'आमा ... आमा, मरेँ ... मरेँ।'
बुधबार राति ११ बजे पाटन अस्पतालको आइसोलेसन वार्डमा एक जना कोरोना संक्रमित युवक एक्कासि रुँदै चिच्याउन थाले। वरिपरि रहेका संक्रमितहरू आत्तिए। मध्यरातमा मस्त निद्रामा रहेकाहरू झस्किएर आँखा मिच्दै हेर्न थाले।
मानसिक समस्यासमेत रहेका ती युवक घरि माथि हेर्दै चिच्याउँथे, घरि घोप्टो परेर डाँको छाड्दै रुन्थे। त्यहाँ रहेका अरूलाई एकछिन त के गर्ने कसो गर्ने भयो।
'हामी त सुरूमा आत्तियौं,' त्यही आइसोलेसन वार्डमा रहेका अर्का एक संक्रमित युवकले सेतोपाटीसँग भने, 'त्यसपछि डक्टरलाई बोलाइदिन खोज्यौं, तर कोही आउनु भएन।'
बोलाउँदा नआएपछि सबैले मिलेर होहल्ला गरे। कोही कोही त झ्यालमा गएर पनि कराए।
'हामी सबै जना कराउन थालेपछि ४५ मिनेटमा बल्ल नर्स आउनुभयो,' अर्का संक्रमित युवकले भने, 'तर ४५ मिनेटसम्म उहाँलाई पीडा त भयो नि। हामीले डाक्टर आउनुहुन्न भनेर सोध्यौं, तर उहाँले आलटाल जवाफ दिनुभो।'
नर्स आउँदा पनि ती युवक बेडमा रुँदै, कराउँदै, चिच्याउँदै नै थिए।
'तपाईंलाई के भयो?' नर्सको यो प्रश्न ती अचेत युवकले न बुझे न आफूलाई भएको समस्या बुझाउन सके।
नर्सले एउटा इन्जेक्सन लगाइदिए। अघिसम्म छट्पटाइरहेका युवक छिनभरै मस्त निद्रामा हराए।
भोलिपल्ट बिहान ११ बजेतिर मात्र आइसोलेसन वार्डमा डाक्टर देखा परे। डाक्टरले युवकलाई कस्तो छ भनेर सोधे। युवकले अर्धचेतमै थोरै टाउको हल्लाएर ठिकै छ भन्ने जवाफ दिए। डाक्टर वार्डमा एक चक्कर काटेर त्यहाँबाट विदा भए।
यसबारे अस्पतालका निर्देशक डा. विष्णु शर्मालाई सोध्दा उनले आफूलाई उक्त घटना थाहा नभएको बताए। संक्रमितहरूबाट आएको गुनासोलाई लिएर चिकित्सकहरूसँग बुझ्छु भनेर पनि भने।
'मलाई त्यो घटनाबारे थाहा भएन। एकपटक बुझ्छु। सायद उहाँ डिप्रेसनको बिरामी हुनहुन्छ होला। अहिले नै धेरै कुरा भन्न मिल्दैन,' उनले भने।
२५ वर्षका देखिने ती युवक कोरोनाअघि डिप्रेसनको औषधि खाइरहेका थिए। उनी नियमित पाटन अस्पतालमा जचाउन गइरहन्थे। त्यही क्रममा अस्पतालले उनलाई कोरोना परीक्षण गर्न सुझाएको थियो। परीक्षण गर्दा उनमा संक्रमण पोजेटिभ देखियो।
उनलाई संक्रमण भएको झन्डै तीन साता भएको छ। तर, उनी संक्रमणमुक्त भएका छैनन्।
'उहाँ २० दिन हुनुभएको रहेछ भर्ना हुनुभएको। आज हाम्रोसँगै उहाँको पनि स्वाब परीक्षण गर्न लगेको छ,' अर्का संक्रमितले भने।
