एक सातादेखि वीरगन्जमा कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्न सकिएको छैन। अस्पतालहरूमा बेडको अभाव भएपछि एक साता थपिएका संक्रमितहरूलाई अस्पताल भर्ना गर्न नसकिएको हो।
अहिले वीरगन्जमा ५ सय बढी सक्रिय संक्रमित छन्। तर तीमध्ये १ सय २५ जनालाई मात्र अस्पताल भर्ना गरिएको छ। अर्थात झन्डै ४ सय बढी संक्रमित अस्पताल बाहिर छन्।
नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले सेतोपाटीसँग भने, 'खोइ कहाँ राख्ने? सबै अस्पतालको बेडहरू प्याक भइसक्यो। त्यसैले संक्रमितहरू घरमै हुनुहुन्छ।'
बुधबार मात्र वीरगन्जमा १ सय ३३ जनामा संक्रमण देखिएको थियो। यो वीरगन्जमा एकैदिन देखिएको अहिलेसम्मकै धेरै संक्रमित संख्या हो। बिहीबार पनि वीरगन्जमा थप ४३ जनामा संक्रमण देखिएको छ।
तर उनीहरूलाई अस्पताल भर्ना गरिएको छैन। वीरगन्जमा कोरोना संक्रमितहरूको उपचार गर्नलाई दुई वटा अस्पताल छन्। नारायणी अस्थायी कोभिड अस्पताल गण्डक र नारायणी हेल्थ कियर।
अहिले दुबै अस्पतालको बेड भरिएको डा. उपाध्यायले जनाए। पछिल्लो समय वीरगन्जमा कोरोना संक्रमण ह्वात्तै बढेको छ। साउनयता मात्र ७ सय बढी संक्रमित थपिएका छन्। अर्को डरलाग्दो कुरा के हो भने पछिल्लो समय वीरगन्जमा लक्षण देखिएका कोरोना संक्रमितलाई पनि अस्पताल भर्ना गर्न सकिएको छैन।
डा. उपाध्यायका अनुसार अहिले भएका ५ सय जना सक्रिय संक्रमितमध्ये ३० प्रतिशतलाई लक्षण देखिएको छ। अर्थात डेढ सय बढी संक्रमितमा लक्षण छ। ती लक्षण देखिएकामध्ये अहिले पनि सय भन्दा बढीलाई आ-आफ्नै घरमा बस्न भनिएको छ।
डा. उपाध्याय भन्छन्, 'बेड नभएपछि कहाँ राख्ने? त्यसैले घरमै बस्न भनिएको हो। हामीले उहाँहरूलाई दैनिक फोनबाटै सेवा दिइरहेका छौं।' अहिले सामान्य ज्वरो, खोकी देखिएका संक्रमितहरूलाई घरमै बस्न भनिएको हो। यद्यपी श्वासप्रश्वासमा समस्या जस्ता कडा लक्षण देखिए तत्काल आइसियूमा भर्ना गरेर उपचार गरिने डा. उपाध्यायले बताए।
'लक्षण देखिएका संक्रमितहरूलाई जटिल अवस्था भयो भने खबर गर्न भन्छौं। उहाँहरूले समस्या भयो भन्ने वित्तिकै तत्काल ल्याएर आइसियूमा भर्ना गर्छौं' उनले भने, 'आज पनि एकजनालाई आइसियूमा भर्ना गरेका छौं।'
विज्ञहरूका अनुसार लक्षणविहीन अवस्थाका संक्रमित भन्दा लक्षणसहितका संक्रमितले अरुमा सार्ने सम्भावना बढी हुन्छ। अहिले वीगन्जमा धेरै संक्रमितहरूमा लक्षण देखिएको छ। त्यसैले पनि संक्रमित संख्या ह्वात्तै बढाएको छ। साथै संक्रमितहरूमा लक्षण देखिनुले यसले मृत्यु दर पनि बढ्ने विज्ञहरूको तर्क छ।
पर्सामा मात्र कोरोना संक्रमणका कारण १५ जनाको मृत्यु भएको छ। जसमा साउन महिना यता मात्र १४ जनाको मृत्यु भएको हो। वीरगन्जमा पछिल्लो समय कोरोनाको स्थिति हेर्दा मृत्यु दर अझैं बढ्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।
पछिल्लो समय वीरगन्जमा समुदायमा कोरोना फैलिएको बताइएको छ। दैनिक भेटिने संक्रमितहरूमा सेना, स्वास्थ्यकर्मी, विद्यार्थी, उद्योगी, कामदार, कर्मचारी सबैलाई संक्रमण देखिएको छ। बिहीबार थपिएका ४३ जना संक्रमितमा पनि १० जना नेपाली सेना र दुईजना स्वास्थ्यकर्मी छन्।
स्वास्थ्यकर्मीहरू पनि संक्रमित हुन थालेपछि अस्पतालहरूमा जनशक्ति अभाव हुन थालेको छ। डा. उपाध्याय भन्छन्, 'अहिले पनि २५ जना भन्दा बढी स्वास्थ्यकर्मी संक्रमित हुनुहुन्छ। यस्तो अवस्थामा अस्पतालहरूमा जनशक्ति व्यवस्थापन गर्नै सकस परेको छ।'
उनले वीरगन्जमा विकसित भएको कोरोना स्थितिलाई लिएर थप स्वास्थ्यकर्मी आवश्यकता रहेको बताए। उनले अहिले वीरगन्जमा कोरोनाको अवस्थासँग जुध्न क्रिटिकल केयर विशेषज्ञ, नर्सिङ स्टाफ, प्यारामेडिक्स र अन्य स्वास्थ्यकर्मी आवश्यक रहेको बताए।
वीरगन्जमा साउन महिनामा मात्र संक्रमित संख्या एक हजार नाघ्ने चिकित्सकहरूले अनुमान गरेका छन्। यसरी संक्रमित बढिरहँदा वीरगन्जमा तत्काल ५ सय बेडको आइसोलेसन सेन्टर आवश्यक पर्ने उनीहरूको तर्क छ।
कोरोना उपचारमै खटिएका एक चिकित्सक भन्छन्, 'तत्काल ५ सय बेडको आइसोलेसन सेन्टर आवश्यक छ। यथाशिघ्र यसको व्यवस्थापन हुन सकेन भने स्थिति घातक हुन्छ।'
डा. उपाध्यायले पनि पछिल्लो समय संक्रमितहरूलाई शिघ्र आइसोलेट गर्न नसकिएको बताउँछन्। उनले अस्पतालहरूमा बेड भरिएको र अरू आइसोलेसन सेन्टर पनि नहुँदा संक्रमितहरूलाई आइसोलेट गर्न नसकिएको जनाए।
उनले भने, 'आइसोलेसनमा राख्न नसकिए पनि उहाँहरूलाई घरमै राम्रो आइसोलेसनको व्यवस्थापन गर्न सक्नुपर्छ। नत्र स्थिति थप ब्रिगिन सक्छ।'