मर्दी पदमार्गमा कालिमाटीबाट उभो लागेपछि एउटा घना जंगल आउँछ। जंगलको बीचमा केही चौर जस्तो देखिन्छ। जहाँ साना–साना छाप्रा छन्। छाप्रामा केही भैंसी देखिन्छन्। र, त्यही भैंसीगोठमा बस्छन्- कास्कीको माछापुच्छ्रे ८ कालिमाटीका ५६ वर्षीय पूर्णभद्र ढुंगाना।
पूर्णभद्रको गोठमा ५ वटा भैंसी छन्। भैंसी चराउने, घाँस काट्ने, दूध दुहुने, मोही मथ्ने र घ्यु बनाउने उनको दैनिकी हो। गाउँबाट झण्डै ३ घण्टाको उकालो चढेपछि गोठ आउँछ। उनकै गोठ हुँदै मर्दी पदमार्गको फरेस्ट क्याम्प पुगिन्छ।
समाजबाट टाढिएर गोठमा दैनिकी बिताउनु उनका लागि नौलो कुरा होइन। उनका बाबु–बाजेले पनि यसरी नै जंगलमा गोठ बनाएर बसे। यसरी नै भैंसी पाले। तर, उनी यसरी जंगलमा एक्लै ‘भैंसी गोठालो’ बसेको भने धेरै भएको छैन।
पूर्णभद्रको हकमा दुई वर्ष अघिसम्म उनको दिनचर्या अर्कै थियो। त्यसभन्दा अघिको दिनचर्या झनै भिन्नै।
पूर्णभद्र सानो छँदा संस्कृत पढे। बुवाले उनलाई संस्कृत पढ भनेका थिए। उनका बुवा गाउँका कहलिएका पण्डित थिए। गाउँमा मर्दा–पर्दा उनकै बुवाले पण्डित्याइँ गर्थे। संस्कृत पढे पनि उनले पण्डित्याइँ गरेनन्, बरु नेपाल प्रहरीमा भर्ती भए।
२०४४ सालमा भर्ती हुँदा पूर्णभद्र २० वर्षका थिए। सेवामा रहँदा उनले अनुशासनका पुरस्कार पाए। पछि २०६० साल भदौमा हवल्दार हुँदै उनले अवकाश लिए। उनले अवकाश लिने बेलासम्म नेपालमा माओवादी द्वन्द्व उत्कर्षमा थियो। युद्धका बेला दुर्गमतिर पनि सरुवा भए। संयोगले उनी भएका ठाउँमा माओवादी आक्रमण भएनन्, उनीहरू पनि आक्रमणमा उत्रनु परेन।
‘प्रहरीमा भइञ्जेल मैले एउटा गोली पनि चलाइनँ, एक लाठी कसैलाई हानिनँ,’ पूर्णभद्र सम्झन्छन्, ‘भगवानले जोगाए होला, म पनि केही भइनँ, मैले पनि कसैलाई छिन्नभिन्न पारिनँ।’
प्रहरीको सेवा सरकारका नीति नियम मानेर गर्ने सेवा भएको उनले बताए।
प्रहरी सेवाबाट अवकाश लिएर उनी गाउँ फर्किए। त्यसपछि खेती किसानी गर्न थाले। गाउँमा सकेको सामाजिक सेवामा पनि जोडिए।
‘प्रहरी भएर गर्ने सेवा नै हो,’ उनले भने, ‘सामाजिक काम झन् स्वतन्त्र रूपमा गर्न पाइन्छ।’
प्रहरी हुँदा काम नलागेको उनको संस्कृत पढाइ अब काम लाग्न थाल्यो। त्यसो त उनका बुवा पण्डित भएकाले पूजा पाठ लगायतका काम बुवाबाट सिकेका थिए।
अब उनको दैनिकीले अर्को मोड लियो- उनले पण्डित्याइँ गर्न थाले। बुवाको निधनपछि गाउँमा ‘बा’को बिडो थाम्ने’ पण्डित उनै भए।
जागिर, खेतीपाती र पण्डित्याइँबाहेक उनले सामाजिक सेवा सुरूआत भने घलेलस्थित अन्नपूर्ण प्राविको विद्यालय व्यवस्थापन समितिको सदस्यबाट थालनी गरेका हुन्।
सदस्य हुँदै उनी अर्को कार्यकाल अध्यक्ष भए। त्यसपछि गौरीशंकर उमाविलगायत अन्य विद्यालयका पनि व्यवस्थापन समितिमा रहेर काम गरेका हुन्।
