परिवारमा अर्को आपत आइपरेको छ।
ओमकलाका जेठा छोरा मनोज अहिले काठमाडौंस्थित अल्का अस्पतालको आइसियुमा उपचाररत छन्। परिवारका अनुसार उनलाई ब्लड क्यान्सर भएको छ। बोनम्यारोको परीक्षण हुँदैछ भने अहिले निमोनियाको उपचार भइरहेको छ। मनोजलाई उपचार गर्न सिभिल अस्पताल लैजाने तयारी भइरहेको छ। उनको कोरोना भाइरस परिक्षण गरेर मात्र लैजाने तयारी भएको मनोजसँगै रहेका उनका भाइ मनिषले बताए।
पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसमा अध्यनरत मनोजले सधैंजसो ढाड दुख्यो भन्ने गर्थे। कान सुन्न नसक्ने भएपछि गत माघमा मात्र पोखराको हरियोखर्क अस्पतालमा उनको कानको अपरेसन गरिएको थियो। कानको अपरेसनमा मात्र १२ लाख रुपैयाँ बढी खर्च भएको थियो । उक्त रकम ओमकलाले आफन्त र कलेज पढ्ने साथीहरुबाट जोहो गरेकी थिइन्।
कानको अपरेसनपछि निरन्तर ‘फलोअप’मा जान लकडाउनले रोक्यो। लकडाउनकै बेला उनलाई अर्को समस्या देखियो। मनोज दिनरात ढाड दुख्यो भनेर आत्तिन थाले, परिवारले दिनहुँ घरमै मालिस गरिदिए। नजिकको मेडिकल गएर औषधि ल्याएर खुवाए। तर मनोजको ढाड निको भएन। छाती र शरीरका अन्य अंगको पनि हड्डी दुख्न थाल्यो।
कानको कारण होला भनेर परिवारले फेरी मनोजलाई हरियोखर्क अस्पताल लगे। अस्पतालले हड्डीको खराबी भनेर पोखराकै मणिपाल शिक्षण अस्पताल रिफर गरिदियो। मणिपालले जेकजाँच गरेर १ सातापछि फेरि आउनु भनेर औषधि दिएर पठायो। औषधिले मनोजको हड्डी दुख्ने समस्या समाधान गरेन।
झन् झन् दुख्न थालेपछि फेरि परिवारले पोखराकै मोडल अस्पताल लगे। मोडल अस्पतालले फिष्टेल अस्पताल रिफर गरिदियो। फिष्टेल अस्पतालले रोग पत्ता नलगाएपछि मनोजलाई मणिपाल अस्पताल नै लगियो। त्यहाँ कार्यरत चिकित्सकहरुले मनोजको रगतमा क्यान्सर भएको र छिटो भन्दा छिटो काठमाडौं लगेर उपचार गर्न सुझाए।
मनोजको परिवार त्यसपछि नै छाँगाबाट खसेजस्तो भएका हुन्। उनकी आमा ओमकलाको आँखामा अझै आँशु रित्तिएको छैन, खाना रुचेको छैन।
पहिरोले पछाडिबाट खतराको संकेत दिएको टहरामा दिन कटाउँछिन्। छोराको उपचार गर्न चाहिने आर्थिक जोहो गर्न नसकेर पिरोलिन्छिन्।
मणिपाल अस्पतालले तत्काल काठमाडौं लैजान सुझाव दिएपनि परिवारले लैजान सकेन। मनोजको उपचार गर्न चाहिने खर्च उनीहरुसँग थिएन। मनोजका साथीहरुले उनको उपचार गर्न चन्दा उठाउन थाले, मणिपालमा दुई साता बसेपछि मनोजलाई काठमाडौं लगियो।
जनप्रिय बहुमुखी क्याम्पसमा मनोजसँगै अध्यन गरेका राज हमालले चन्दा संकलनका लागि अगुवाई गरे। यसअघि मनोजको कानको अपरेसन गर्दा पनि उनले नै अगुवाई गरेर आर्थिक संकलन गरेका थिए। कलेज पढ्ने साथीहरुलाई आग्रह गरेर रकम जम्मा गर्न थाले। राजका अनुसार अहिलेसम्म उनका साथीहरु, केही शिक्षक र केही अन्यबाट समेत गरेर ५ लाख ५० हजार संकलन भइसकेको छ।
कानको समस्याले गर्दा मनोजलाई पढाईमा समस्या थियो। दिनहुँ कलेज गएपनि शिक्षकले पढाएको उनले सुन्न सक्थेनन्। साथीहरुले लेखेको नोट हेरेर नै उनले आफ्नो अध्ययन अघि बढाएका थिए। ‘सरले भनेका कुरा हामीले नोट गरेपछि मनोजले त्यही हेरेर सार्थ्याे,’ मनोजका साथी रोशन ढकालले भने, ‘अपरेसन गरेपछि अलि सुन्न सक्ने भएको थियो, फेरि क्यान्सर भएछ।’
कलेजका साथीहरुले आफूसँग भएको र आफूले चिनेका अन्य व्यक्तिहरुसँग चन्दा संकलन गरिसकेका छन्। तर अझै मनोजको उपचार गर्न आवश्यक रकम जुटिसकेको छैन। उनको उपचार गर्न कम्तिमा १५ लाख खर्च हुने अस्पतालका चिकित्सकहरुले बताएको मनिषले सुनाए।
ब्लड क्यान्सरको उपचार गर्न कम्तिमा ६ महिना अस्पताल बस्नुपर्ने पनि अस्पतालले भनेको उनले बताए।
मनोजको उपचार गर्न कलेजका विद्यार्थीहरुले सामाजिक सञ्जालबाट आह्वान गरिराखेका छन्। मनोजकी बहिनी मनिषाको नाममा बैंक खाता खोलेर चन्दा संकलन गरेको र इसेवा मार्फत सहयोग गर्न चाहनेका लागि पनि नम्बर सामाजिक सञ्जालमै राखेको राजले बताए।
मनोजकै साथी सुरज गौतमलाई भने कलेजले मनोजको उपचारमा संस्थागत रुपमा सहयोग नगरेकोमा चित्त बुझेको छैन। उनीहरु क्याम्पस प्रशासनमा सहयोग गर्न आग्रह गर्न पुगेका थिए। पिकनिक र भ्रमणमा ८, १० हजार दिन सक्ने क्याम्पसले आफ्नो विद्यार्थीलाई समस्या पर्दा क्याम्पसबाट केही आश नगर सरहरुले नै तलब पाएको छैन, भनेर फर्काइदिएछन्।
मनोजको उपचारमा लागेका राजले विद्यार्थीहरुबाट उठाउन सक्ने जति सहयोग रकम उठाइसकेको बताए। थप रकम उठाउन सरकारी र गैरसरकारी निकाय तथा अन्य व्यक्तिहरुलाई पनि आग्रह गरेको उनले बताए।