उनका अनुसार अस्पतालको लापरबाही यतिमै सीमित हुँदैन। केही समयअघि पनि एक महिला सास फेर्न गाह्रो भयो भनेर फत्र्याकफत्र्याक परिन्। त्यो बेला पनि अरूले डाक्टरलाई बोलाइदिनू भनेर बाहिर रहेका नर्सलाई भने। तर, डाक्टर एक घन्टापछि मात्र आए।
'सरासर आउने हो भने पाँच मिनेटमै आइपुगिन्छ, तर यहाँ डाक्टर आउन घन्टौं लगाइदिनुहुन्छ। त्योबीच कसैलाई केही भयो भने जिम्मा कसले लिने?' एक संक्रमितले रोष पोखे, 'राति कसैलाई केही समस्या पर्छ अनि त्यस्तो बेला डाक्टर हुँदैन। यस्तो अवस्थामा हामी संक्रमितहरूलाई निको हुन्छु भन्ने हिम्मत नै आउँदैन नि।'
उनले दुई दिनमा एकपटक डाक्टर आउने गरेको जनाए। नर्सहरू आइरहने भए पनि उनीहरूले संक्रमितलाई गर्ने व्यवहार सभ्य नभएको उनले बताए।
'नर्सहरू बाहिर बसेका हुन्छन्। डाक्टरलाई बोलाउन झ्यालबाट चिच्याउनुपर्छ। त्यो पनि नसुनेझैं गर्नुहुन्छ। बल्लबल्ल नर्स त आउनुहुन्छ तर डक्टरको मुख देख्न पाइँदैन,' उनले भने।
अस्पतालमा सरसफाइ र खानाको पनि राम्रो व्यवस्थापन नभएको उनको गुनासो छ। एकपटक खानामा झिंगा र प्लास्टिक पनि परेको उनले सुनाए। 'खाना पनि राम्रो हुँदैन। मैले त अहिले घरबाटै मगाउन थालेको छु,' उनले भने।
उनका अनुसार शौचालयको पनि राम्रो व्यवस्था छैन। सरकारले यस्तो बेला सरसफाइमा ध्यान दिनुपर्छ भनेर नियम बनाए पनि लागू नभएको भन्दै उनले आक्रोश पोखे।
उनले अगाडि भने, 'सरकारले घरमा बस्ने संक्रमितका लागि छुट्टै शौचालय हुनुपर्छ भनेको छ। तर यहाँ १५ जनाका लागि जम्मा दुइटा शौचालय छन्। त्यो पनि एकदम फोहोर छ। मलाई त सम्झिँदा पनि जान मन लाग्दैन।'
बेडको तन्ना पनि समयमा फेर्ने नगरेको उनी बताउँछन्। तन्ना फेर्न पनि झगडा गर्नुपर्ने भन्दै उनले १३ दिनमा तन्ना फेरिएको स्मरण गरे।
स्वास्थ्यकर्मीहरू संक्रमण सर्छ भन्नेमा सचेत नरहेको पनि उनले बताए। 'हामीलाई एउटै थर्मोमिटरले ज्वरो जाचिरहनु भएको हुन्छ। यदि एउटा संक्रमित छ तर अर्को निको भएको छ भने त फेरि उसलाई सर्ने सम्भावना हुन्छ,' उनले भने, 'यस्तो सामान्य कुरा पनि ख्याल गर्नुहुँदैन। हामीले भन्न थाल्यो भने उल्टै ठाडो जवाफ दिनुहुन्छ।'
'म त भोलि निको भएर घर जाउँला, तर अरू संक्रमितलाई पनि यस्तै व्यवहार भयो भने उहाँहरूले कुन हिम्मतले रोगलाई जित्ने,' उनले भने, 'अस्पताल आएपछि त झन् छिटो निको हुन्छु भन्ने मनोबल आउनुपर्ने तर यहाँको व्यवहार र व्यवस्थापन हेर्दा झन् हिम्मत गिर्ने रहेछ।'