गाउँमा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने अभियान चलाउन जिल्ला खानेपानी तथा सरसफाइ समितिको कार्यालयले योजना बनाए। गाउँ स्तरमा सरसफाइ समिति गठन हुने भयो।
पूर्णभद्र समितिका अध्यक्ष चुनिए। घर-घरमा शौचालय बनाउने अभियान पूरा गरेर उनकै अध्यक्षतामा २ वर्षअघि घलेल गाउँलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरियो।
कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने जिल्लास्तरका कार्यक्रममा पूर्णभद्र पुरस्कृत भए, इमान्दार रूपमा काम गरेको भनेर। त्यसपछि पूर्णभद्र गाउँस्तरको अपाङ्ग संरक्षण समितिको संयोजक भए। गाउँमा खानेपानी, कुलो, बाटोलगायत विकास निर्माणका काममा पनि उपभोक्ता समितिका पदाधिकारी रहेर काम गरे।
स्थानीय निर्वाचनपछि नै हो उनको दैनिकी फेरिएको। गाउँको सेवा गर्ने जनप्रतिनिधि आएपछि उनले अर्को काम थाले- भैंसीपालन।
जहाँ बसे पनि दु:खसुख सँगसँगै रहने उनको भनाइ छ।
‘दु;ख त भइहाल्छ नि, जहाँ काम गरे पनि एउटा एउटा काम गर्नैपर्छ,’ उनले भने, जहाँ जे काम गरे पनि खटिएर गर्नुपर्छ।’
गोठमै बसेर भैंसी पालेर नाफा कमाउन सकिने उनी बताउँछन्।
गतवर्ष एउटा भैंसी बेचेर ५५ हजार कमाए। केही समयअघि ३ वटा भैंसी बेचे। अहिले गोठमा रहेका ५ वटामध्ये २ वटा ब्याउने छन्। जसमा एउटा भैंसी ब्याएपछि बेच्ने तयारीमा उनी छन्।
जंगलबीचमा अरु छिमेकीको पनि भैंसी गोठ छ। उनीहरू मिलेर काम गर्छन्। गोठमा बस्दा पनि आनन्द लागेको उनले बताए। तर कहिलेकाहीँ झोंक चल्ने गरेको उनको भनाइ छ।
‘उमेर र तागत हुँदा जोश आउने रहेछ। उमेर ढल्किँदै गएपछि झोंक चल्दोरहेछ,’ उनले भने।
गोठमा बसेर पूर्णभद्रले नेपाली राजनीतिलाई पनि नियालेका रहेछन्। देश विकास हुन नसक्नुको कारण नै गलत राजनीति भएको उनले ठम्याइ छ।
‘नेपालमा राजनीतिक संस्कार भएन। राजनीतिविना देश विकास त हुँदैन नै,’ उनले भने, ‘सबै कुरा गर्ने राजनीतिले हो। त्यही राजनीतिमा लागेकाहरू इमान्दार भइदिएनन्, जनताले अपेक्षा गरेजस्तो विकास भएन।’
नेपाल प्रहरीको जागिरबाट अवकाश लिएपछि पूर्णभद्र नेपाली कांग्रेसको कार्यकर्ता भए।
कांग्रेसको सदस्यता लिए पनि त्यो पदका लागि नभएको उनले बताए।
‘म पद खोज्दिनँ। काम गर्ने मान्छेलाई पद किन चाहियो र?’ उनले प्रश्न गरे।
गत निर्वाचनमा कांग्रेसका नेता कार्यकर्ताले उनलाई वडाध्यक्षमा लड्न भनेका थिए। युवालाई अघि सार्नुपर्छ भनेर आफूले छाडेको र उद्यमी राम गुरुङलाई अघि सारेको उनले सुनाए।
पूर्णभद्रकै समर्थनपछि आफूले वडा अध्यक्षको टिकट पाएको गुरुङ नै बताउँछन्।
‘म बाहिरै बसेर काम गर्छु,’ उनले भने, ‘पद लिएर काम गर्न सकिने भने राम्रो हुँदैन।’
जंगलबीचमा भैंसी पालेर बसेका पूर्णभद्र कहिलेकाहीँ गाउँ झर्छन्। आवश्यक परेको बेला पण्डित्याइँ गर्छन्। जहाँ जे काम परे पनि गर्न तयार हुनुपर्ने उनी बताउँछन्।
‘जिन्दगीमा जे जस्तो पर्छ गर्दै जाने हो। यत्तिकै बस्नभन्दा त काम गर्दा नै खुसी मिल्छ।’